तनहुँ, मंसिर ७
विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलसँग पराजित हुनुभएको थियो ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार सिग्देलसँग भण्डारी तीन हजार दुई सय ७९ मतान्तरले पराजित हुनुभएको थियो । एमालेका सिग्देलले ३२ हजार नौ सय २४ मत प्राप्त गर्दा भण्डारीले २९ हजार छ सय ४५ मत प्राप्त गर्नुभएको थियो । पूर्व वनमन्त्री रहनुभएका भण्डारीले दोस्रो प्रयासमा सोही क्षेत्रको प्रतिनिधिसभा सदस्यमा जित हासिल गर्नुभएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरी विजयी हुनुभएको हो । आज बिहान सम्पन्न मतगणनाअनुसार भण्डारीले प्रतिस्पर्धी नेकपा (एमाले)का किरण गुरुङलाई पाँच हजार चार सय ७४ को मतान्तरले पराजित गर्नुभयो ।
गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गर्नुभएको क्षेत्र नं २ निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो । निर्वाचनमा ६८ हजार एक सय ७३ मत खसेको थियो । विसं २०२५ जेठ १० गते साविक पुर्कोट गाविस हाल भानु नगरपालिका–८ मा जन्मिनुभएका भण्डारी ठूलो दाई छत्रराज भण्डारीको प्रेरणाबाट विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घमा आबद्ध हुनुभएको थियो ।
विसं २०३६ को विद्यार्थी आन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभएका भण्डारीले विसं २०४० मा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि राजधानी जानुभएको थियो । विद्यार्थी राजनीतिमा सक्रियरूपमा सहभागी हुने क्रममा भण्डारी लौहपुरुष गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा सहभागी हुनुभएको थियो ।
पार्टीको काममा सक्रिय रहेको अवस्थामा नै विसं २०४६ मा भण्डारी २९ दिन प्रहरी नियन्त्रणमा रहनुभएको थियो । नेविसङ्घको राजनीतिमा सक्रिय हुने क्रममा विसं २०४८ मा त्रिचन्द्र क्याम्पसमा नेविसङ्घको क्याम्पस एकाइ सभापति र २०४९ मा स्ववियु सभापति बन्न सफल भण्डारी विसं २०५३ देखि भने पार्टी राजनीतिमा सक्रिय हुनुभएको थियो ।
भण्डारी विसं २०५३ मा महाधिवेशन प्रतिनिधि बन्न सफल हुनुभयो । साथै भण्डारीले बालकृष्ण खाणको नेतृत्वमा गठन भएको तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभयो । युवाहरूमाझ लोकप्रिय भण्डारी चितवनमा भएको तरुण दलको महाधिवशेनमा अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा उत्रनु भए पनि झिनो मतले पराजित हुनुभयो । पार्टीको १२औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भण्डारीले दुईपटक तरुण विभागको जिम्मेवारी सम्हाल्नुभयो ।
विसं २०७० को संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित भण्डारीले वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ । पार्टीको १३औँ र १४औँ महाधिवेशनबाट पनि भण्डारी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । भण्डारीले आगामी पाँच वर्षमा यस क्षेत्रको विकासका लागि सबै प्रकारका पूर्वाधार तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
“हामीसँग विशाल फाँटहरू छन्, त्यहाँ बाह्रैमास सिँचाइ सुविधा पु¥याएर कृषिमा कम्तीमा आत्मनिर्भर बन्ने, उपयोगमा नआई खाली रहेका जमिनमा फलफूल, तरकारी, जडीबुटीलगायत कृषि उत्पादन वृद्धि गरी निर्यातसमेत गर्न पहल गरिनेछ”, भण्डारीले भन्नुभयो ।
आवश्यक विकासका पूर्वाधारहरू पहिचान गर्दै समन्वय र सहकार्यबाट विकास गरी यस क्षेत्रलाई नमूना बनाउन पहल गरिने भण्डारीले बताउनुभयो । “यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल स्थापना गर्ने, यस क्षेत्रलाई तराईसँग जोड्ने दु्रतमार्ग निर्माण गर्ने, भिमादबाट पूर्व पश्चिम राजमार्ग जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन, औद्योगिक क्षेत्र स्थापना गर्न मेरो पहल रहनेछ”, उहाँले भन्नुभयो ।
वर्षौँदेखि ओझेलमा परेका यहाँका विकासका मुद्दालाई स्थापित गराउने बताउँदै भण्डारीले आउने नेतृत्वलाई सहज हुने गरी आवश्यक सबै पूर्वाधार यही कार्यकालमा पूरा गर्ने बताउनुभयो ।
राससबाट