अजय रिसाल
गत महिना एक आशालाग्दा पत्रकार/लेखकले असामयिक मृत्यु रोजे, ‘आत्महत्या’ जस्तो कहालीलाग्दो बाटो खोजे । उनलाई कतिपयले कायरको संज्ञा दिए । तर आत्महत्या मनोरोगको गम्भीर चरण हो ।
मनोपरामर्श अनि मनोचिकित्सकीय उपचारबाटै यसलाई निदान अनि नियन्त्रण गर्न सकिन्छ । त्यसैले मानसिक समस्याका लक्षणहरू लुकाउनु हुन्न । मनोरोगको उपचार गर्न लजाउनु हुन्न ।
आत्महत्या गरेर दुःखद मृत्युवरण गरेका व्यक्तिहरूको तस्बिर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छरेर तिनलाई अनेक थरीका गाली गर्ने, तिनका व्यक्तिगत–पारिवारिक–कार्यस्थल–सामाजिक परिस्थितिको चर्चा–विश्लेषण गर्ने प्रवृत्ति छ । त्यस्तै, तिनका परिवार अनि साथीसँगीको हवाला दिएर अनावश्यक एवं अपुष्ट समाचार सम्प्रेषण गरिन्छ, जुन गलत छ ।
यस्ता अध्ययनका निचोडहरूसँग मिल्ने गरेका छन् । त्यसैले मानसिक रोग नै आत्महत्याको प्रमुख कारक रहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।
आत्महत्याको असफल प्रयास गरेर अस्पतालमा ल्याइएका वा मानसिक स्वास्थ्य केन्द्रमा भर्ना भएका बिरामी एवं तिनका नातेदारहरूसँग निरन्तरको अन्तरंग कुराकानी–मनोविमर्श आदिको अनेक चरण पार गरेपछि नै तिनका मानसिक समस्याबारे निर्क्योलमा पुग्न सकिन्छ । तिनको मानसिक स्वास्थ्य वा मनोरोगको अवस्था खुट्टिने गर्छ ।
विभिन्न अध्ययन अनुसार, विश्वभरि करिब दस लाख व्यक्तिले आत्महत्याका कारण ज्यान गुमाउने गर्छन् । आत्महत्याको प्रयास गर्नेहरू आत्महत्याबाट मृत्युवरण गर्नेभन्दा झन्डै बीस गुणा बढी हुन्छन् ।
यस्ता अध्ययनमा नब्बे प्रतिशतभन्दा बढीमा कुनै न कुनै किसिमको मानसिक समस्या देखिएको छ । हामीले अस्पतालस्तरमा गरेका उपचारसेवा अनि अध्ययन–अनुसन्धानको नतिजा पनि यस्ता अध्ययनका निचोडहरूसँग मिल्ने गरेका छन् । त्यसैले मानसिक रोग नै आत्महत्याको प्रमुख कारक रहेको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।
आत्महत्या गरेर मृत्युवरण गरिसकेकाहरूको मानसिक अवस्थाको पूर्वव्यापी मनोसामाजिक परीक्षण गर्ने विधि छ । यसका लागि नजिकका परिवार, साथीसँगी, सहपाठी–सहकर्मी, छिमेकी आदिसँग अन्तर्वार्ता गर्ने; ती व्यक्तिहरूको बसोबास–कार्यस्थल सम्परीक्षण गर्ने तथा तिनका हस्ताक्षर–लेखोट–डायरीहरूको अध्ययन गर्ने गरिन्छ ।
तर यसरी परीक्षण गर्न विभिन्न नीतिगत तथा अनुसन्धान पद्धतिगत बाधा–व्यवधान रहने अन्तर्राष्ट्रिय अध्ययनहरूले नै जनाएका छन् । तथ्यांक संकलन, सम्परीक्षण अनि अनुसन्धान प्रविधिमा विशिष्ट दक्षता राख्ने विकसित मुलुकहरूमा त यस्ता पूर्वव्यापी अध्ययनहरूमा समस्या छन् भने हाम्रोजस्तो स्रोतसाधनविहीन, तथ्यांकगत सचेतनाको अभाव भएको मुलुकमा यस्ता अध्ययन सजिलै भैहाल्ने परिकल्पना गर्न सकिँदैन । अतः त्यस्ता अध्ययन–अनुसन्धानको सीमितताका कारण पनि तिनमा मानसिक रोग थियो या थिएन भनेर ठोकुवा गर्न नसकिने भएको हो कि ?
बिभिन्न अवयवसित अन्योन्याश्रित रूपमा गाँसिएको मानव मनको अवस्थालाई ‘यसको कारण यो’ भनेर एउटै कारकले व्याख्या गर्न सकिँदैन ।
जटिल आर्थिक–पारिवारिक–सामाजिक–सांस्कृतिक कारक, व्यक्तिगत तनाव, गहिरो संकट, प्राकृतिक प्रकोप, आतंक एवं महामारी आदिले गर्दा अनि सीमान्तीकृत समुदायमा आत्महत्याको आँकडामा समेत उल्लेखनीय वृद्धि देखिने तथ्य विश्व स्वास्थ्य संगठनले नै उल्लेख गरेको छ ।
यस्तो अवस्थामा मनोसामाजिक परीक्षण विधिवत् रूपमा गर्न नसकिने भएको हुँदा मानसिक समस्याहरू तथ्यपरक रूपमा उल्लेख नहुने सम्भावनालाई नकार्न सकिँदैन ।
नेपाली समाजमा आत्महत्यालाई एकाकी रूपमा व्याख्या गरेर सामान्यीकरण गर्ने चलन पनि छ । जस्तै- ‘बिचराको व्यवसाय नै डुब्यो त्यसैले’, ‘उसको प्रेमसम्बन्ध तोडिएकाले’, ‘जाँचमा फेल भएकाले’, ‘बाबुले अर्को बिहे गरेकाले’, ‘मन पराएको केटोसँग बिहे नभएर’, ‘बेइज्जत भएकाले’, ‘समाजमा मुखै देखाउन नसक्ने भएपछि के गरोस् त ?’
विभिन्न जैविक, मनोवैज्ञानिक अनि मनोसामाजिक अवयवसित अन्योन्याश्रित रूपमा गाँसिएको मानव मनको अवस्थालाई ‘यसको कारण यो’ भनेर एउटै कारकले व्याख्या गर्न सकिँदैन । त्यसैले त माथि उल्लेख भएजस्तो व्यवसाय डुबेका, प्रेममा धोका खाएका, परीक्षामा असफल भएका, पारिवारिक समस्या भएका अनि इज्जत गएका सबैले आत्महत्या गर्ने गर्दैनन् ।
मनोसामाजिक वस्तुस्थितिको समग्र अध्ययनबिना एउटै विषयलाई आत्महत्याको कारक मान्नु विषम परिस्थितिलाई अति सरलीकरण गरेजस्तो मात्र हुन्छ ।
वास्तवमा, नजिकको रक्तसम्बन्धमा मानसिक समस्या भएका या त आत्महत्या गरेका व्यक्तिहरू आनुवंशिक रूपमै मानसिक रोग अनि आत्महत्याको जोखिममा हुन्छन् । यस्ता व्यक्तिले नै उपर्युक्त उदाहरणमा लेखिएजस्ता तनाव या त सामाजिक दुरवस्थाको सामना गर्नुपर्दा आत्महत्याको प्रयास गर्न सक्छन् ।
त्यसैले प्राकृतिक (जैविक) अनि वातावरणीय (सामाजिक–सांस्कृतिक) प्रभावको जोडघटाउ, आरोह–अवरोह या ऊहापोह आदि बहुपक्षीय कारकले नै मानिसलाई मानसिक रोग लाग्ने–नलाग्ने अनि आत्महत्या गर्ने–नगर्ने अवस्थामा पुर्याएको हुन्छ । मनोसामाजिक वस्तुस्थितिको समग्र अध्ययनबिना एउटै विषयलाई आत्महत्याको कारक मान्नु विषम परिस्थितिलाई अति सरलीकरण गरेजस्तो मात्र हुन्छ ।
व्यक्तिगत–पारिवारिक–आर्थिक–सामाजिक असन्तुलन भएर मात्र कसैले आत्महत्या गर्ने होइन, डिप्रेसन जस्ता मानसिक रोग भएकै कारणले तनावको सामना गर्न नसकेर नै यस्तो जघन्य कृत्यका लागि अग्रसर हुने हो ।
अर्को उदाहरण, ‘डिप्रेसन’ नामक मानसिक रोग आत्महत्याको एउटा महत्त्वपूर्ण कारक हो । फेरि, डिप्रेसन जुनसुकै मानसिक समस्यालाई जनाउने पर्यायवाची शब्दका रूपमा समेत जनमानसमा परिचित छ ।
तर, समाजले डिप्रेसन लाई रोगका रूपमा नभई एउटा प्रक्रियाका रूपमा मात्र लिएको पाइन्छ । ‘उसलाई डिप्रेसन नामक मानसिक रोग लाग्यो’ भनिँदैन, ‘ऊ डिप्रेसनमा गयो’ भनिन्छ । अनि कारकका रूपमा माथि उदाहरणमा भनिएका आर्थिक, सामाजिक, व्यक्तिगत, पारिवारिक अवस्थालाई नै मान्ने गरिन्छ ।
डिप्रेसनमा जाने होइन, डिप्रेसन नामक मानसिक रोग लाग्ने हो । केही व्यक्तिगत–पारिवारिक–आर्थिक–सामाजिक असन्तुलन भएर मात्र कसैले आत्महत्या गर्ने होइन, डिप्रेसन जस्ता मानसिक रोग भएकै कारणले तनावको सामना गर्न नसकेर नै यस्तो जघन्य कृत्यका लागि अग्रसर हुने हो मान्छे । त्यसैले मानसिक समस्याका लक्षणहरू नलुकाऔं । डिप्रेसन जस्तो मनोरोगको उपचार गर्न नलजाऔं । आत्महत्याबाट बचौं–बचाऔं ।
रिसाल मनोचिकित्सक हुन् ।
कान्तिपुरबाट