पूर्वमुख्यमन्त्री राईलाई पराजित गर्दे किराँती विजयी

भोजपुर, मंसिर ८

निर्वाचन अन्तर्गत प्रतिनिधिसभा तर्फ पूर्वमुख्यमन्त्री शेरधन राईलाई हराउँदै गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुदन किराँती दुई हजार तीन सय ८५ मतान्तरले भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा बिजयी हुनु भएको छ ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहनु भएका किराँतीले २८ हजार पाँच सय ७८ मत प्राप्त गर्नु भएको छ भने प्रतिस्पर्धी एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गर्नु भएको थियो ।

कुल एक लाख २३ हजार तीन सय ७९ मतदाता हुँदा ६१ हजार आठ सय ३० मत खसेको थियो । जसमा ५८ हजार छ सय ६२ मत सदर र तीन हजार एक सय ६८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यलले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

भोजपुरमा प्रतिनिधिसभा तर्फ १२, प्रदेशसभा (क) मा ७ र (ख) मा ६ जना गरी २५ उम्मेदवारले निर्वाचनमा भाग लिनु भएको थियो । भोजपुरका दुई वटा प्रदेशसभा तर्फ पनि गठबन्धन दलका उम्मेदवार विजयी हुनु भएको छ । प्रदेशसभा (क) तर्फ एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई विजयी हुनु भएको थियो ।

राईले १६ हजार एक सय १० मत प्राप्त गर्नु भएको थियो भने प्रतिस्पर्धामा रहेका एमालेका हरि बहादुर राईले १२ हजार दुई सय २३ मत ल्याउनु भएको थियो । दुवैको मत अन्तर तीन हजार आठ सय ८७ थियो ।

यस्तै प्रदेशसभा (ख) तर्फ नेपाली कांग्रेसका जिल्ला सभापति बिनोद बान्तवा १३ हजार पाँच सय ७९ मत ल्याउँदै विजयी बन्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका प्रदेश कमिटी सदस्य खड्गबहादुर कार्कीले १२ हजार आठ सय ३८ मत मात्र प्राप्त गर्नु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुई उम्मेदवार बीचको मतान्तर सात सय ५१ छ ।

प्रदेशसभा तथा प्रतिनिधिसभा दुवैको मतगणना सकिएकाले अव समानुपातिक तर्फको मतगणना कार्य  शुक्रवारबाट थालिने छ ।

रेडियाे नेपालबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?