चुनाव बहिष्कार गरेको एउटा बस्ती

अनिता भेटवाल

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११, डुम्रे गाउँका बासिन्दाले यस पटक चुनाव बहिष्कार गरेका छन्।

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुनुभन्दा आठ दिनअघि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११, डुम्रे गाउँकी ६१ वर्षीया मसली माझी नगरपालिका कार्यालयमा भेटिइन्।

पाँच दशकदेखि बस्दै आएको डुम्रेमा घरजग्गाको लालपुर्जा नभएपछि उनी नगरपालिका कार्यालय पुगेकी थिइन्। उनको माग थियो, “आफ्नो जग्गाको लालपुर्जा देऊ, नत्र मंसीर ४ को चुनावमा मत हाल्दिनँ।”

उनका छिमेकी ६८ वर्षीय खड्काबहादुर पहरीको पनि उस्तै आक्रोश थियो। लालपुर्जा नपाए आम निर्वाचनमा मतदान नगर्ने उनको भनाइ थियो। “लालपुर्जा नहुँदा सरकारी सुविधा पाएनौं। जति पटक मत हालेर जिताए पनि नेताले समस्या बुझेनन्। अब मत नहाल्ने,” भनेका थिए।

मसली र खड्का जस्तै डुम्रेका ६० परिवारले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिंदै नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले आफ्नो माग सम्बोधन गर्न अनुरोध गरेका थिए। तर, निर्वाचनको दिनसम्म माग सम्बोधन भएन।

अनि, उनीहरूले निर्वाचन बहिष्कार गरे। “मतदानको अधिकार सदुपयोग गर्ने मन हुँदाहुँदै झण्डै डेढ सय जनाले भोट हालेनन्,” चौतारा साँगाचोकगढी-११ का वडाध्यक्ष रोशन गिरीले भने, “उनीहरूले आफ्नो लालपुर्जा र बेरोजगारीको समस्या हल गरिदिन भनेका थिए। तर, कोही उम्मेदवारले पनि उनीहरूलाई विश्वस्त बनाउन सकेनन्।”

ज्ञापनपत्र बुझाउन नगरपालिका कार्यालय पुगेका डुम्रेबासी।

यो गाउँ सुनकोशी र इन्द्रावती नदीको बीचमा छ। केहीको मतदाता नामावली सिन्धुपाल्चोकमा त केहीको काभ्रेपलाञ्चोकमा छ। तीन दशकअघि यो गाउँलाई जथाभावी विभाजन गरिएको स्थानीय बताउँछन्। केहीलाई सिन्धुपाल्चोकमा र केहीलाई काभ्रेमा राखिएको छ।

२०७४ सालको निर्वाचनमा एकैघरका दाजुभाइमध्ये एउटा काभ्रेमा र अर्कोले सिन्धुपाल्चोकमा मतदान गरेको गिरीले बताए। त्यति वेला केहीले काभ्रेको भुम्लु गाउँपालिका-८ दोलालघाट र केहीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-११ मा मतदान गरेका थिए।

त्यति वेला दुवै क्षेत्रका उम्मेदवारले आफूलाई भोट हाले लालपुर्जा पाउने व्यवस्था गर्ने आश्वासन दिएका थिए। तर, जग्गाको समस्या भने अझै उस्तै छ। “जग्गाको समस्या कतैबाट हल नभएपछि मतदान बहिष्कार भयो,” वडाध्यक्ष गिरीले भने।

उनीहरू मतदानका दिन स्थानीय जनविकास माविस्थित मतदानस्थल पुगेका थिए। विरोध जनाएर मतदान नगरेको कुमार माझीले बताए। “हामीले रहरले होइन, बाध्यताले मतदान गरेनौं,” माझीले भने, “वर्षौंदेखि नेता चुन्यौं, तर उनीहरूले हामीलाई नचिने झैं गरे।”

मतदान गर्ने इच्छा हुँदाहुँदै पनि विरोधस्वरूप त्यसै फर्किएको उनको भनाइ छ। “भोटभन्दा ठूलो भोक हुँदोे रहेछ। हामी माझीहरूको बालुवाको काम गर्ने पेशा पनि खोसिएको छ। जग्गा धितो राखेर केही काम गर्न धनीपुर्जा पनि छैन,” कुमारले गुनासो गरे।

सुनकोशी नदीको किनारमा रहेको गाउँको अलिकति जमीन पनि अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगले उत्खनन गरेर बगर बनाएका छन्। यसले ढुङ्गा, गिटी बटुल्ने उनीहरूको काम खोसिएको छ। त्यसले थप समस्यामा परेको उनीहरू बताउँछन्।

उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा प्रदान गर्न पहल भइरहेको वडाध्यक्ष गिरीको भनाइ छ। तर, दुई जिल्लाको सिमाना रहेको यो गाउँको विवाद समाधान नहुँदा कठिनाइ भएको उनले बताए। “राज्यका निकायबाट पहल नभएपछि माझीहरूको अधिकारका लागि सर्वोच्च अदालतमा मुद्दा हालेका छौं। अब अदालतबाटै छिनोफानो होला,” उनले भने।

उनीहरू बस्दै आएको बस्ती आआफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिकाले दाबी गरिरहेका छन्। दुवै स्थानीय तहमा पहल गर्दा पनि विवाद समाधान भएको छैन।

माझीहरूको समस्या आगामी दिनमा सुल्झाउने यसअघि सिन्धुपाल्चोक-२ बाट निर्वाचित शेरबहादुर तामाङले आश्वासन दिएका थिए। उनी यस पटक पनि नेकपा (एमाले)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्।

उनी लगायत कुनै पनि उम्मेदवारले वर्षौंदेखि दिंदै आएको आश्वासन पूरा नभएपछि चुनाव बहिष्कार गरेको कुमार बताउँछन्। उनी भन्छन्, “सबैले हाम्रो मतको वास्ता गरेनन्। त्यसैले यस पटक हामीले मतदान गरेनौं।”

चौतारा साँगाचोकगढी नगरपालिका–११, जन विकास मावि मतदान केन्द्रमा पुगेर पनि मत नहाली फर्किएका डुम्रेबासी। तस्वीरहरू: रोशन गिरी

हिमाल खबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?