नयाँ दल, नयाँ खुल्दुली

राजविराज, चितवन, टीकापुर । मंसिर ९

साढे ३ वर्षअघि स्थापित जनमत पार्टीले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा मधेस प्रदेशमा नयाँ शक्तिका रूपमा जबरजस्ती उपस्थिति जनाएको छ। पहिलो पटक संसदीय प्रतिस्पर्धामा होमिएको जनमतका अध्यक्ष सीके राउतले सप्तरी २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवलाई निकै फराकिलो मतान्तरले पराजित गरे। प्रतिनिधिसभा सदस्यका लागि शक्तिशाली नेता मानिने यादवलाई हराएर  निर्वाचित भएपछि उनको चर्चा झनै चुलिएको छ।

मूलधारको राजनीतिमा आएका राउतको उदयले पुराना मधेस केन्द्रित दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। मतगणना जारी रहँदा सप्तरीको एक प्रतिनिधिसभासहित चारवटा प्रदेशसभामा जित निकालेको जनमत पार्टीले सिरहा र रूपन्देहीमा समेत प्रदेशसभा सदस्यमा जितेको छ। प्रत्यक्षतर्फ धेरै सिट नजिते पनि समानुपातिकतर्फ राउतले प्रदेश र केन्द्रमा सन्तोषजनक मत ल्याउने सम्भावना उच्च छ।

देशभरि ५४ प्रतिनिधिसभा र ९० प्रदेशसभामा एक्लै उम्मेदवारी दिएको जनमतले मधेस प्रदेशमा मात्र ३२ मध्ये २७ प्रतिनिधिसभा र ६४ मध्ये ५८ प्रदेशसभामा उम्मेदवारी दिएको छ। मधेस प्रदेशमा प्रत्यक्षतर्फ दिएको प्रतिस्पर्धात्मक मतका हिसाबले समानुपातिकतर्फ अन्य मधेस दलभन्दा बढी मत आउने सम्भावना पनि छ। मधेसको अधिकार स्थापना गर्ने उद्देश्यले स्थापित पार्टीको मुख्य आधार इलाका पनि मधेस प्रदेश नै हो।

गत स्थानीय तहको निर्वाचनमा राउतको गृह जिल्ला सप्तरीको २ वटा स्थानीय तहमा उक्त पार्टी विजयी भएको थियो। निर्वाचनबाट पार्टी शक्तिशाली बन्दै गर्दा पार्टीमा आकर्षण थपिने उनको अनुमान छ। राउतले यादवलाई पराजित गर्दा जसपा र लोसपा मधेसमा सोचेभन्दा कमजोर देखिएका छन्। ती पार्टीहरूका शीर्ष नेताहरू मतगणनामा पछि परेका छन्।

यस्तोमा राउतलाई मधेस केन्द्रित दलहरू र नेताहरू चुनौती बन्ने निश्चित छ। यादवलाई पराजित गरेपछि राउतको आगामी राजनीतिक यात्रा र उनको संगठनका बारेमा चासो सुरु भएको छ।  देशभर अनपेक्षित परिणामले स्थापित पुराना दलहरूलाई झस्क्याएको छ। भर्खरै गठन भएको पार्टीमा मतदाताको आकर्षण अत्याधिक थियो।

मधेसका अन्य पार्टीहरूप्रति रहेको वितृष्णाका कारण जनमत पार्टीलाई मधेसको वैकल्पिक राजनीतिक शक्तिका रूपमा हेर्न थालिएको छ। संख्यात्मक रूपमा राउतको उपस्थितिभन्दा पनि उनले प्रतिबद्धता कसरी पूरा गर्छन् भनेर समीक्षा हुन थालेको छ। हरेक मञ्चमा उनले देशमा रोजगारी सिर्जना गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता गर्दै आएका छन्।

विजय जुलुससहित जिल्ला दौडाहामा रहेका राउतले सुशासन, सेवाप्रवाह, स्वायत्तता र प्रत्यक्ष लोकतन्त्रको मुद्दामा अडिग रहेको प्रतिबद्धता दोहोर्‍याए। शिक्षा, स्वास्थ्य, रोजगारी र किसानका समस्यालाई उनले प्राथमिकता दिने वाचा गरे। सबै थोक भएर पनि पछाडि परेको मधेसका जनतामा समृद्धिको ठूलो अपेक्षा छ।

राउत पनि काम गर्नकै लागि पार्टी स्थापना गरेर निर्वाचनको माध्यमबाट आएको बताउँछन्। जनतामा पहिलो पटक निर्वाचन लडिरहेकाले एक मौका त दिनुपर्छ भन्ने भावनाले राउतलाई भोट बटुल्न र जित्न सहज भएको राजविराजका हितनारायण लाल दास बताउँछन्।

सप्तरी २ मा पर्ने महादेवा गाउँपालिका–२ राउतको जन्मथलो हो। उनले बाल्यकालमा गाउँकै विद्यालयबाट पढे। अमेरिकाबाट फर्केपछि उनको बसोवास राजविराजमा छ। त्यसैले उनले यस क्षेत्रको समस्या निदानका लागि आफूलाई योग्य सम्झी जसपाका अध्यक्ष प्रभावशाली नेता यादवसँग टक्कर लिने आँट गरे।

चाँडै चर्चामा स्वतन्त्र पार्टी

तीन महिनाअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर अनपेक्षित परिणाम ल्यायो। टेलिभिजन प्रस्तोताका रूपमा चर्चा कमाएका रवि लामिछानेले तीन महिना अघि नयाँ दल दर्ता गर्दा यो स्थानमा पुग्छ भन्नेमा कांग्रेस र एमालेका कार्यकर्ताले अनुमान नै गरेका थिएनन्।

देशभर अनपेक्षित परिणामले स्थापित पुराना दलहरूलाई झस्क्याएको छ। भर्खरै गठन भएको पार्टीमा मतदाताको आकर्षण अत्याधिक थियो। कांग्रेस र एमालेमा वर्षौंदेखि मतदान गर्दै आएकाहरूले यसपटक मत फेरे। पुराना दलप्रतिको वितृष्णा उनीहरूले मतबाट जाहेर गरे।

पुरानो प्रवृत्तिका विरुद्ध नयाँ पात्र रोजे। चितवनको दुइटा निर्वाचन क्षेत्रमा उक्त पार्टीले सानदार जित हासिल गर्‍यो। पुराना र ठूला भनिएका दलका उम्मेदवारलाई भारी मतान्तरबाट पराजित गरे।

चितवन दुईबाट निर्वाचित पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले कायम गरेको मतान्तर देशको सबैभन्दा फराकिलो बन्यो। पराजित सबै उम्मेदवारका मत जोड्दा पनि उनले प्राप्त गरेको मतभन्दा कम थियो। उनले ३४ हजार २ सय ८१ को मतान्तरमा जितेका हुन्। लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याए।

उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याएका थिए। लामिछानेले राज्यमन्त्री रहेका कांग्रेसका उमेश श्रेष्ठ र यसअघि लगातार दुई पटक जितेका एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरे।

क्षेत्र नम्बर १ मा स्वतन्त्र पार्टीकै हरि ढकालले हेभी वेट मानिएका एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे र अर्थविद् डा. विश्वनाथ पौडेललाई पराजित गरे। ढकाल ६ हजार ५ सय ८१ मतान्तरबाट विजयी भएका हुन्। पाण्डे पूर्वअर्थमन्त्री हुन् भने डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। आश्वासनबाट आजित बनेकाहरूले मतबाट जवाफ दिएको विश्लेषक राजकुमार श्रेष्ठ बताउँछन्।

‘ठूला दलहरूले लामो समय सत्ता समाल्दा जनताको सम्बोधन गर्न नसकेको अवस्थामा नयाँ पार्टीले केही गर्न सक्छ कि भनेर मत जाहेर गरेको कुरा सामान्य हो’, श्रेष्ठले भने, ‘यसले ठूला दलहरूलाई जनताको समस्याप्रति काम गर्नुपर्छ भन्नेमा सचेत गराएका हुन्।’ सहरी क्षेत्रका मतदाता बढी राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित थिए। देशभर अनपेक्षित मत मरिणाम ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो एजेन्डालाई जनताको वितृष्णाको कारणसँग जोडेको छ।

…अनि उदायो उन्मुक्ति पार्टी

तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा थरुहट थारुवान राज्य परिकल्पना गरिएको थियो। जनयुद्धमा झन्डै ५ हजार बढी थारुले ज्यान गुमाए। २०६४ मा पहिलो दल बनेको माओवादीले संविधान जारी हुँदासम्म जातीय र वर्गीय मुद्दालाई बेवास्ता गर्‍यो।

२०७२ सालमा संविधान जारी हुन पूर्वआफ्नो पहिचान जोडिएको राज्य माग गर्दै आन्दोलनहरू भए। अखण्ड सुदूरपश्चिम, अखण्ड मध्यपश्चिमलगायत आन्दोलन सुरु भएपछि तराईलाई थरुहट थारुवान राज्य हुनुपर्ने माग गर्दै थारु समुदाय आन्दोलनमा उत्रियो।

झन्डै महिना दिनसम्म चलेको आन्दोलनकै क्रममा २०७२ भदौ ७ गते टीकापुर घटना भयो। आन्दोलनकारीको आक्रमणमा परी ८ सुरक्षाकर्मीसहित एक नाबालकले ज्यान गुमाए।

भदौ ८ गते अखण्ड सुदूरपश्चिम पक्षधरहरूले थारु समुदायका घर, पसलमा आगजनी गरे। रेशमलाल चौधरीको फूलबारी रिसोर्ट, फूलबारी एफएम लगायतमा आगजनी भयो। टीकापुर घटनामा संलग्न रहेको आरोपमा थुप्रै थारु अगुवाहरू पक्राउ परे। घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरी भूमिगत भए। २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्यमा भूमिगत अवस्थामै ३४ हजार ४३१ मत ल्याएर राष्ट्रिय जनता पार्टीबाट विजयी भए।

उक्त पार्टीले समेत टीकापुर घटनाका बन्दीहरूको मुद्दा सम्बोधनका लागि पहल नगरेपछि रेशमलाल चौधरीको संरक्षकत्वमा २०७८ पुसमा रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन भयो।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा कैलाली १ का चार पालिकामा पार्टीले जीत हात पार्‍यो। नागरिक उन्मुक्तिले टीकापुर र भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा जित निकाल्यो। गठबन्धन बनाएर चुनावमा होमिएका कांग्रेस, नेकपा माओवादी, समाजवादीका उम्मेदवारहरूले नागरिकलाई उछिन्न सकेनन्।

त्यही नतिजाले हौसिएका थारु अगुवा जातीय पहिचानको मुद्दालाई अघि बढाउँदै संगठनमा लागे। जनसंख्याका हिसाबले थारु बाहुल रहेको क्षेत्रमा उन्मुक्तिले मुद्दालाई स्थापित गरेको छ। पार्टी अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले विजयी र्‍यामीमा संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘टीकापुर घटनाको उचित छानबिन र पहिचानको मुद्दा नै हाम्रो प्राथमिकता हो।’

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रेशम विश्वकर्माले जातीय पहिचान, उत्पीडित वर्गको उत्थान र उन्मुक्तिको मुद्दालाई यस क्षेत्रका मतदाताले अनुमोदन गरेको बताए। ‘यस क्षेत्रमा रहेका बहुजातीय पहिचान, विभिन्न उत्पीडित वर्गको उत्थान र उनीहरूको उन्मुक्ति नै हाम्रो मुद्दा हो’, विश्वकर्माले भने, ‘यसलाई पश्चिम तराईका मतदाताले अनुमोदन गरेका छन्।’

२०७२ सालको टीकापुर घटनामा संलग्न रहेको आरोपमा रेशमलाल चौधरीसहित दर्जन बढी थारु अधिकारकर्मीविरुद्ध ज्यान मुद्दा चलाइएको छ। उक्त मुद्दा राजनीतिक मुद्दाका रूपमा लिँदै बन्दी थारु अधिकारकर्मीलाई रिहाई गर्नुपर्ने माग उन्मुक्ति उठाउँदै आएको छ।

अन्नपूर्ण पोस्टका लागि मनोहर पोखरेल/राजविराज, अनिल ढकाल /चितवन, परमानन्द पाण्डे/टीकापुर

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?