कमल थापा र डिना उपाध्यायलाई हराउने दीपक सिंह को हुन्?

सरिता दाहाल 

मकवानपुर, मंसिर १०

मकवानपुर-१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी सूर्य चुनाव चिह्न लिएर लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य बनेका हुन्।

राप्रपाका केन्द्रीय सदस्य सिंहले २७ हजार ८१६ मत पाए। कांग्रेस उम्मदेवार उपाध्यायले २५ हजार ४३४ र राप्रपा नेपालका अध्यक्ष थापाले २५ हजार ४२० मत प्राप्त गरे।

दुवै गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका दीपकबहादुर सिंहलाई जित हासिल गर्न २५ वर्ष कुर्नुपर्‍यो।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निकै चर्चामा रहेका सिंह हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका थिए। उनी थोरै मतले पराजित भएका थिए। मेयरमा हारेपछि उनी गाउँतिर लागे। प्रतिनिधि सभा सदस्यको तयारीका लागि घर घर पुग्न थाले। त्यसैको परिणामस्वरूप उनले जित हासिल गरेका छन्।

यो जितसँगै लामाे समय मकवानपुरमा छायाँमा परेको राप्रपालाई सिंहले ब्युताएका छन्।

२०१५ सालमा धनकुटामा जन्मिएका सिंह आठ वर्षको हुँदा आमाबुबा नन्दादेवी सिंह र मोहनबहादुर सिंहसँगै हेटौंडा आएका थिए। त्यसयता सिंह परिवारको स्थायी बसोबास हेटौंडा नै बन्यो।

स्थानीय भुटनदेवी माविबाट स्कूले शिक्षा हासिल गरेका उनले वीरगञ्जको ठाकुरराम क्याम्पसबाट स्नातक गरेका थिए। सरकारी जागीरे बुबाको सरुवासँगै उनी पनि यताउता गरिरहन्थे। जसले गर्दा उनी फरक फरक समाजसँग घुलमिल हुन पाए।

२४ वर्षको उमेरमा नेपाल राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्षबाट शुरू भएको उनको राजनीतिक यात्रा अनवरत चलिरहेको छ। यस क्रममा विभिन्न संघसंस्थामा आबद्ध उनी शुरूदेखि नै राप्रपामा आबद्ध छन्। उनी हेटौंडाका सफल उद्योगी व्यवसायी समेत हुन्।

बहुदलीय व्यवस्था पुनःस्थापनापछि मकवानपुरमा कम्युनिष्टको प्रभाव बढ्दै गयो भने राप्रपा खुम्चिँदै गयो। २०५१ सालको निर्वाचनमा राप्रपाबाट कमल थापा निर्वाचित भएका थिए।

त्यसपछिका निर्वाचन न राप्रपाका लागि सुखद रहे, न त सिंहका लागि। उनी पनि २०५६ र २०६४ सालको निर्वाचनमा उम्मेदवार बनेका थिए, तर पराजय भोगे।

संसदीय निर्वाचनमा पराजय भोगेपछि उनी स्थानीय निर्वाचनमा पनि उम्मेदवार बने। उनले दुई पटक हेटौंडाको मेयरमा प्रतिस्पर्धा गरेका थिए।

उनी पहिलो पटक २०५४ सालमा मेयरका उम्मेदवार बनेका थिए। त्यतिवेला नेकपा (एमाले)का उम्मेदवार डोरमणि पौडेलसँग पराजित भए। पौडेल २०७४ मा बागमतीको मुख्यमन्त्री बने।

पटक पटक हार बेहोरे पनि उनी राजनीतिबाट टाढा भएनन्, निराश भएनन्। गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा २५ वर्षपछि फेरि हेटौंडाको मेयरमा उम्मेदवार बने।

यो पटक भने उनले केही फरक अनुभव गरे। सधैं ६ हजारको हाराहारीमा मत पाउने उनले स्थानीय चुनावमा २० हजार कटाए। त्यसबाट उत्साहित बनेका उनी झन् मिहिनेत गरेर जनतासँग जोडिए। फलस्वरूप उनले कम्युनिष्टको गढ मानिएको मकवानपुरमा जित हासिल गरेका छन्।

हिमाल खबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?