स्केच कान्तिपुरबाट
कमलादेवी गौतम । साझाकथा
मत परिणाम हेरेपछि धेरैले देशको मुहार फेर्ने खालका नेता चयन गरेको दाबी गरेका छन् । विकासप्रेमी, सक्षम र इमान्दार नेता रोजाइमा परेको दाबी गर्नेहरू पनि छन् ।
मंसिर ४ को निर्वाचनले अलि फरक मत परिणाम दियो । त्यो हो, नयाँ पात्र र प्रवृत्ति । केही नयाँ दल पनि हैसियतका साथ संसद छिर्ने भएका छन् । पुराना दल र शीर्षनेतालाई पनि मतदाताले अभिभावकत्वका लागि जिताएका छन् ।
भरतपुरका भगिरथ घिमिरे भन्छन्, ‘यसअघि केही गर्दैनन् भनेर जान्दा जन्दै भोट होलेर पठाइयो, तर अहिले नयाँ दल र नयाँ व्यक्ति उम्मेदवार पाइयो र मतदान गरियो ।’ उनी थप्छन्, ‘नयाँ कुरा र नयाँ उम्मेदवार भएकाले देशभर यस्तो मत परिणाम देखियो ।’
अर्का युवा राजु आचार्यको बुझाइमा देशभर साविकका दलहरूप्रति वितृष्णा, र अविश्वासका कारण जनमत नयाँमा बढेको हो । लामो समय सत्ताको स्वादमा नेता र दल लुटपुटिएपछि जनताको असन्तुष्टि बढेको पाइएको हो ।
‘मुलुकमा जुन उद्देश्यले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइयो, त्यस अनुरूपको नीति र कार्यक्रम भएन । त्यस अनुरूप सुशासन र सेवा प्रबाह हुन सकेन । त्यसको आक्रोस मतदाताले मत पेटिकामार्फत प्रकट गरेका हुन्’, उनी थप्छन् ।
झन्डै दुईतिहाई परिणाम हेर्दा दलका ख्यातिप्राप्त नेताहरू नै पराजित हुनुले युवा रोजाइमा परेको देखिन्छ । पुस्तान्तरण र रूपान्तरणका नाराले पनि सफलता पाएको गुल्मीका नारायण भुषालको बुझाइ छ । मतदाताले अब बुढापाकाले विश्राम लिनु भनेका हुन् भन्ने मत परिणामले देखाएको छ ।
लोकतन्त्रको मर्मअनुसार समानुपातिक, समावेशीकरणमा ध्यान नदिएको दलित र महिला कम उम्मेदवार बनाएका कारण पनि मतदाताले नयाँ रोजेको कालिकोटका खेम परियारको बुझाइ छ । उनी भन्छन्, ‘कुरो होइन, काम गर्नेलाई भोट दियौं तर परिणामअनुसार काम गर्छन् गर्दैनन् हेर्न बाँकी नै छ ।’
राजनीतिक खिचातानीले अस्थिरता कायम रहनाले मुलुक नै कमजोर भएकाले परिवर्तन नयाँबाटै चाहेको कैलालीकी सरला भण्डारीको बुझाइ छ । उनी भन्छिन्, ‘बिभिन्न शक्ति केन्द्रको इसारामा पार्टी फुटाउने र सरकार गिराउने खेलले दिक्दार मतदाताले नयाँलाई रोजेका हुन् ।’
शिक्षा र स्वास्थ्य क्षेत्रसँगै मुलुकका विविध समस्या हल गर्न सक्ने सरकारको खाँचो रहेको बसुन्धाराकी रजली पन्थीको बुझाइ छ । उनका अनुसार, सहरमा प्रदूषणको ठूलो समस्या छ । सबैभन्दा डरलाग्दो समस्या त युवा बेरोजगारीको हो । ‘अब उद्योग कलकारखानाहरू खुल्नुपर्यो’, उनी थप्छिन्, ‘देशको आम्दानीभन्दा खर्च बढी भएकाले समस्या परेको हो । उद्योग कलकारखाना खोलेर युवा रोजगारी देशमै सिर्जना गर्नुपर्छ । विदेश जान रोक्नुपर्छ ।’
व्यक्तिगत कुरामा अलमलिएर पुराना नेताले मुुलुकको हितमा काम नगरेको ललितपुरका सुगम घिमिरेको बुझाइ छ । ‘त्यसैले नयाँ दलबाट युवा पुस्ताका उम्मेदवारको खोजेर जिताएको हो’, उनी भन्छन्, ‘विकास बजेट दुरुपयोग गर्ने, जनताको सेवामा नलाग्ने र भेदभाव गर्नेहरू मतदाताको बहिस्करणमा परे ।’
जनमतप्राप्त दल र विजेताले राष्ट्रिय हितमा काम गर्नुका साथै स्थानीय गरिब, दलित, भूमिहीन सुकुमवासीका समस्यामा ध्यान दिन सकेमात्र असली रूपमा जनताको मतको कदर गरेको ठहरिने कालिका गाउँपालिका-३ का ६५ वर्षीय मुरलीबहादुर दमाईं बताउँछन् । ‘परिवर्तन गर्छौं, दुःखी, गरिब, साना किसानलाई हेर्छौं त भने तर हेरेनन्’, विगतको निर्वाचन सम्झँदै उनी सुनाउँछन् ।
चुनावको समयमा मतदाताले नेताहरूप्रति विभिन्न खालका गुनासा राख्नु स्वाभाविक हो तर सीमित श्रोत, साधनका कारण अहिलेको समयमा जनताको आवश्यकतालाई एकैपटक पूर्ति गर्न कठिन हुनसक्छ । समस्याहरूलाई प्राथमिकीकरण गरेर समाधान गर्ने मनसाय राखेर अघि बढ्न नसके जनमतप्रतिको सम्मान हुन सक्दैन ।