काठमाडाैं, मंसिर १०
प्रतिनिधिसभा र प्रदेश सभाको चुनावपछि सेयर बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता निराश बनेका छन् । चुनावपछि तीन दिन खुलेको बजार तीन दशमलव २९ अंक (अर्थात् शून्य दशमलव १७ प्रतिशत)ले घटेर अन्तिम दिन एक हजार नौ सय ३३ दशमलव ५५ बिन्दुमा बन्द भएको छ ।
चुनावपछि देखिएको नतिजाप्रति लगानीकर्ता निराश बनेको देखिएको छ । अघिल्लो साता नेप्से परिसूचक दुई दशमलव २८ प्रतिशतले वृद्धि भई एक हजार नौ सय ३६ दशमलव ८३ बिन्दुमा बन्द भएको थियो । लगानीकर्ताले चुनावपछि सेयर बजारमा उल्लेख्य सुधार आउने अपेक्षा राखेका थिए । तर, अपेक्षा गरेको भन्दा बजारले विपरीत संकेत गरेको छ ।
यस सातामा नेप्से परिसूचक एक हजार नौ सय ६० दशमलव ८५ प्रतिशतको उच्चतम बिन्दु परीक्षणपश्चात् एक हजार नौ सय १३ दशमलव २८ को न्यूनतम बिन्दुसम्म आइपुगेको छ । तीन दिनको कारोबारमै नेप्सेमा ४७ दशमलव ५७ अंकको उत्तारचढाब देखिएको छ । अघिल्लो हप्ता नेप्से सूचकमा ६० दशमलव शून्य तीन अंकको उत्तारचढाव देखिएको थियो ।
कारोबार रकम निराशाजनक
तीन दिन भएको सेयर कारोबार रकम निराशाजनक रहेकोे छ । चुनावपछि दुई दिन लगातार बजार घटेको थियो भने साताको अन्तिम कारोबार दिन बिहीबार दोहोर अंकले बढेको थियो । तर, बिहीबार ११ दशमलव ५६ अंकले बढेको बजारमा ९२ करोड ५१ लाख ७४ रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।
अघिल्लो हप्ताको तुलनामा कारोबार रकम ३८ प्रतिशतले घटेको छ । अघिल्लो हप्ता पाँच दिन भएको कारोबारमा पाँच अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेकाले कारोबार रकम बढ्न नसकेको विश्लेषकको दाबी छ ।
अर्कोतर्फ लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पर्खाइमा रहेका देखिन्छन् ।
अघिल्लो चुनावपछि पनि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारलाई नियन्त्रण गर्नका लागि कसिलो नीति ल्याउने बताएपछि बजार एक हजार दुई सय ७० दशमलव ५२ बिन्दुमा आइपुगेको थियो ।
लगानीकर्ता तथा पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले चुनावपछि नयाँ सरकार बन्ने र पुँजी बजारमा सुधार आउने अपेक्षा राख्दा सेयर किनबेच सुस्त बन्न पुगेकोे बताइन् । उनले भनिन्, ‘लगानीकर्ता यतिवेला नयाँ आशा र अपेक्षाले बसेका छन्, मूल्य सस्तो भएकाले पनि केही समय पखौँ न भन्ने लगानीकर्ताको संख्या ठूलो छ ।’
यस तीन दिनमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा घलेम्दी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको प्रतिसेयर मूल्य एक सय ८८ रुपैयाँ आठ पैसाबाट बढेर प्रतिसेयर दुई सय १९ रुपैयाँ पुगेको छ भने सबैभन्दा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले करिब १४ प्रतिशतले सबैभन्दा बढी नोक्सान व्यहोरेको छ ।
कम्पनीको प्रतिसेयर मूल्य पाँच सय ९९ रहेकोमा घटेर पाँच सय १४ रुपैयाँमा आइपुगेको छ ।
त्यसैगरी, सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । कम्पनीको २६ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नेपाल बैंक लिमिटेडको २५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।
०७४ सालको चुनावपछि झनै घटेको थियो बजार
लगानीकर्ताले चुनावपछि सेयर बजार बढ्ने अपेक्षा राख्ने गरेको भए पनि ०७४ साल मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको चुनावपछि पनि बजार घटेको देखिन्छ ।
त्यसवेला चुनावअघि नेप्से परिसूचक एक हजार चार सय ९३ दशमलव २९ बिन्दुमा रहेको थियो । दुई चरणमा भएको चुनावबीच बजारमा केही उत्तारचढाव आएको थियो ।
तर, मंसिर २१ गते दोस्रो चरणको चुनावपछि भने बजार निरन्तर घटेको देखिन्छ । दोस्रो चरणपछि नेप्से सूचक एक हजार पाँच सय नौ दशमलव १४ बिन्दुमा रहेको थियो ।
चुनावपछिको पहिलो कारोबारको दिन २४ मंसिरमा ६ दशमलव शून्य पाँच अंकले घट्दा ८० करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो ।
चुनावपछि बनेको वामगठबन्धनको सरकारमा युवराज खतिवडा अर्थमन्त्री बने । खतिवडाले पुँजी बजारलाई नियन्त्रण गर्नका लागि कसिलो नीति ल्याउने बताएपछि ५ चैतमा आइपुग्दा बजार एक हजार दुई सय ७० दशमलव ५२ बिन्दुमा आइपुगेको थियो ।
चुनावपछिको चार महिनाको बीचमा नेप्सेले दुई सय ३८ दशमलव ६२ अंक गुमाएको थियो ।
तर, अहिलेको अवस्थामा पुँजी बजार सुधार हुने केही आधार तय भएका छन् । अर्थतन्त्र सकारात्मक भएका रिर्पोटहरू सार्वजनिक भएका छन् भने राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बजारसम्बन्धी नीतिहरूमा केही परिवर्तन ल्याउन सक्ने सम्भावना रहेकाले बजार थप सकारात्मक बन्न सक्ने लगानीकर्ता बताउँछन् ।
नयाँ पत्रिकाबाट