काठमाडाैं, मंसिर ११
देशभरका पाँच आंगिक क्याम्पसले पाए अनुमति, उपत्यकामा सरस्वती क्याम्पस मात्र
त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट सेमेस्टरमा आधारित चारवर्षे सामाजिक कार्य (बिएसडब्लू) कार्यक्रम सुरु गरेको छ । यो वर्ष त्रिविका पाँच आंगिक क्याम्पसले अनुमति पाएका काठमाडौं उपत्यकामा सरस्वती क्याम्पसले मात्र अनुमति पाएको छ ।
मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयअन्तर्गत स्नातक तहमा सेमेस्टर प्रणालीमा आधारित एकल अनुशासकीय चारवर्षे कार्यक्रमका रूपमा बिएसडब्लू सुरु भएको हो ।
पाँचवटा क्याम्पसलाई शैक्षिक वर्ष ०७९/८० देखि नै कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो । अनुमति पाउनेमा काठमाडौंको लेखनाथमार्गस्थित सरस्वती बहुमुखी क्याम्पस, इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस, मोरङको महेन्द्र मोरङ बहुमुखी क्याम्पस, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस र कास्कीको पृथ्वीनारायण क्याम्पस छन् ।
यसअघि स्नातक तह (बिए)मा वार्षिक प्रणालीमा एउटा विषय सामाजिक कार्य विषय पढाइ भए पनि एकल अनुशासकीय कार्यक्रम भने पहिलोपटक सञ्चालन हुन लागेको हो ।
त्रिविका मानविकी तथा सामाजिकशास्त्र संकाय डिन प्रा.डा. कुसुम शाक्यले पहिलोपटक बिएसडब्लूको सर्टिफिकेट पाउने गरी सिंगल डिसिप्लिनरीमा कार्यक्रम सुरु भएको बताइन् । देशैभर धेरै माग भए पनि पहिलो वर्ष भएकाले थोरैलाई मात्र अनुमति दिएको उनको भनाइ छ ।
सरस्वती बहुमुखी क्याम्पसका बिएसडब्लू निर्देशक टेकनाथ सुवेदीले पहिले बिएमा एउटा ऐच्छिक विषयका रूपमा पढाइ भए पनि अहिले बिएसडब्लू सिंगल डिसिप्लिनरीमा आएकाले धेरै फरक रहेको बताए । अहिले बिएसडब्लू आकर्षक कार्यक्रम रहेको उनको भनाइ छ ।
नयाँ पत्रिकाबाट