४० वर्षपछि गुप्ताको जित

कपिलवस्तु, मंसिर ११

कपिलवस्तुका पाका नेता मंगलप्रसाद गुप्ताले आठौं प्रयासमा जित हासिल गरेका छन् । कृष्णनगर–२ कृष्णनगरका ७७ वर्षीय गुप्ता एमालेबाट क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

गुप्ताले कांग्रेसका अभिषेकप्रताप शाहलाई पराजित गरे । उनले २० हजार ८ सय ५२ मत प्राप्त गरेका छन् भने शाहले १७ हजार ७ सय ८८ मत पाए । २०३९ सालमा गुप्ता तत्कालीन जिल्ला पञ्चायत सभापतिमा चुनाव लडेका थिए ।

दमाहा चुनाव चिह्न पाएका उनी पराजित भए । त्यसपछि २०४३ मा राष्ट्रिय पञ्चायत सदस्यदेखि निर्वाचन लड्न थालेका उनले बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक व्यवस्थाका ६ वटा निर्वाचनमा पराजय भोग्नु पर्‍यो ।

तीन पार्टी परिवर्तन गरेर चौथो पार्टी एमालेबाट चुनाव जितेका हुन् । २०४३ मा सूर्य चुनाव चिह्न लिएर राष्ट्रिय पञ्चायत सदस्य लडेका उनी २४ हजार मत ल्याउँदै चौथो भए । ३६ वर्षपछि त्यही सूर्य चिह्न लिएर लडेका उनले विजयी भएका हुन् ।

२०२४ सालदेखि राजनीति थालेका गुप्ताले २०४८, २०५१ र २०५६ मा कांग्रेसबाट जिल्लाको तत्कालीन क्षेत्र नं. ४ बाट संसदीय निर्वाचन लडे । २०७० र २०७४ को चुनाव तमलोपा र मधेसी जनअधिकार फोरमबाट लडे ।

सबै निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी बनेर चित्त बुझाउनुपर्‍यो । यसअघिका चुनावमा दोस्रो स्थानमा रहँदै आएकाले यसपटक आफ्नो जित निश्चित भएको उनले बताउँदै आएका थिए । उनी पञ्चायतकालमा पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य पनि भएका थिए ।

उनका साथीसंगी भगवानदास गुप्ता, राघवेन्द्रप्रताप शाह, हरिनारायण रजौरिया र दीपकुमार उपाध्यायले पटकपटक जितको स्वाद चाखे पनि उनले भने सधैं पराजय भोग्दै आएका थिए । ‘मंगल चाचाले लामो त्याग र संघर्ष गरेका थिए,’ स्थानीय मनीषमंगल बनियाँले भने, ‘जनताले बल्ल न्याय गरे ।’ उनी गत वर्षको पुस ६ मा एमाले प्रवेश गरेका थिए ।

‘मेरो व्यक्तिगत १५/१६ हजार मत थियो,’ उनले भने, ‘त्यसमा मजबुत संगठन भएको एमाले पार्टी मसँग रह्यो ।’ साढे पाँच दशक लामो राजनीतिको अनवरत यात्रामा रहेका गुप्ता युवा, मजदुर र कृषकका अधिकारका लागि लड्दै आएका छन् । ‘जनताले परिवर्तनको अनुभूति चाहेका थिए,’ उनले भने, ‘त्यसै कारण मेरो जित भएको हो ।’

कन्तिपुरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?