रसुवा, मंसिर १३
नेपालका लागि नर्वेका राजदूत टोरन ड्याम्ड्रलले आज रसुवामा वृक्षरोपण गर्नुभएको छ । उहाँले गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुञ्चेबाट पूर्वतर्फको तिवारी बगर नजिक खाली चौरमा स्थानीय भाषामा बोलिने डालेचुक नामक सिवक थ्रनको बिरुवा रोपण गर्नुभएको हो ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जको सहयोग एवं इसिमोड तथा युनेस्को संस्थाद्वारा यहाँ आयोजित जलवायु प्रतिकूल र त्यसको असरसम्बन्धी भएको छलफलमा भाग लिन रसुवा पुग्नु हुँदा राजदूत टोरोन वृक्षरोपणमा सहभागी हुनुभएको थियो ।
वृक्षरोपणमा इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्जो, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईसमेतको सहभागिता थियो ।
नमूना पार्कका रूपमा विकसित गर्ने उद्देश्यले रोपण गरिएको बिरुवा जुस बनाउने डालेचुकलगायत विभिन्न प्रजातिका ५१ वटा रोपिएको छ । पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक मार्गको आसपासमा रोपण गरिएकाले हजारौँ भक्तजनमाझ सो पार्क आकर्षणको थलो बन्न सक्ने स्थानीय बासिन्दाले बताएका छन् ।
संरक्षणका साथसाथै सो स्थानमा क्रमशः बिरुवा रोपणको सङ्ख्या थपिँदै लगिने र सुक्खायाममा पानी राख्ने व्यवस्थासमेत मिलाइने प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो ।
यस्तै राजदूत टोरन तथा इसिमोडका कार्यकारी निर्देशक पेमा, इसिमोडका विज्ञ सुनिता चौधरीसमेतको उपस्थितिमा निकुञ्जका अधिकारी एवं प्राविधिक कर्मचारी एवं निकुञ्ज सेरोफेरोमा आधारित मध्यवर्ती क्षेत्र विकास समितिका पदाधिकारी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, सरोकारवाला निकाय समेतका पदाधिकारीको सहभागिता जलवायु प्रतिकूल असरका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा हिउँ रेखा सर्ने रफ्तार बढेको, वर्षा कमी हँुदै गएको, बाली प्रणालीमा असर परेको, फलफूलको उत्पादनमा सन्तुलन घटेको, चरन तथा घाँसेमैदानमा बाह्य घाँस पलाउन थालेको, सधैँ चिसो हुने स्थानमा तापक्रम बढ्दै गएको, चौँरीगाईलगायत चौपायाको चरनमा स्थानीय जातका घाँस लोप हुन थालेको, वन्यजन्तुले बासस्थान सार्न थालेको, जलाशय क्षेत्रमा सुक्खा बढ्न थालेको जस्ता विविध विषयमा समीक्षा गरिएको थियो ।
विद्यालयस्तरबाटै जलवायु परिवर्तनका असर छात्रछात्रामाझ सुसूचित गराई न्यूनीकरणको जागरण क्षमता अभिवृद्वि गराउन विद्यार्थीलाई चित्रकला तयार पार्ने कार्यमा सहभागी गराई पुरस्कारसमेत वितरण गरिएको थियो ।
चित्रकलामा हाइल्यान्ड आवासीय मावि धुञ्चे प्रथम, कोमेन स्यामे वाङ्फेल मावि स्याफ्रुबेँसी द्वितीय र कालिका हिमालय माविका छात्रछात्रा तृतीय भएका थिए । चित्रकलामा रसुवा मावि एवं राम्चे माविले सान्त्वना पुरस्कार प्राप्त गरेको थिए ।
राससबाट