कमलादेवी गौतम । साझाकथा
प्रधानमन्त्री शेरबहादुर देउवाले सातौं पटक चुनाव जिते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छैठौं पटक जितेका छन् । मतपरिणम हेर्दै गर्दा लोकप्रियता, सत्ता र शक्ति लगाएर जनमत लिने गरेको दाबी धेरैले गरिरहेका छन् । कतिपयले भने भूगोलकेन्द्रित बजेट बाँड्ने र विकासका केही काम गरेर लोकप्रिय मत लिने र जित्ने गरेको बताएका छन् ।
संसद्मा रहेको ठूलो दल नेकपा (एमाले)सँग फुटेर माधवकुमार नेपाल छैटौं पटक प्रतिनिधि सभा छिरे । असल भएकै कारण पटक पटक जितेका हुन त् ? भन्ने प्रश्न पनि मतदाताबाट उठेको छ । त्यसो हो भने यस्तो अस्थिरता कसरी ? भन्ने प्रश्न पनि सँगै उठेको छ जुन अस्वाभाविक होइन ।
दाङका युवा योगराज नेपाल भन्छन्,‘ठूला नेताहरूदुई किसिमबाट चुनाव जित्छन् । आर्थिक रूपमापनि चलखेल गर्छन् भने सत्तामा रहेका बेला गरेको कामको क्रेडिट लिन्छन् ।’बुझेर वा नबुझेर जनताले पनि उनीहरूलाई नै रुचाएकोमा उनी अचम्म पर्छन् । ‘यसरी जित्छन् र जित्दै आएका पनि छन्’, उनी थप्छन् ।
मकवानपुरकी सरिता दाहाल स्थापितनेता जिताएर विकास निर्माणको काममा आफ्नो क्षेत्रमा विकास होस् भन्ने हेतुले मतदाताले जिताउने गरेको बताइन् ।उनी थप्छिन्,‘केही शीर्षनेताहरू पहुँच प्रयोग गरेर जनअपेक्षापूरा गर्छन् भने कार्यकर्तापनि शक्तिकै पछि लाग्छन् ।’ दाहाल थप्छिन्,‘त्यही कामको चर्चा गर्ने र नेताको चाकडी गर्ने, हल्लामा प्रचार गरेरपनि मत बढ्दो रहेछ ।’
लमजुङका कृष्ण शर्मा भन्छन्,‘आफ्नो हार होला भनेर गठबन्धन गरेर ठूला नेता ढुक्क हुन्छन् र जित्छन् । चन्दा असुलेरभोट किन्ने र अन्य खर्च गर्ने कुरै नगरौं। ‘यसपल्ट डडेलधुरामा छरप्रष्टै देखियो । साम, दाम, डण्ड, भेद सबै प्रयोग गर्छन्, सत्ताको बल प्रयोग गरेर पनि जित्ने गरेका छन्’, उनी थप्छन् ।
नेताको लोकप्रियताका कारण पटक पटक चुनाव जित्ने गरेको युवा प्रवेश परियार बताउँछन् । ‘जनतालाई यसो गर्छु उसो गर्छु भनेर आश्वास्त पार्ने र सत्ता एवं शक्तिको प्रयोग त गरिरहेकै हुन्छन्’, उनी थप्छन् ।
बनेपाका बिनोद सापकोटा जनमत जित्ने गरी भूगोलमा खटेर काम गरे त्यसै लोकप्रिय भइने र निर्वाचन जित्ने बताउँछन् ।‘स्थानीयको मत परिणामलाई हेर्दा १८ हजार मतले गठबन्धन अगाडि थियो तर झन्डै ६ हजारले जनमत लिएर एमालेका गोकुल बास्कोटा जिते’, उनी भन्छन् । जननिर्वाचितले लोकतान्त्रिक पद्धतिलाई समुन्नत बनाएर लैजानेतर्फ अब अघि बढ्नुपर्नेमा उनी जोड दिन्छन् ।