३१ वर्ष देखि चुनाव लड्दै आएकाहरु, यस पटक को जिते को हारे ?

भानुभक्त आचार्य

कैलाली । २०४८ सालयता सातौँ संसदीय चुनाव सम्पन्न भएको छ । ०४८,०५१,०५६,०६४,०७०,०७४ र ०७९ को निर्वाचन सम्पन्न भयो । ३१ वर्षमा भएको सातौँ निर्वाचन सम्म केही नेताहरू पटक पटक होमिए । ती मध्ये केही पटक पटक हारे, केही जिते ।
२०४८ सालको निर्वाचनमा विजयी भएकाहरू मध्ये केही यस पटक पनि विजय भए केही पराजित भए ।

शेरबहादुर देउवा

शेरबहादुर देउवाले ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९को निर्वाचन जित्ने एक मात्र पात्र भएका छन् । उनी डडेल्धुराबाट निरन्तर चुनाव जित्दै आएका छन् । २०४८ सालमा निर्वाचन जितेर गृह मन्त्री भइसकेका देउवा पाँच पटक सम्म प्रधानमन्त्री समेत भइसकेका छन् ।

केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओली ०४८ देखि नै संसद्मा छन्। तर, ०६४ को पहिलो संविधानसभा चुनावमा भने उनी पराजित भएका थिए। ०४८, ०५१ र ०५६ मा झापा ६ बाट निर्वाचित ओलीले ०७० को दोस्रो संविधानसभा चुनाव झापा ७ बाट निर्वाचन जिते । ०७४ र २०७९ को निर्वाचनमा उनी झापा ५ बाट उठे र फराकिलो मतान्तरले विजयी भए ।

माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ०४८ देखि ०५६ सम्म राष्ट्रियसभाका सांसद बने। २०५६ मा प्रतिनिधिसभाको चुनाव जिते। पहिलो संविधानसभा चुनावमा पराजित भएका नेपाल मनोनीतबाट संविधानसभा सदस्य बने।

०७० को दोस्रो संविधानसभा र ०७४ को संसदीय निर्वाचन जितेका नेपालले अहिले पनि सहज जित हासिल गरेका छन् । रौतहट १ मा ३३ हजार पाँच सय २२ मत ल्याएर नेपाल विजयी हुँदा एमालेका अजय कुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरेका थिए ।

झलनाथ खनाल

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि २०४८ देखी निर्वाचन लड्दै आएका नेतामा पर्छन् । तीन दशक देखी निर्वाचनमा होमिएका खनाल यस पटक भने इलामा १ बाट पराजित भए ।यस अघि उनी २०६४ मा पनि पराजित भएका थिए ।

महन्त ठाकुर

लोसपा अध्यक्ष महन्त ठाकुर पनि २०४८ सालयता सबै चुनावमा लगातार उम्मेदवारी दिँदै आएका नेतामा पर्छन् । २०४८, २०५१ र २०५६ सालसम्म उनले काङ्ग्रेसबाट चुनाव लडे। २०६४ मा उनले आफ्नै अध्यक्षतामा तमलोपा गठन गरे। त्यसपछि २०६४ र २०७० मा तमलोपाबाट चुनाव लडे। २०७४ को निर्वाचनमा ठाकुरले तत्कालीन राजपाबाट चुनाव लडे।

२०४८, २०५१ र २०५६ मा सालमा उनको निर्वाचन क्षेत्र सर्लाही थियो। २०७४ बाट उनको निर्वाचन क्षेत्र फेरियो। २०७४ मा महोत्तरी ३ बाट जितेका उनी अहिले पनि सोही क्षेत्रबाट निर्वाचित भएका छन् ।

रामचन्द्र पौडेल

२०४८ देखी निरन्तर चुनाव लड्दै आएका राम चन्द्र पौडेल ०७४मा पराजित भए । त्यस बाहेक सबै चुनाव जितेका रामचन्द्र पौडेल यस पटक पनि तनहुँ २ बाट निर्वाचित भए ।

०४८ मा तनहुँ–१ बाट र ०५१, ०५६, ०६४ र ०७० सालमा तनहुँ–२ बाट निर्वाचित भएका पौडेल स्थानीय विकास तथा कृषि मन्त्री, शान्ति तथा पुनर्निर्माण मन्त्री, गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् ।

कृष्णप्रसाद सिटौला

कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला आठौँ पटक चुनाव लडे ०४८ मा तत्कालीन झापा १ (हाल झापा–३)बाट उम्मेदवार बनेका उनी त्यो बेला पराजित भए । एमालेका द्रोणाचार्य क्षेत्रीसँग पराजित भएपनि ०५० को उपनिर्वाचनमा उनी निर्वाचित भए । क्षेत्रीको निधन भएकाले उपनिर्वाचन भएको थियो ।

त्यसपछि ०५१, ०५६, ०६४ र ०७४ मा पनि पराजित भए । ०७० को संविधानसभा निर्वाचनमा भने राप्रपाका राजेन्द्र लिङ्देनलाई हराएर जितेका उनी ०७४ फेरि तिनै लिङ्देनसँग झापा–३ मा सिटौला पराजित भए । उनी यस पटक पनि लिङ्देनसँगै भारी मतले पराजित भए ।आठ पटक निर्वाचनमा होमिदा सिटौला ६ सम्म पराजित भइसकेका छन् ।

विजय गच्छदार

२०४८ सालमा नेपाली काँग्रेसबाट निर्वाचन जितेका गच्छदारले क्रमशः २०५१ र २०५६ सालसम्मका निर्वाचन नेपाली काँग्रेसमा नै रहेर जितेका हुन् । मधेस आन्दोलन पछि नेपाली काँग्रेस छोडेर मधेसी जनअधिकार फोरमा पुगेका गच्छदार २०६४ सालको निर्वाचन फोरमको मसाल छाप चिन्न लिएर जितेका थिए ।

२०६६ सालमा उपेन्द्र यादवसँग छुट्टिएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बनाएका उनले २०७० सालको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्न दुई हातले गरेको नमस्कार लिएर जितेका थिए ।

२०७४ मा वाम गठबन्धनबाट नेकपा एमालेकी नेतृ भगवती चौधरीलाई २६१ मतले पराजित गरेका गच्छदार अहिले पनि निर्वाचनमा थिए । २०४८ साल देखी निरन्तर जित्दै आएका गच्छदारलाई अहिले सातौँ जितका लागि निर्वाचनमा छन् । तर, उनको परिणाम अझै आइसकेका छैन । अहिले सम्म एमालेकी भगवती चौधरीले अग्रता बनाइरहेकी छन् । चौधरी अघिल्लो दुई पटक पनि गच्छदारसँग पराजित भएकी थिइन् ।

कमल थापा

२०४८ को आम निर्वाचनमा मकवानपुर -१ मा कमल थापालाई एमालेका कृष्ण दाहालले पराजित गरेका थिए। ०५१ को मध्यावधि चुनावमा थापाले त्यसको बदला लिए। तर मकवानपुर २ बाट पनि उठेका उनलाई तत्कालीन एमालेका विरोध खतिवडाले पराजित गरे। २०५६ मा थापा मकवानपुर -१ मा दाहालसँग पराजित भए।

त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर ३ (पछि क्षेत्र २ मा गाभिएको) बाट उम्मेदवार बनेका थापा तेस्रो भए। २०७० को संविधानसभा निर्वाचनमा भने थापा प्रतिस्पर्धामा उत्रिएनन्।

श्रीमती प्रमिला थापालाई मकवानपुर-१ बाट उम्मेदवार बनाएर आफू समानुपातिकमा बसे। समानुपातिकबाट सांसद पड्काएर मन्त्री बनेका उनी ओली, दाहाल र देउवा तीनै प्रधानमन्त्रीका मन्त्रिमण्डलमा मन्त्री बने।

त्यसपछि २०७४ को प्रतिनिधिसभामा उनले मकवानपुर १ मै फेरि उम्मेदवारी दिए। थापाका प्रतिस्पर्धी थिए, उनै तीन पटक प्रतिस्पर्धा गरेका दाहाल। तर उक्त निर्वाचनमा पनि थापा पराजित भए। यस पटक राप्रपाका दीपकबहादुर सिंह विजयी हुँदा थपा तेस्रो भए ।

राजेन्द्र महतो

०४८ मा तत्कालीन सद्भावना पार्टीबाट चुनाव जितेर संसद् पुगेका लोसपा नेता राजेन्द्र महतो ०७० को दोस्रो संविधानसभामा महेन्द्र रायसँग पराजित भए । अघिल्लो पटक धनुषा ३ बाट कांग्रेस नेता बिमलेन्द्र निधिलाई पराजित गर्दै विजयी भएका महतो अहिले पनि सर्लाही २ बाट नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग पराजित भए ।

विरोध खतिवडा

२०४८ मै प्रतिनिधिसभामा निर्वाचित भएका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा यस पटक पराजित भए ।
मकवानपुर क्षेत्र नम्बर २ मा पूर्व स्वास्थ्य मन्त्री खतिवडालाई ४ हजार ५२० मतान्तरले एमालेका महेश बर्तौलाले पराजित गरेका हुन् ।

०४८ देखी हाल सम्म उनले दुई वटा निर्वाचनमा टिकट पाएनन् । तर, खतिवडाले प्रतिस्पर्धा गरेका सबै चुनाव जितेका थिए । २०४८ यता चार पटक निर्वाचन जितिसकेका खतिवडा यस पटक पराजित भए ।

कृष्णगोपाल श्रेष्ठ

मदन भण्डारीको मृत्यु भएपछि काठमाडौं–५ को उपनिर्वाचनमा श्रेष्ठ निर्वाचित भएका थिए । ०५१ मा काठमाडौं–५ बाट निर्वाचित भएका श्रेष्ठ ०५६, ०६४ र ०७० सालको चुनावमा काठमाडौं–९ बाट लगातार पराजित भए । ०

७० को एउटै चुनावमा उनी दुई पटक पराजित भए । काठमाडौं–९ बाट पराजित श्रेष्ठ माधव नेपालले छाडेको काठमाडौं–२ को उपनिर्वाचनमा पनि पराजित भए । ०७४ को चुनावमा भने काठमाडौं–९ बाटै उनी निर्वाचित भए । अहिले सोही क्षेत्रमा पुन निर्वाचित भएका छन् ।

उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि २०४८ सालदेखि चुनाव लडेको अनुभव छ। २०४८ सालमा उनले नेकपा एमालेबाट सुनसरी २ मा उम्मेदवारी दिएका थिए। त्यसपछि २०४८, २०५१ र २०५६ मा उम्मेदवारी दिएनन्। २०६४ यता उनले निरन्तर उम्मेदवारी दिँदै आएका छन्। यस पटक सप्तरी २ बाट उम्मेदवारी दिएका उनी फराकिलो मतान्तरले हारे ।

राजेन्द्र पाण्डे

राजेन्द्र पाण्डे ०४८ यताका सबै चुनाव लड्ने अर्का नेता हुन् । एमालेबाट ०४८, ०५१, ०५६ र ०७० को संसदीय निर्वाचनमा विजयी भएका पाण्डे ०७४ को चुनावमा प्रदेशसभा सदस्यमा चुनाव लडे । उनी नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री भए । २०४८ यता सङ्घमा ४ पटक र प्रदेशका एक पटक सम्म विजयी भएका पाण्डेले यस पटक पनि धादिङ १ बाट बाजि मारे ।

तीन दशक बढि समय देखि निर्वाचनमा होकिएकाहरुको सूची लामै छ । एमालेका वसन्त नेम्बाङ पनि०४८ मा सांसद बनेका थिए। उनले ०५६ र ०७४ को निर्वाचन जिते । अहिले पनि उ पनि निर्वाचन लडेर विजयी भए ।

एमाले लालबाबु पण्डित र कांग्रेसका बालकृष्ण खाँण, ०४८ सालमै निर्वाचित भएका थिए। दुबै जना अहिले पनि उम्मेदवार थिए तर, यस पटक भने दुबैजना पराजित भए । राप्रपाका दीपक बाेहाेरासँग खाण पराजित भएका हुन् ।

२०४८ मै निर्वाचित भएका दिलेन्द्रप्रसाद बडू अहिले पनि निर्वाचित भए । गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पछि २०४८ देखी लड्दै आएकामा पर्छन् ।

४८ मा एमालेबाट चुनाव जितेका अशोक राई अहिले पनि सुनसरी १ बाट निर्वाचनमा विजयी भएका छन् । २०४८ देखी निरन्तर उम्मेदवार बन्दै आएका कांग्रेसका पूर्व मन्त्री राम जनम चौधरी यस पटक पनि उम्मेदवार थिए ।

तर, उनी जित्न सकेनन् । ०४८ देखी ७० सम्म लगातार पाँच पटक संसद् प्रदेश गरिसकेका चौधरी अघिल्लो पटक र अहिले लगातार दुई पटक पराजित भए ।

अघिल्लो पटक कैलाली ३ मा गौरीशङ्कर चौधरीसँग पराजित भएका थिए भने अहिले नागरिक उन्मुक्तिका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठसँग कैलाली १ मा पराजित भए ।

नेपाल प्रेसबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?