सामाजिक सञ्जालमार्फत कसरी हुन्छ ठगी ? थाहा पाउनुहोस् यी आठ बाहना

काठमाडौं, १३ मंसिर ।

प्रविधिको प्रयोग बढेसँगै अनलाइन ठगीका घटना पनि दिनप्रतिदिन बढ्दो क्रममा छ । अनलाइनबाट हुने बढ्दो ठगीका घटना न्यूनीकरण गर्नका लागि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सर्वसाधारणमा विशेष अनुरोध गरेको छ ।

विभिन्न व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जालमार्फत विभिन्न प्रवृत्ति अपनाउँदै अनलाइनबाट ठगी गर्ने क्रम बढ्दै गइरहेको भन्दै व्यूरोले सर्वसाधारणमा सचेत राएको हो ।

सामाजिक सञ्जाललगायत अनलाइनको माध्यमबाट हुने ठगीबाट जोगिन विभिन्न कुराहरूमा ध्यान दिनुपर्ने प्रहरीको भनाइ छ ।

कसरी हुन्छ अनलाइन ठगी ?

१. अनलाइनमा मात्रै चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनी प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न कर चुक्ता गर्नुपर्ने बाहना बनाई रकम माग गर्ने ।

२. तपाईको नाममा अनलाइन चिठ्ठा पर्‍यो, उक्त चिठ्ठा प्राप्त गर्नका लागि कर चुक्ताको विभिन्न बाहना बनाई रकम माग गर्ने ।

३. सामाजिक सञ्जाल ह्याक गरी उक्त सामाजिक सञ्जाल प्रयोगकर्ताका निकटतम साथी पहिचान गरी विभिन्न बर–बाहनामा रकम माग गर्ने ।

४. साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनी ओटीपी (वान टाइम पासवर्ड) माग गरी सम्बन्धित खातावालाको खाताबाट रकम निकाल्ने ।

५. अनलाइनमा सस्तोमा सामान बिक्रीमा राख्ने र सामान पठाउनु पहिलेनै रकम असुल गरी सामान आपूर्ति (डेलिभरी) नगर्ने ।

६. सामाजिक सञ्जालमार्फत प्रेमजालमा पारी अनेकन बाहना बनाई बैङ्कको खाता खोल्न लगाई एटीएम कार्ड र ओटीपीलगायत विवरण लिने ।

७. भिडिओ भाइरल गरिदिन्छु भनी रकम माग गर्ने ।

८. क्रिप्टोकरेन्सी/विट क्वाइनमा लगानी गरे आर्थिक लाभ/फाइदा तुरुन्त डबल हुन्छ भनी रकम माग गर्ने ।

दैनिक नेपालबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?