स्केच नयाँ पत्रिकाबाट
टीकापुर, मंसिर १५
विगतमा बालबालिकालाई विद्यालयमा सजाय दिएर, तर्साएर पढ्न लगाइन्थ्यो । आजभोलि बालबालिकालाई सजाय दिन पाइँदैन । विद्यालयको वातावरण हिंसा र विभेदमुक्त हुनुपर्छ । तर कैलालीका विद्यालयमा अध्ययनरत बालबालिका भने विभेद भोगिरहेको बताउँछन् ।
कैलालीकै एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत सविना थापालाई विद्यालयमा छात्र र छात्राबीच फरक व्यवहार गरिँदा राम्रो लाग्दैन । उहाँले विद्यालयमा बालिकाले गल्ती गर्दा छिट्टै माफी पाउने तर बालकले गल्ती गर्दा सजाय हुने जस्ता घटना देख्नुभएको छ । “मैले छोरीभन्दा छोराले विद्यालयमा बढी विभेद भोगिरहेको देखेकी छु ।
हामीले गल्ती गर्दा कम सजाय हुन्छ, तर छोराले गल्ती गर्दा बढी समयसम्म सजाय भोग्छ”, उहाँ भन्नुहुन्छ, “कक्षाकोठामा केहीबेर उभ्याउने, शिक्षकले आँखा तर्ने, चर्को बोल्नेजस्ता काम शिक्षकबाट हुन्छन् । छोराले गल्ती गर्दा उनीहरूलाई केही दिनसम्म बोलीबाट हिंसा गरिन्छ ।”
हिंसा कसैले कसैलाई गर्न हुँदैन । शिक्षकलाई ज्ञानको कमी हुँदा पनि हिंसा तथा विभेद भइरहेको हुनसक्ने विज्ञ बताउँछन् । कैलालीकै शिवा शाहलाई विद्यालयमा विभेद महसुस नभए पनि कक्षामा राम्रो नतिजा ल्याउने र कमजोर विद्यार्थीबीच विभेद गरेको भने चित्त बुझ्दैन ।
“हाम्रो कक्षामा प्रथम, द्वितीय र तृतीय आउने विद्यार्थी र कमजोर विद्यार्थीलाई गरिने व्यवहार निकै फरक छ । उनीहरूलाई माया गर्ने, उनीहरूका समस्याबारे छलफल हुने, हरेक शिक्षकले उनीहरूसँग कुरा गर्नुहुन्छ”, शिवा भन्नुहुन्छ, “तर कमजोर विद्यार्थीका कुरा सुन्न पनि चाहन्नन्, कमजोर विद्यार्थीलाई हेलाको दृष्टिले हेरिन्छ । ऊ किन कमजोर छ भनी खोजी न घरमा हुन्छ, न विद्यालयमा । यस्तो व्यवहारले कमजोर झन कमजोर हुँदै जान्छ ।”
स्नातक तह अध्ययन गर्ने तयारीमा रहेकी अर्की किशोरी सुविना साउदलाई पनि कमजोर विद्यार्थी र राम्रो पढ्ने विद्यार्थीबीच गरिने विभेद मन पर्दैन । उहाँ कमजोर विद्यार्थीलाई थप कमजोर बनाउने कार्य विद्यालय तथा शिक्षकले गरिरहेका छन् जस्तो लाग्छ ।
“कमजोर विद्यार्थीलाई समय नदिएमा, उसलाई खुसी नराखेमा थप कमजोर हुँदै जान्छ”, उहाँ भन्नुहुन्छ, “म कक्षा ११ मा पढ्दा यस्तै भएर दुई जना साथीले कक्षामा आउनै छाडेका थिए । हिंसा नभए पनि यो विभेद त हो नि !”
हिंसाका स्वरूप फरकफरक हुन्छन् । हिंसा जानेर वा नजानेर पनि मानिसले भोगिरहेका हुनसक्छन् । त्यसैले मानिस हरेक अवस्थामा सचेत रहन आवश्यक छ ।
विगतमा विद्यालयमा लैङ्गिक हिंसाका घटना बढी हुन्थे, विस्तारै विद्यालयमा हुने हिंसाका घटनामा कमी आउन थाल्यो विगतमा विद्यालयमा बालबालिकालाई गल्ती गर्दा पिट्ने, मुर्गा बनाउने, कक्षामा उभ्याउने जस्ता कार्य हुन्थे तर आजभोलि त्यस्तो हिंसा हुँदैन तर पनि बालबालिकाले हिंसा भइरहेको महसुस भने फरक तरिकाको गर्दा रहेछन् ।
विद्यार्थी तारा साउदलाई पनि विद्यालयमा विदार्थीबीच फरक व्यवहार हुन्छ जस्तो लाग्छ । उहाँलाई चिनेका तथा आफन्तका बालबालिकालाई अध्ययन तथा अतिरिक्त क्रियाकलापमा अवसर दिँदा गरिने व्यवहार फरक लाग्छ ।
“शिक्षकले आफन्तका बच्चा, चिनेका वा आफूलाई राम्रो लाग्ने विद्यार्थीलाई बढी माया गर्नुहुन्छ”, साउद भन्नुहुन्छ, “कक्षामा सबैलाई समान व्यवहार, बराबरी समय दिनुपर्ने हो तर त्यसो हुँदैन । कहिलेकाहीँ कोही मन परेको विद्यार्थीलाई आफूसँगै खाजा खुवाउने गरिन्छ, यो फरक व्यवहार भएन त ?”
विद्यार्थी शिवम विष्ट बालबालिकाले कहिलेकाहीँ गृहकार्य नगर्ने, कक्षा छोड्ने, पढाइ भइरहेका बेला होहल्ला गर्नेजस्ता कार्य कक्षाकोठामा हुने गरेको बताउनुहुन्छ ।
उहाँ यस्तो बेला बालकले शब्द, व्यवहार र सजायमा बढी सजाय पाउने, बालिकालाई कम सजाय हुने गरेको अनुभव सुनाउनुहुन्छ । “बालबालिका गल्ती गर्छन्, हामी अनुशासनमा बस्दैनौँ, यस्तो बेला हामी छोरा बढी सजाय पाउँछौँ”, उहाँ भन्नुहुन्छ, “पटकपटक सजाय पाएमा छोरा बिग्रने डर हुन्छ । यस्तै हो भन्ने लाग्छ ।”
विद्यालयमा नदेखिने गरी हुने यस्ता विभेदको निरन्तरता भइरहनुको पछाडि लैङ्गिक संवेदनशीलताको अभाव भएको शिक्षाप्रेमी बताउँछन् । लैङ्गिक संवेदनशीलता भनेको सबै लिङ्गीका शारीरिक, मानसिक, व्यावहारिक र बौद्धिकलगायतका हरेक किसिमका अवस्था र क्षमतालाई सम्मानका साथ स्वीकार्नु र त्यसप्रति संवेदनशील हुनु हो ।
टीकापुर नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख दमनसिंह चौधरी आफूहरूले विद्यालयमा सजाय दिनै नपाइने गरी काम गरिरहेको बताउनुहुन्छ ।
“विद्यालयमा हुने समस्याबारे हरेक महिना प्रधानाध्यापक बैठक हुन्छ, त्यहाँ हरेक समस्या, विद्यार्थीका गुनासा सबै सम्बोधन हुन्छन्”, चौधरी भन्नुहुन्छ, “शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन समान व्यवहारमा जोड दिएका छौँ । सकारात्मक विभेद भने आवश्यक छ । कमजोरलाई बढी समय दिने, छात्रालाई अलि प्रोत्साहन आवश्यक छ ।”
उहाँ छात्रको तुलनामा छात्रा घरायसी काममा बढी व्यस्त हुने, भाइबहिनी खेलाउनुपर्ने, भान्सा तथा बारीको काममा अभिभावकलाई सघाउने हुँदा पढाइमा कमजोर हुन सक्छन् वा मानसिक तनावमा हुनसक्छन् भन्नेमा शिक्षक सचेत हुनुपर्ने बताउनुहुन्छ ।
“हरेक शिक्षकलाई विद्यार्थीको अवस्थाबारे जानकारी हुनुपर्छ, कसैको घरको वातावरण खराब हुनसक्छ, आवश्यक शैक्षिक सामग्रीको अभाव हुनसक्छ भन्नेमा सचेत हुनुपर्छ”, उहाँ थप्नुहुन्छ, “हिंसा, विभेद र सजाय त दिनै मिल्दैन ।
अध्यनरत विद्यार्थी, शिक्षक तथा सम्पूर्ण कर्मचारी लैङ्गिकरूपमा संवेदनशील हुन आवश्यक छ । त्यसका लागि हामी रणनीतिकरूपमै काम गरिरहेका छौँ ।”
राससबाट