नारदमणि बास्तोला । साझाकथा
यसअघिका हैसियतमा रहेका दलका नेताहरूले गरेको कमजोरीलाई क्यास गर्दै स्वतन्त्र उमेद्वारहरूको उदय भएको छ । २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगर, धरान उपमहानगरलगायत स्थानीय तहमा स्वतन्त्रले ल्याएको क्रेजसँगै धेरैलाई स्वतन्त्रले केही गर्छन् भन्ने महसुस भएको हो ।
हालै सम्पन्न चुनावको परिणाम हेर्दा धेरैले कांग्रेस, एमाले र माओवादी केन्द्रले संसदीय अभ्यास गरे । तर जनअपेक्षाअनुरूप काम नगरेपछि दलप्रतिको वितृष्णा बढ्दै गयो । विस्तारै सहरी क्षेत्रबाट विकल्प खोज्ने लहरै चल्यो जुन देशैभर चलिरहेको छ ।
अर्घाखाँचीका शेखर गिरी भन्छन्, ‘स्थापित दल र नेतृत्वका कमजोरीका कारण स्वतन्त्रका युवा अघि सरे अब स्वतन्त्र दल उभो लाग्न सक्छन् ।’ कांग्रेस, एमाले र माओवादी केन्द्रमा निष्ठावान व्यक्तिलाई दलले टिकट नदिएको उनको बुझाइ छ । ‘राम्रो भन्दा आफन्त खोज्ने, धनवाद र डनवाद हावी हुने अवस्थाले यस्तो भएको हो’, उनी थप्छन् ।
दलका नेताहरूले शिक्षा, स्वास्थ्यमा आमूल परिवर्तन गर्ने आश्वासन बाँड्नु, भ्रष्टाचार नियन्त्रण गर्न नसक्नुजस्ता कारणले स्वतन्त्रको उदय भएको उर्लाबारी, मोरङका मोहन खनालको भनाइ छ । उनी भन्छन्, ‘दुर्भाग्य सबैको भयो कारण एउटै छ, लामो समयदेखि दलीय भागबण्डामा मुलुक चलेको छ ।’
साहित्यकार केशवराज भेटवाल भन्छन्, ‘वास्तवमा राजनीतिक अस्थिरता, र ठूला दलका नैतिकता गुमाए ।’ नेतामा कुर्सी मोह, अस्थिरता, जनभावनाअनुरुप काम नहुनु, युवा पुस्ता अघि नबढाउनु, चुनाव जित्ने र मन्त्री हुनु आदि मात्र उनीहरूको प्राथमिकतामा पर्ने गरेको उनको बुझाइ छ ।
सामुदायिक वनका अभियन्ता लीलानाथ न्यौपाने नेपालका दलका नेतृत्व जनउत्तरदायी नभएको र सोही कारण स्वतन्त्रहरू उदाएको टिप्पणी गर्छन् । ‘तहगत रूपमा छलफल गरेर निर्णय लिनुपर्ने कुरामा नेताहरू मनोगत ढंगले चल्न थाले । त्यसले नेताप्रति जनआक्रोस बढ्यो । बदलामा स्वतन्त्र आए’, उनी थप्छन् । अझै चुनौति दिने गरी अघि बढ्ने देखिन्छ ।
सुनसरीकी सरस्वती कार्की नेताहरूले स्वाभिमान गुमाएकाले समस्या थपिएको र बल्झिरहेको बताउँछिन् । ‘निहित स्वार्थमा नेता रमाएका कारण जनतालाई गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिएनन् ।
पञ्चायतदेखि अहिलेसम्म नियाल्दा दलहरू र व्यवस्था प्रश्न चिन्ह खडा भइरह्यो । निष्ठा र स्वाभिमान गुमाए । अहिले त झड्का मात्र लाग्यो । पाका नेता र ठूला दलले सत्ता स्वार्थ नत्यागे अझै तल पुग्छन्’, उनी थप्छिन् ।
रामजी घिमिरे भन्छन्, ‘नेतामा अनुशासनहीनता बढ्यो । वर्गीय राजनीति अन्त्य भयो ।’ जिम्मेवारी वहन गर्न नखोज्ने तर नेता कार्यकर्ता सत्ताकै वरिपरि घुमिरहने कारणले नेपालमा स्वतन्त्रको उदय हुन पुगेको उनी तर्क गर्छन् । उनी थप्छन्, ‘ठूला नेताले नै वातावरण तयार गरेर जिते, साँच्चै ठूला दलको विकल्प बन्न बेर छैन स्वतन्त्र दल ।’
सेतोपाटीका अमीत ढकालले लेखमा लेखेका छन्, ‘नयाँ दलले घन्टी बजाउँदै उदय भयो । ठूला राजनीतिक दल ढुक्कले बस्न पाउँदैनन् । मतदाताको यो रुझानले ठूला दलभित्र परिवर्तन खोज्ने युवालाई ठूलो बल पुग्ने छ । राजनीतिको तलाउमा अब हिजोजस्तो जमेर बस्न सम्भाव छैन । तरंग उत्पन्न भइसकेको छ ।’
अब देश विकास र रष्ट्रियताका सवालमा कस्तो मोडलमा लैजाने भनेर गम्भीर बहस हुन जरुरी छ । यस्ता खाले अस्थिरता रहिरहे दलीय व्यवस्थाको भविष्य अन्योलमा नपर्ला भन्न सकिन्न ।
दलभित्रका समस्या समाधान गरी आमनागरिकलाई दलीय व्यवस्थाप्रति नै आशा जगाउन सक्नु पर्छ । यसका लागि ओठे प्रतिवद्धता मात्र होइन, व्यवहारमा नै देखाउन आवश्यक छ ।