डी.बी. नेपाली ‘दमु’
२०३२ कार्तिक २७ गते, मंगलबार थुलुङ दुधकोशी (साबिक जुबु गाविस–७) गाउँपालिका–५, सोलुखुम्बुमा पंक्तिकारको जन्म भएको हो । जहाँ हाम्रो परिवारलाई आफ्नो उत्पादनले ६ महिना पनि खान पुग्दैनथ्यो । वर्षमा आधाभन्दा बढी समय खेतालापात गरेर बाँच्नुपथ्र्यो ।
कतिपय अवस्थामा अनिकालको सामना ग¥यौं । गहुँ र जौको खोले खाएर समय कटाएको अनुभव ताजै छन् । ठूलो परिवार र आर्थिक अवस्थाका कारण पढ्न पाउने अवस्था रहेन । शारीरिक रूपरङ कालो वर्णको भएकाले मनमनै दिक्क लागेर आउँथ्यो । त्यसैले सायद मनमा ‘पढ्यो भने अनुहार नराम्रो भए पनि मलाई राम्रो मान्लान्’ भन्ने लाग्यो ।
परिवारमा खै किन हो, अरू सदस्यभन्दा मलाई हेला गर्थे । एकदिन जेठा दाइलाई बाले स्थानीय हाटबाट चप्पल ल्याइदिएछन् । तर, बाले मलाई चप्पल ल्याइदिएनछन् । त्यही भएर आमा बासँग रिसाउनु भयो, झगडा गर्नु भयो । लामोसमय तुषारो, शीत र स्याँठीमा खालीखुट्टाले नै काम गरियो । फाटेका लुगाफाटा लगाइयो ।
विद्यालयको पठनपाठन आधाउधि जाँदा किताब, कापी, कलमबिनै सुनेरमात्र काम चलाइयो । साथीहरूलाई आफूसँग उपलब्ध ओखर र मलढिँडो दिएर कापीको पाना संकलन गर्थें । बालाई धेरैपटक भनें तर पनि चार कक्षामा पढ्दा ज्यामिति बक्स ल्याएदिएनन् । साइनोले मामा भूपाल परियारले स्थानीय हाटबाट ज्यामिति बक्स ल्याइदिँदाको खुसी पनि अझै सम्झिरहेको छु ।
आँसु पिउँदै दुःखका पहाडहरूमा उकाली–ओराली गर्नु मेरो जीवनको नियति थियो । सबै कहानी भन्न र सुन्न यहाँ सम्भव छैन । स्थानीय हिमालय प्राथमिक विद्यालयमा प्राथमिक तहको शिक्षा पूरा गरें । श्री जनकल्याण माध्यमिक विद्यालय, जुबु गाविस–१, सोलुखुम्बुबाट २०५२ सालमा एसएलसी पूरा गरें । यसबीचका औंलामा गनिने फूल फुले होला, गन्न नसकिने काँडाबीच रमाउन बाध्य भएँ । काँडाबीचबाटै एसएलसीको फूल फुलाएँ ।
प्रवीणता प्रमाणपत्र तहमा पुगेपछि कसो कसो गरेर आमसञ्चार तथा पत्रकारिता विषय पढ्ने अवसर पाएँ । रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंबाट २०६४ सालमा यसलाई जेनतेन टुंग्याएँ । स्नातक तहमा सोही क्याम्पसबाट पुनः आमसञ्चार तथा पत्रकारिता विषयमै निरन्तरता दिएर उत्तीर्ण भएँ । क्याम्पस त्यही तर विषय छनोट फरक गरें, स्नातकोत्तर तहमा राजनीतिशास्त्र विषयले ध्यानाकृष्ट ग¥यो । यसलाई २०७१ सालमा पूरा गरें ।
२०५१ सालमा पहिलोपटक काठमाडौं आएको थिएँ । आउनका पनि विशेष कारण छन् । ०५१ सालमा एसएलसी दिएपछि साथीहरू को–कहाँ पढ्ने भन्ने चर्चा भयो जुन स्वाभाविक हो । एकदिन मेरा सहपाठी बस्नेत थरका मित्रले भनेछन्, म व्यापारी साहुको छोरोले त काठमाडौं गएर पढ्न सक्दिनँ, जाबो एउटा दमाईंँको छोरोले काठमाडौं पढ्न ताक्ने ?
यसअघि समेत पटकपटक स्थानीय क्षेत्री, बाहुन थरका व्यक्तिले मादकपदार्थ सेवन गरी दमाईंंले पढेर के गर्छ ? किन पढ्ने ? भन्दै बालाई र मलाई घरमै आएर धम्क्याउने र तर्साउने काम गर्थे । मेरा लागि यिनै व्यक्तिहरू पढ्नका लागि प्रेरणाका स्रोत हुन् । सायद उनीहरूको त्यस्तो चोट, अपमान र तिरस्कारको अनुभव नभएको भए आज औपचारिक शिक्षा पूरा हुने थिएन । सहपाठी साथीको चुनौतीलाई स्वीकार गर्न सक्नु मेरा लागि व्यक्तित्व विकासको ढोका खोल्नु रहेछ ।
सोलुखुम्बुको विकट गाउँ र कठिन आर्थिक अवस्थाबाट बाहिर निस्किएर देशको राजधानी काठमाडौं आउनु मेरा लागि काठमाडौंको मानिस अमेरिका पुगेसरह थियो । बरु यो पछिल्लो काम सहज होला । २०५१ सालदेखि काठमाडौंमा बस्न थालेपछिका दिनहरू एक प्रकारले दैनिक अनेक यातना पाएसरह थिए । एक बिरानो ठाउँ, न कोही सहयोग गर्ने न कसैको आशिर्वाद । यो भव्य सहर महानगरमा उकुसमुकुस भइरह्यो । रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दा दिउँसो काम गर्दै, रातको समयमा पढियो ।
पत्रकारिता पढेर केही गरौं भन्ने लाग्यो । त्यसैले नेपाल प्रेस इन्स्टिच्यूट, काठमाडौंले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम सन् २००२ मा हेटौंडामा सहभागी भएकाले पत्रकारिताको पढाइमा सहजता भयो ।
क्रियटीभ कम्युनिकेसन एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले २०६२ सालमा काठमाडौं चलाएको उद्घोषण तालिमले मलाई बोल्न सक्ने बनायो ।
दलित गैरसरकारी संस्था महासंघले आधारभूत कानुनी अधिकार र मूल्यांकन तथा अनुसन्धान गर्न सिकायो । ह्युमन राइटस् ट्रिटी मोनिटरिङ कोअर्डिनेसन कमिटिले प्याक्ट फाइन्डिङ स्किल सिकायो भने स्टुडेन्ट कम्प्युटर इन्स्टिच्यूटले मिडिया ट्रेनर्सलाई दिने तालिममा सहभागी बनाए यस क्षेत्रबारे थप ज्ञान हासिल गर्ने अवसर दियो ।
पत्रकारिता, अध्ययन र अनुसन्धानको निरन्तरताले विषयको गहिराईमा जान सक्ने बनायो । जति पनि भेटघाट गरेका सामाजिक संघसंस्था, व्यक्ति र राजनीतिक दलमा संलग्नहरूसँग संगत गरें, तिनले आआफ्ना क्षेत्रमा तत्तत् विषयको ज्ञानले पकाउँथे मलाई । अक्सर उनीहरूले शिल्पी (कथित दलित) समुदायको इतिहास, संस्कृति र पहिचान त्यस्तो केही नभएको बताउँथे ।
त्यही कुराले एकाएक पत्रकारिताबाट कलासंस्कृति, इतिहास र संगीत क्षेत्रतर्फ डोहो¥याइदियो । सम्बन्धित स्रोतसामग्री संकलन गर्दै यिनै विषयका पुस्तक लेखनतिर अघि बढें ।
एकदिनको घटना हो । जसले त मेरो जीवनलाई गजबको खुड्किलो टेकाइदियो । पुस्तक प्रदर्शनी भइरहेको थियो, भृकुटीमण्डपमा । सत्यमोहन जोशीको नेतृत्वमा अनुसन्धान भएको कर्नाली लोकसंस्कृति खण्ड–५ (साहित्य, संगीत कला) प्रदिप रिमालको पुस्तक पाएँ । त्यसमा कर्नालीको साङ्गोपाङ्गो संस्कृति लगायत शिल्पी समुदायको सांस्कृतिक पहिचान पनि प्रशस्तै उल्लेख रहेछ । मलाई त्यही पुस्तकको अध्ययनबाट राज्यको बेवास्तामा परेको कलासंस्कृति क्षेत्रको अध्ययनमा लाग्ने प्रेरणा दियो ।
एकप्रकारले मरुभूमिको यात्रीले पानीको कुवा भेटेजस्तै भयो । यसै पुस्तकमा उल्लेख भएको कामी (ढालतलवार) नाचको खोजी र छायांकनका लागि २०७० जेठमा कर्नालीमा पर्ने जुम्ला जिल्लाको शनिगाउँ जाने दुस्साहस गरें ।
यसमा विशेष सहयोग गर्ने पदम सुन्दास र जुम्ला, लाम्राका टक्क सार्कीको परिवारको सहयोग सदा स्मरणीय छ । लोकबाजा संग्रहालयले आयोजना गरेको छैंटौं अन्तर्राष्ट्रिय लोकबाजा चलचित्र महोत्सवमा कामी नाच वृत्तचित्र दोस्रो अवार्ड सम्मान प्राप्त भएको रहेछ । यो वृत्तचित्र बेलायतको अर्काइभमा संसारभरको छोटो वृत्तचित्रमा साथै हेर्नैैपर्ने सूचीमा सूचीकृत हुन सफल भएको पनि रहेछ ।
यसबाट अझै हौसिएर मेरै पहलमा प्रथम राष्ट्रिय नौमती–पञ्चैबाजा सम्मेलन गर्ने काम भयो । २०७१ मा राष्ट्रिय सभागृहमा शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्य र संस्कृति मन्त्रालयका सह–सचिव भरतमणि सुवेदीको विशेष आतिथ्यतामा त्यो सम्पन्न भयो । जसमा प्रकाश दर्नालले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
सम्मेलनमा प्रमुख अतिथिले ‘पञ्चैबाजा भनेको नेपाली सङ्गीतको मुटु हो, यो बाजा म¥यो भने अरू बाजाको अस्तित्व पनि मेटिन्छ’ भन्नुभयो । यसै प्रसंगमा, प्रथम पञ्चैबाजा सम्मेलन भोलि गर्नु थियोे । तर, प्रमुख अतिथि कसलाई बोलाउने टुंगो थिएन । अन्त्यमा इतिहास–संस्कृतिविद् सत्यमोहन जोशीलाई बोलाउने तय भयो । पहिलोपटक सोध्दै खोज्दै उहाँको निवास बखुम्बहाल पुगें । प्रमुख अतिथिको रूपमा आइदिन आग्रह गरें । एकैवचनमा ‘हुन्छ’ भन्नुभयो । उहाँको सरलता र सहजता देखेर प्रभावित भएँ ।
अध्येयता क्योरोल टिन्जीको अनुसन्धानमूलक पुस्तकको शीर्षक नै ‘नेपालको धड्कन : पञ्चै बाजा’ राखेको सन्दर्भसमेत जोशीले सम्बोधनमा चर्चा गरेर ऊर्जा थपिदिनु भयो । मलाई यस क्षेत्रमा लाग्न प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोशीको योगदान छ ।
सम्मेलनको खर्च करिब अढाई लाख मेरो एक्लो टाउकोले बोक्नु प¥यो । दिन्छु, सहयोग गर्छु भन्नेहरू क्रमशः लोप हुँदै गएपछि केही समय लगाएर त्यो ऋण तिरें । यसैबेलादेखि कथित दलित भजाएर बोली एउटा र काम अर्कै गर्नेहरूप्रति मेरो विश्वास टुट्यो । आज म जहाँ छु, त्यहाँसम्म आइपुग्दा केही विशेष सहयोगीको साथसहयोग र सल्लाहसुझावले भूमिका खेलेको छ ।
सत्यमोहन जोशीको नेतृत्वमा अनुसन्धान भएको कर्नाली लोकसंस्कृति खण्ड–५ पुस्तकबाटै अत्यन्त प्रभावित भएर अध्ययन, अनुसन्धान, लेखन र रचनात्मक कर्मलाई जारी राखेको छु । जसमा प्रत्यक्ष, परोक्ष सहयोग गर्ने अन्य विद्धान् महोदय र सहकर्मी भए पनि सत्यमोहन जोशीबाट परेको छापले मुख्य भूमिका खेलेको छ ।
जसमा १) सिमान्तकृत आम शिल्पी (कथित दलित) समुदायको कलासंस्कृति र पहिचानको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा पहिलो वकालतकर्ता । २) नेपाल लोकसांस्कृतिक अनुसन्धान प्रतिष्ठानको पहलमा २०६९ मा भएको कार्यक्रममा ‘शिल्पी समुदायको संस्कृति’बारे मेरो पहिलो कार्यपत्र प्रस्तुत ।
३) मेरै लेखन एवं निर्देशनमा बाराका मुसहर र पासवान जातिमा रहेको मौलिक बाजाको लोकधुन संकलन तथा नाचको छायांकन गरी मुसहर नेटुवा वृत्तचित्र पाँचौं अन्तर्राष्ट्रिय लोकबाजा चलचित्र महोत्सवमा प्रदर्शन । ४) सातौं अन्तर्राष्ट्रिय लोकबाजा चलचित्र महोत्सवमा ‘रैथाने दमाईं जातिको दमाहा नाच’ वृत्तचित्र प्रस्तुतिबाट बेस्ट नेपाली फिल्म अवार्ड सम्मान प्राप्त ।
५) नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपालका जातीय संस्कार भाग–३, २०७२ मा कामी जातिको बारेमा अनुसन्धानात्मक लेख तिलबहादुर सुनार र मेरो संयुक्त लेखनमा प्रकाशित ।
६) नेपाल लोकसांस्कृतिक अनुसन्धान प्रतिष्ठानको पहलमा २०७६ सालमा कर्नाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा शिल्पी समुदायको अस्तित्व, इतिहास, पहिचान, मौलिक चाडपर्व, भूगोल, राजकाज आदि विषयवस्तु समेटिएको पहिलोपटक प्रागैतिहासिक उत्खनन् गरी मेरो एकल प्रयासमा अनुसन्धानमा आधारित ‘शिल्पी÷दलित समुदायको सामाजिक–सांस्कृतिक सम्पदा’ (स्थिति विश्लेषण) नामक पुस्तक प्रकाशित ।
७) अल्पसंख्यक रैथाने गन्धर्व जातिको बारेमा ‘नेपालका रैथाने गन्धर्व सभ्यता’नामक पुस्तक (२०७८) संयुक्त लेखनमा प्रकाशित । ८) नेपाल प्रज्ञा–प्रतिष्ठान संस्कृति विभागको अनुसन्धान परियोजनामा मेरो एकल अनुसन्धानमा आधारित ‘गण्डकीका शिल्पी समुदायको मन्त्र सम्पदा’ (२०७८) नामक ऐतिहासिक ग्रन्थ प्रकाशित ।
९) नेपाल लोकसांस्कृतिक अनुसन्धान प्रतिष्ठानमार्फत मेरो पहलमा रैथाने दमाईं जातिको मौलिक संगीत संस्कृतिको रूपमा रहेको पञ्चैबाजाको बारेमा बेलायती नागरिक डा. क्यारोल टिङ्गीले लेखेको ‘हर्टबिट अफ नेपाल ः द पञ्चेबाजा’ अंग्रेजी भाषामा लेखिएको र नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले सन् १९९० मा प्रकाशन गरेको पुस्तकलाई नेपाली भाषामा अनुवादका लागि प्रतिष्ठानमा निवेदनसहित अनुरोध गरेपश्चात् नेपाली अनुवाद गरी प्रज्ञा–प्रतिष्ठानबाट २०७८ सालमा प्रकाशित ।
१०) अनुसन्धानमा आधारित ‘रैथाने दमाईं जातिको लोकजीवन’ नामक पुस्तक संयुक्तलेखन । ११) पत्रपत्रिका, जर्नलहरूमा अनुसन्धानमूलक सामाजिक विषय, कलासंस्कृति र सम्पदासम्बन्धी दर्जनौं लेखरचना प्रकाशित छन् ।
२०७८ पुस ७ गते उहाँकै निवासमा मेरा दुई पुस्तक ‘नेपालका रैथाने गन्धर्व सभ्यता’ र ‘गण्डकीका शिल्पी समुदायका मन्त्र सम्पदा’ लगेर विमोचन गराएँ । ‘धेरै महŒवपूर्ण काम गर्दै हुनुहुँदो रहेछ ।
अझै राम्रो गर्दै जानुस्’ भनेर उहाँले ऊर्जा र प्रेरणा भरिदिनु भयो । उहाँबाट मलाई सबैभन्दा बढी प्रेरणा मिलेको चाहिँ उहाँको सबै समुदायका संस्कृतिप्रतिको समभाव, समानता र सहृदयता नै हो ।
उहाँले देशका सबै संस्कृतिलाई बराबरी स्नेह, माया, समानता र चासो राखेबाट अत्यन्त प्रभावित बनायो । कामी नाचको वृत्तचित्र बनाउने क्रममा सत्यमोहन जोशीले भन्नुभएथ्यो– ‘कर्नाली–भेरी क्षेत्रमा अहिले पनि त्यो दमाईंमा, कामीमा र सुनार धामीझाँक्रीमा बाबिरो मष्ट देवता चढ्यो भने त गोसाइँ महाराज, गोसाइँ भन्दै ब्राह्मण जातिले पनि आएर ढोगिहाल्छन् नि ।’ यस तथ्यले नेपाली समाजमा विगतमा कुनै पनि विभेद नरहेको बुझिन्छ । यसले झनै प्रभावित बनाएको छ ।
यसरी संस्कृति, इतिहास, पहिचान, शिल्पकौशल, सम्पदा र सभ्यताबारेका लेखहरूमा समेत वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी मेरो पथप्रदर्शक हुनुहुन्छ । सत्मार्गमा डोहो¥याउने उहाँजस्तो व्यक्तित्वप्रति नमन ।