मधेसका समस्या गम्भीरतापूर्वक उठाउँछु : एमाले सचिव महासेठ

धनुषा, मंसिर १७

नेकपा (एमाले)का सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताउनुभएको छ ।

प्रेस चौतारी धनुषाद्वारा जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा एमाले मधेस प्रदेशका इञ्चार्जसमेत रहनुभएका महासेठले मधेसको हरेक समस्यालाई गम्भीर रुपमा लिएको र यसलाई सशक्त रुपमा सदनमा उठाउने बताउनुभयो ।

जनताको विश्वास र भरोसामा एमाले अगामी दिनमा खरो रुपमा उत्रने बताउनुहुँदै उहाँले सरकार गठन भएको तीन महिनाभित्र नागरिकताको समस्या समाधान गर्न लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।

मधेस प्रदेशमा एमाले ठूलो पार्टी भएकाले मुख्यमन्त्री हुने स्वाभाविक भएको बताउनुहुँदै उहाँले यस विषयमा अरू सहयोगी दलसँग पनि सहकार्य हुने र त्यसका लागि छिट्टै पहल सुरु गरिने बताउनुभयो । जनताको अपेक्षाअनुसार नै आफ्नो पार्टीले ठोस एजेन्डाका साथ संसद्मा प्रस्तुत हुने उल्लेख गर्दै महासेठले मुलुकको विकास र समृद्धि एमालेकै नेतृत्वमा सम्भव रहेको दाबी गर्नुभयो ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?