कांग्रेसमा ‘अन्तर्घात’को कलह

केशवप्रसाद पाण्डे

प्रतिनिधिसभातर्फ ९१ क्षेत्रमा चुनाव लडेको कांग्रेसको आन्तरिक विश्लेषण थियो– कम्तीमा ७० क्षेत्रमा सहजै चुनाव जितिन्छ । तर, चारवटा क्षेत्रको परिणाम आउन बाँकी रहँदा कांग्रेसले ५४ मा मात्रै जित निकालेको छ, एकमा अग्रता लिइरहेको छ ।

जित निश्चित भएको सूचीमा राखेका २५ सिट गुमाएको छ । अनपेक्षित परिणामबारे कांग्रेस नेताहरूको निष्कर्ष छ– पार्टीभित्रैबाट अन्तर्घात भयो । संस्थापन र इतर समूहका नेताहरू एकले अर्कालाई असहयोग गरेको गुनासो गरिरहेका छन् ।

निर्वाचनपूर्व कांग्रेसमा पाँचदलीय गठबन्धनलाई निरन्तरता दिँदै तालमेल गरेर जानुपर्ने संस्थापन पक्ष र एक्लै चुनाव लड्नुपर्ने शेखर कोइराला–गगन थापा समूहबीच निकै ठूलो विवाद थियो ।

विवाद सैद्धान्तिक तहमा मात्र होइन, प्रत्यक्ष र समानुपातिकतर्पmको टिकट बाँडफाँडका वेला पनि दुई समूहबीच उत्तिकै ठूलो तनाव भएको थियो । नेताहरूको बुझाइमा त्यही विवाद अन्तर्घातको तहसम्म पुगेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयमा अनौपचारिक रूपमा आएका उजुरीमा ‘आकांक्षी रहे पनि टिकट नपाएका नेताले चुनावमा असहयोगी भूमिका खेलेको’ उल्लेख छ । यद्यपि, कडा प्रतिस्पर्धा हुने सूचीमा राखिएका केही क्षेत्रमा भने कांग्रेसले जित निकालेको छ ।

उम्मेदवारीलाई लिएर कांग्रेसभित्र कुन तहको असन्तुष्टि थियो भन्ने बुझ्न उसले गरेका कारबाहीकै सूची नै काफी छ । निर्वाचनअघि प्रतिनिधिसभा र प्रदेश सभामा बागी उम्मेदवारी दिने ८२ जनालाई पार्टीबाट निष्कासित गरेको थियो ।

कांग्रेसले तीनपटक गरी पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गर्ने उम्मेदवारलाई कारबाहीको सूचना निकालेको थियो । कारबाही पर्नेमा केन्द्रीय सदस्य दिनेश कोइराला र निवर्तमान सांसद अमरेशकुमार सिंहलगायत थिए । कांग्रेसले यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारबाही गरेको थियो । कांग्रेसका बागीकै कारण गठबन्धनका अन्य दलले पाएका कतिपय सिट पनि गुमेका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तर्घातको समस्या देखिएको बताए । अन्तर्घातकै कारण पार्टीले विगतमा एक्लै निर्वाचन जितेका स्थानमा पनि पाँचदलीय गठबन्धन हुँदासमेत परिणाम निकाल्न नसकेको उनले बताए । ‘यो निर्वाचनमा पार्टीभित्रबाटै असहयोग र अन्तर्घात एकदमै देखिएको छ ।

जसकारण हामीले अपेक्षा गरेभन्दा करिब १५ सिट जित्न सकेनौँ । साथीहरूकै असहयोगले हामीले गुमायौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

संस्थापन पक्षका नेता श्रेष्ठले गठबन्धनका सहयात्री दलहरूबाट भने बद्मासी नभएको दाबी गरे । ‘कांग्रेसले अधिकतम रूपमा गठबन्धनमा आबद्ध अन्य दललाई सहयोग गरेको छ । अरू दलबाट कांग्रेसले पनि उत्तिकै सहयोग पाएको छ । सबै दलमा भोट ‘गिभ एन्ड टेक’ भएको छ,’ उनले भने ।

रोल्पा (२) बाट उम्मेदवार रहेका इतर समूहका नेता तथा कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पनि पार्टीभित्रैबाट ठूलो अन्तर्घात हुँदा आफू पराजित हुनुपरेको बताए । ‘ मुख्य रूपमा पार्टीभित्रैबाट असहयोग रह्यो ।

संस्थापन पक्षले मलाई भन्दा पनि माओवादीको विद्रोही उम्मेदवारलाई सघायो,’ उनले भने, ‘उहाँहरू मिटिङ र छलफलमा पनि अर्को उम्मेदवारलाई सघाउन लाग्नुभयो । कांग्रेसका साथीहरू चुनावी सभामा पनि भोट माग्नेभन्दा पनि ‘भोट दिए देऊ नदिए नदेऊ’ भनेजसरी प्रस्तुत हुनुभयो । हामी पार्टीमा जुन समूहको भए पनि पार्टी जिताउन लाग्नुपर्छ भनेर लाग्यौँ, तर संस्थापन समूह हराउन लागिपर्‍यो ।’

निर्वाचन परिणामपछि कांग्रेस नेताहरूले औपचारिक–अनौपचारिक रूपमा अन्तघार्तको विषय उठाउन थालेका छन् ।

केही उदाहरण

– एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा कांग्रेस नेता बलबहादुर केसी पराजित बने । नतिजासँगै कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले परिणामबारे तत्कालै समीक्षासहितको विज्ञप्ति जारी गर्दै पार्टीकै नेताहरूको असहयोग र अन्तर्घातका कारण पराजय भोग्नुपरेको बतायो ।

कांग्रेस जिल्ला सचिवद्वय भलाकानी राई र युवराज घिमिरेले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा र सोलु–दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पाको असहयोग र अन्तर्घातका कारण पराजित भएको उल्लेख छ ।

‘केन्द्रीय सदस्य आङगेलु शेर्पा, जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पा र सोलु–दूधकुण्ड नगर सभापति सोनाम ग्याल्जेन शेर्पासमेतको नेतृत्वमा सघन रूपमा असहयोग र अन्तर्घातका कारण कांग्रेस उम्मेदवार पराजित भएको यथार्थ स्पष्ट भयो,’ विज्ञप्तिमा छ । केसी दुई हजार ७७९ को मतान्तरले पराजित बनेका थिए ।

उनलाई एमालेका मानवीर राईले १९ हजार ३२४ मत ल्याएर पराजित गरेका थिए । केसीले १६ हजार ५४५ मत पाए । कांग्रेसले आन्तरिक मूल्यांकनमा केसीको नाम निर्वाचित हुने सूचीमा राखेको थियो ।

– काभ्रे २ को नतिजा सार्वजनिक भएलगत्तै कांग्रेसका उम्मेदवार शिव हुमागाईंले पार्टीभित्रको असहयोग र अन्तर्घातकै कारण आफूले पराजय व्यहोर्नुपरेको सार्वजनिक अभिव्यक्ति दिए । स्थानीय तहको नतिजासमेतको आधारमा कांग्रेसले हुमागाईंलाई जित्ने सूचीमा राखेको थियो ।

हुमागाईं पाँच हजार ८६३ को मतान्तरले एमालेका गोकुल बाँस्कोटासँग पराजित बने । बास्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ४८२ मत पाए । ‘यहाँ लोकतान्त्रिक–वाम गठबन्धनलाई धेरै घेराबन्दी थियो ।

कांग्रेस पार्टीभित्रबाट पनि पराजित गराउन घेराबन्दी गरिएको थियो र चक्रव्युहमा राखिएको थियो । बाहिरबाट पनि घेराबन्दी गरिएको थियो,’ परिणामलगत्तै धुलिखेलमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा हुमागाईंले भनेका थिए । काभ्रेबाट गठबन्धनका उम्मेदवारले चार प्रदेश सभा र काभ्रे १ मा जित निकाल्दा उनी पराजित बनेका थिए ।

उनले पार्टीमा अन्तर्घातको समस्याबारे तत्काल मुख नखोल्ने प्रतिक्रिया दिए । ‘निर्वाचनपछि मतदातालाई धन्यवाद दिने अभियानमा छु । कांग्रेसमा अन्तर्घातको समस्या छ । यसबारे पछि आफ्नो कुरा राख्नेछु,’ उनले नयाँ पत्रिकासँग भने ।

– अर्घखाँचीबाट निवर्तमान उपसभामुखसमेत रहेकी पम्फा भुसाल एक हजार ७३० को मतान्तरले एमाले उम्मेदवार टोपबहादुर रायमाझीसँग पराजित बनिन् । रायमाझीले ४२ हजार ६७५ मत पाउँदा भुसालले ४० हजार ९४५ मत पाएकी थिइन् । भुसाल पनि निर्वाचन जित्ने सूचीमा नै थिइन् । परिणामपछि गठबन्धनका जिल्ला तहका नेताहरूको बैठकमा भएको समीक्षामा पार्टीका आन्तरिक समस्याले निर्वाचनमा भुसालले हार खानुपरेको उल्लेख छ ।

– पाँचथरमा सहमहामन्त्री भीष्मराज आङदेम्बे ४७ मात्रको मतान्तरले एमालेका वसन्त नेम्वाङसँग पराजित बने । नेम्वाङले ३२ हजार ११० मत पाउँदा आङदेम्बेले ३२ हजार ६३ मत पाएका थिए । उनी पनि बालुवाटारको चुनाव जित्ने सूचीमा थिए । आङदेम्बे पार्टीको आन्तरिक पंक्तिमा अन्तर्घातका कारण निर्वाचनमा झिनो मतले पराजय भोग्नुपरेको नेताहरू बताउँछन् ।

– प्रदेश १ मा मुख्यमन्त्रीका रूपमा चर्चामा रहेका कांग्रेस नेता गुरुराज घिमिरे मोरङ ४ (क) बाट पराजित भए । उनी चार सय ६ मतान्तरले पराजित बने । परिणामअनुसार १५ हजार ५० मत पाएका थिए भने उनका प्रतिस्पर्धी एमालेका जयप्रकाश चौधरीले १५ हजार ४६५ मत पाएका थिए । त्यस्तै, रोल्पा (ख) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पराजित भए ।

उनको क्षेत्रमा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन मगरले चुनाव जिते । पुनलाई कांग्रेसबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । पुन चार हजार ५२१ मतान्तरले पराजित भएका थिए । पुनले १० हजार ४०६ मत पाएका थिए भने र मगरले १४ हजार ९२७ मत पाएका थिए । दुवै नेता आफ्नो पार्टीमा गठबन्धन गर्न नहुने पक्षमा वकालत गर्ने र संस्थापनविरुद्ध सशक्त रूपमा आवाज उठाउनेमा पर्छन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि परिणाम अपेक्षित नभएको बताउँछन् । उनी यसबारे जिल्लाबाट अध्ययन भइरहेको र रिपोर्टका आधारका कारबाही गरिने बताए । ‘जित्ने सूचीमा रहेका ठाउँमा थोरै मतान्तरमा पराजित भएको अवस्था छ । यस विषयमा जिल्लाबाट जानकारी लिने काम भइरहेको छ । पार्टी हितविपरीतको गतिविधि भएको पाइएमा विधानमा कारबाहीको स्पष्ट व्यवस्था छ । कारबाही गर्छौँ,’ उनले नयाँ पत्रिकासँग भने । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा पनि अन्तर्घात समस्याका रूपमा आएको कांग्रेसकै प्रतिवेदन थियो ।

सोचेअनुसारको परिणाम नआउनुमा अन्तर्घात नै मुख्य हो


गोपालमान श्रेष्ठ कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति

पार्टीभित्रैको अन्तर्घातका कारण कतिपय नेताले हार व्यहोर्नुपर्‍यो भन्ने आवाज कांग्रेसमा उठेको छ, यो कत्तिको सत्य हो ?
निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनेको छ । तर, पहिलो पार्टी बन्दा जति सिट फरक हुनुपथ्र्यो त्यो हुन सकेन । पार्टीभित्रबाटै असहयोग र अन्तर्घात एकदमै देखिएको छ, जसकारण हामीले अपेक्षा गरेभन्दा करिब १५ सिट जित्न सकेनौँ । आफ्नै साथीहरूको असहयोगले गुमायौँ । सरकार बनाउन पनि अब गठबन्धनबाहिरबाट तानतुन पार्नुपर्ने अवस्था बन्यो । कांग्रेसले अधिकतम रूपमा गठबन्धनमा आबद्ध अन्य दललाई सहयोग गरेको छ । अरू दलबाट कांग्रेसले पनि उत्तिकै सहयोग पाएको छ । सबै दलमा भोट ‘गिभ एन्ड टेक’ भएको छ ।

के कारणले भयो अन्तर्घात ?

०७४ मा उजुरी आएकोमा पार्टीले १४औँ महाधिवेशनअघि सबैलाई माफी दियो । कसैलाई पनि कारबाही गरेन । फलस्वरूप पार्टीमा अनुशासनको महŒव रहेन । अन्तर्घात गरेका कतिपय त पुरस्कृत हुने अवस्था पनि आयो । अन्यथा कम्तीमा पनि ७० सिट हामीले जित्ने अवस्था थियो । उम्मेदवार नहुँदा समानुपातिकमा पनि भोट घटेको छ । आफ्नो समूहको नभएको र टिकट नपाएका असन्तुष्टले यस्तो गरेको देखिन्छ ।

कांग्रेसको भोट घट्नुलाई अन्तर्घात मात्रैलाई मान्न सकिन्छ ?

सोचेअनुसारको परिणाम नआउनुमा अन्तर्घात नै मुख्य हो । अन्तिम समयमा आएर नयाँ पार्टी पनि मैदानमा आए । किन हारियो भन्दा ‘हाम्रै साथीहरू घाम ताप्न गए’ भन्ने जवाफ पनि आएका छन् । निर्वाचन परिणाम सँगसँगै साथीहरूले प्रतिवेदन तयार गर्दै हुनुहुन्छ । निर्वाचन समितिले सातै प्रदेशबाट रिपोर्ट मगाएको छ । प्रदेश १ मा हामीलाई धेरै घाटा देखिएको छ ।

धेरै साथीले हार्नुभयो । प्रदेश सभामा पनि हामीले जितिरहेका स्थानमा हार व्यहोर्नुपर्‍यो । हामीले जित्दै आएको सुनसरीका तीनमध्ये दुई स्थान हारिसकेका छौँ । रूपन्देहीमा पनि त्यस्तै भयो । यस्तै–यस्तै ठाउँको प्रारम्भिक मूल्यांकन गरेका छौँ ।

कारण ०७४ को संकटमा एक्लै जितेका क्षेत्र पनि अहिले आन्तरिक कारणले हारेका छौँ । तीन भोटदेखि हारेको अवस्था पनि छ । हारेकाले पनि हाम्रै साथीका कारण हार व्यहोर्नुपर्‍यो भन्नुभएको छ, कतिपयले तथ्य पनि दिनुभएको छ ।

अन्तर्घातमा संलग्नहरूलाई पार्टीले कारबाहीको दायरामा ल्याउँछ कि अघिल्लोपटक जस्तै माफी दिन्छ ?
जिल्लामा यसबारे अध्ययन भइरहेका छन् । प्रतिवेदन मगाएका छौँ । आएपछि अनुशासन समितिमार्फत कारबाही गर्छौँ । कारबाही हुन्छ ।

पार्टीको संस्थापन पक्षले माओवादीका विद्रोहीलाई सघायो


अमरसिंह पुन रोल्पा (ख)बाट पराजित कांग्रेस उम्मेदवार

पराजित हुनुभयो, कमजोरी के भए ?

मुख्य रूपमा पार्टीभित्रैबाट असहयोग रह्यो । संस्थापन पक्षले मलाई भन्दा पनि माओवादीको विद्रोही उम्मेदवारलाई सघायो । उहाँहरू मिटिङ र छलफलमा पनि अर्को उम्मेदवारलाई सघाउन लाग्नुभयो । कांग्रेसका साथीहरू चुनावी सभामा पनि भोट माग्नेभन्दा पनि ‘भोट दिए देऊ नदिए नदेऊ’ भनेजसरी प्रस्तुत हुनुभयो ।

हामी पार्टीमा जुन समूहको भए पनि पार्टी जिताउन लाग्नुपर्छ भनेर लाग्यौँ, तर संस्थापन समूह हराउन लागिपर्‍यो ।

गठबन्धन दलको सहयोग कस्तो रह्यो ?

यो क्षेत्रमा माओवादीको पकड छ । औपचारिक कार्यक्रममा पूरापूर सहभागी भए । तर, भोट हाल्ने समयमा घात गरे । ‘भोट ट्रान्सफर’मा सहयोग भएन । आन्तरिक रूपमा उहाँहरू पनि हराउने भूमिकामा देखिनुभयो ।

अन्तर्घातको असर समग्र कांग्रेसमा कस्तो पर्ला ?

देशव्यापी पर्छ । पार्टीलाई देशभरबाट ठूलो क्षति पुगेको छ । मैले पार्टीमा गठबन्धन गर्नुहुँदैन भनेर मत राखेको हो । तर, पार्टीको निर्णयपछि कार्यान्वयनमा इमानदार भएर लागेँँ । मलाई व्यक्तिगत रूपमा चुनाव जित्न समस्या थिएन । एमालेका साथीहरूले जिताउने प्रस्ताव ल्याउनुभएको थियो । तर, पार्टीलाई घात गरेर त्यसो गर्न लागिनँ ।

नयाँ पत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?