झट्का दिने निर्वाचन

विचार

भागवत खनाल

हालै सम्पन्न निर्वाचनले पनि पुराना नेताहरूको निर्णायक प्रभुत्व कायमै राख्यो। आधारभूतरूपमा यसले पनि उति धेरै भरोसा दिलाउन सकेन। तथापि यो निर्वाचनले उकुसमुकुसमा परेका जनतालाई थोरै सास फेर्ने मौका प्रदान गरेको छ।

किञ्चित भए पनि राहत र सन्तुष्टि मिलेको छ। लोकतन्त्रका उज्याला पक्षहरू प्रकाशित र प्रदर्शित भएका छन्। प्रकट गरे पनि नगरे पनि यो निर्वाचनले पदासीन प्रधानमन्त्रीलाई असिनपसिन बनायो। मत गणनामा विजयी भए तापनि निर्वाचनको मूल मर्म र सिद्धान्तको हिसाबले यो उनको निर्मम पराजय हो।

कुनै साधन, स्रोत र सहाराबिना गुल्मीको गुमनाम युवक उनलाई ललकार्दै घरभित्रै छिर्‍यो। सम्पत्ति र शक्तिको नाममा त्यो युवकसँग हिम्मतबाहेक केही थिएन। आज राजनीतिक जीवनको यो मुकाममा वृद्ध नेताको व्यक्तित्वमा कठोर आघात पुगेको छ।

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर एकमा देउवाका राजनीतिक सहयात्री प्रकाशमान सिंहले हासिल गरेको भन्दा झन्डै दोब्बर मत प्राप्त गरेर त्यो युवक बडो सानसँग पूर्वतर्फ फर्कन सफल भएको छ। पर्यवेक्षकको नजरले हेर्दा यो देउवाका लागि कष्टदायी नैतिक पराभव हो।

यो निर्वाचनमा प्रकाशमान सिंह पनि जितेर हार्ने पात्र हुन्। उनका अति निकट प्रतिद्वन्द्वी रवीन्द्र मिश्र ज्यादा अस्थिर र अत्यन्तै मुखरित स्वभावले गर्दा पराजित हुन पुगे। उनी जुझारु र प्रतिभासम्पन्न व्यक्ति हुन्। किन्तु समयको पदचाप सुन्नुको बदला समयलाई आफ्नो पदचाप सुनाउन आतुर भए उनी। काठमाडौंमा प्रकाशमान सिंह जितेर हारे भने रवीन्द्र हारेरै हारे।

दुवैको अवस्था खुब राम्रोसँग देखियो। यो निर्वाचनले नेकपा एमालेलाई पनि आफ्नो अवस्था देखाएर आकारमा राखिदियो। पूर्ण बहुमतका रुमानी महलहरू हेर्दाहेर्दै ढलेर ध्वस्त भए। परिणामले धेरै धाक धक्कु र अभिमान ठीक होइन भन्ने पाठ सिकाएको छ।

उता एमालेलाई धुलोमा मिलाउने धम्की दिने पूर्वएमालेहरू आफैं धुलिसात भए। अनेकौं आन्तरिक गल्ति र वाह्य दबाबका कारण अपार क्षति व्यहोरे। तर पनि एमालेले हुलमुलमा ज्यान जोगाएको छ।

सम्पन्न निर्वाचनको परिणामस्वरूप केही तारा झरे भने केहीको अभ्युदय भयो। अनाहकमा दम्भ प्रदर्शन गर्ने केही उचक्काहरूले मिठो जवाफ पाए। मतदाताले ठूला दलमाथि सुदर्शन चक्र नचलाए पनि अश्रुग्याँसका गोला हानेर हम्मेहम्मे पारेका छन्।

यो कारबाही नोकरीबाट बर्खास्त गर्ने बिभागीय सजाय होइन तापनि ठूलो नसिहत सहितको घटुवा हो। विशेष गरेर वयोवृद्ध नेताहरू सम्मानित ‘नेतावृन्द’ बन्न सकेनन्। निर्वाचनको तमाम सेरोफेरो जनअभिमत माग्नेमा भन्दा पनि आपसी उपहास र निन्दामा बित्यो। लज्जा ग्रन्थीको अवसान भएको हुँदा उनीहरूमा कुनै ग्लानी देखिँदैन। यद्यपि जनताको हृदयको प्रत्येक स्पन्दन भने अवश्य नै व्यथित र चोटग्रस्त छ।

केही हस्तीहरू पराजयको पीडामा मर्माहत होलान्। केही भने आच्छुआच्छु गर्दै धन्न जितियो बा ! भन्दै होलान्। यो निर्वाचनले प्रचलित पद्धतिभित्रै परिस्थिति परिवर्तन गर्ने गुन्जायस छ भन्ने देखाएको छ। परिवारवादीहरू झस्केका छन्। गठबन्धनका संयोजक र प्रभारीहरू अर्को दलको मत आफ्नो पक्षमा ‘ट्रान्सफर’ भएन भनेर दुःखी र आक्रोशित छन् रे। गठबन्धन नेताहरूले गरेका थिए।

सार्वभौम जनमत गठबन्धनको पक्षमा थिएन। मतपत्रमा आफूले मन पराएको चुनाव चिन्ह गायब भएको पाउँदा जनताको चित्त दुखेको छ। एकातिर गठबन्धनका वामपक्षीय नेताहरू रुष्ट छन्, अर्कातिर कांग्रेसका गृहमन्त्रीको हरिबिजोग भयो। श्रीमान्–श्रीमती दुवैजना सदनमा छिर्ने स्वार्थी अभिलाषाका कारण पनि नेपाली कांग्रेसको समानुपातिकतर्फको मत घट्न गएको लख काट्न कठिन छैन। जनताले सबैलाई आआफ्नो औकात देखाइदिएका छन्।

आशा छ, आगामी प्रतिनिधि सभा तुलनात्मकरूपमा गहकिलो हुनेछ। खुलेआम मनपरी गर्न कठिन हुनेछ। हल्का टिप्पणी, उपहास र अनर्गल हँसीमजाकमा थोरै लगाम लाग्नेछ। पुराना दलमा पनि केही भरोसालाग्दा युवाको प्रवेश भएको छ। मै हुँ भन्ने कतिपय नेताहरू बल्लतल्ल झिनो मतको फरकमा जित्दा तोबा तोबा भएका छन्। भविष्यमा पैसाले मत किन्न मुस्किल हुने लक्षण देखिएको छ।

केही अवाञ्छित अनुहारहरू हार्दा परोक्षरूपमा सम्बन्धित दललाई नै फाइदा पुगेको छ। पार्टीको सिट संख्या घट्ने जोखिम मोलेरै पनि हर्ताकर्ताहरूले आफूले नरुचाएका लोकप्रिय व्यक्तिहरूलाई टिकटबाट वञ्चित गरेका छन्। निषेधको यो प्रवृत्ति आलोचना र प्रश्नप्रतिको निर्मम असहनशीलता हो। यो मामिलामा नेकपा एमाले र नेपाली कांग्रेसले विशेष अपयश कमाएका छन्।

निर्वाचनले केही प्रश्नकर्ताहरूलाई उत्तर दिनुपर्ने स्थानमा पुर्‍याएको छ। यहाँ विषयहरू यसरी अल्झेका र मार्गहरू यसरी अवरुद्ध छन् कि संसद्भित्र छिरेपछि के गर्ने र कसो गर्ने भन्ने ठूलो अन्योल हुनेछ। नयाँ अनुहारहरूबाट जति आशा गरिएको छ, अपरिपक्वताको सम्भावना पनि उत्तिकै प्रबल छ। पहिलोपटक संसदमा पुग्ने पार्टीलाई राज्य सञ्चालनको चक्रब्यूह बुझ्न कठिन हुनेछ।

सरकारमा जाँदा मन्त्रीले बाटो बिराउने डर छ भने नजाँदा पार्टीमा विग्रहको डर। राजनीतिमा सत्ताको लोभले उम्दा पात्रलाई पनि गलाउँछ। लोभरूपी दैत्य जाग्यो भने नयाँहरूलाई पनि खान बेर छैन। सत्ताको भुलभुलैयामा सुरुसुरुमा हुने इमानको अभ्यास शनैः शनैः अभिनयमा परिणत हुने पनि खतरा छ।

अहिलेको मूल प्रश्न नै सत्य, न्याय र सदाचारलाई कसरी स्थापित गर्ने भन्ने हो। आफूले मन पराएका मानिसको हरेक दुष्कर्मको ढाकछोप गर्ने प्रवृत्ति मूल राजनीतिक नेतृत्वमा छ। ‘सकेको गरिन्छ’ भनेर खुलेआम गर्जना गर्ने लज्जाहीन पात्रहरू पनि सानसँग संसद्भित्र छिर्दैछन्। गलत प्रवृत्तिको आलोचनाप्रति निर्वस्त्र अट्टहास गर्नेहरू अझै पनि पूर्णरूपेण निषेधित भएका छैनन्।

यी सबै प्रवृत्ति हाम्रो संस्कृतिका अभिन्न आयाम हुन्। यो संस्कृतिभित्र नेपाली समाजको अनुहार देखिन्छ। अरूको औकात देखाइदिने क्रममा जनताले आफ्नो औकात पनि देखाएका छन्।

यसबाट के स्पष्ट भएको छ भने ऐनामा आफ्नो अनुहार हेरेर लाज मान्ने जनमत घनीभूत हुन अझै केही समय लाग्नेछ। तथापि अबको सदनमा छिर्ने युवा पुस्ताका सामु लाज बिर्सेका पुराना खेलाडीहरूले अलि तलसम्म छोपिने गरी पोशाक लगाउन वाध्य हुने अनुमान गर्न कठिन छैन।

यो निर्वाचनमा राप्रपाले गरेको उन्नति र अभिवृद्धिलाई राजतन्त्रप्रति जनताको आस्था र निष्ठाको प्रतीकको रूपमा लिइएको पनि सुनियो। राप्रपा आफैं गणतन्त्रवादको बैशाखीमा उभिएको पार्टी हो। जसको बैशाखी त्यसैको विकल्प असम्भव कुरा हो।

हालको अवस्थामा राप्रपाले वैकल्पिक शक्तिको स्थान ओगट्ने सम्भावना क्षीण छ। यसले केवल एउटा सन्देश छाड्नेछ र परम्परागत शक्तिको पनि श्वासप्रश्वास चलिरहेको छ भन्ने संकेत मात्र दिनेछ। सायद यो नै राप्रपाको औकातको उच्चतम विन्दु हो।

अत्यन्त छोटो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन अवस्था देखाएको छ, त्यो नेपाली राजनीतिक खेल मैदानको कोसेढुंगो हो। नेपाली जनताले कहीँकतै चर्चामा नआएका गुमनाम र एकदमै युवा वयका उमेद्वारहरूलाई मतदान गरेर पुराना खेलाडीहरूको कद होचो पारिदिएका छन्।

राजनीतिक खेलको व्यावहारिक अनुभव हासिल नगरेको एक जागरुक र केही गरौं भन्ने तीव्र अभिलाषा राख्ने युवकको नेतृत्वलाई आम जनताले भरोसा गरेको देखिएको छ। यो स्वस्थानी कथामा वर्णित हात्तीले माला लगाएर राजा बनाएको जस्तो घटना होइन। तथापि चुनौतीहरू धेरै छन्।

सत्ता निर्माणका सिलसिलामा रवि लामिछानेकहाँ पनि ‘अफर’हरू आउनेछन्। राम्रोसँग संगठित हुन नपाउँदै सत्ताको बास्नाले वशीभूत हुनबाट जोगिन र जोगाउन कठिन छ। भ्रष्टाचारलाई शिष्टाचार मान्ने संस्कृति छ यहाँ। को कहाँनेर चालै नपाई लोभानीपापानीको जञ्जालमा फस्छ भनेर अनुमान गर्नै मुस्किल। रविका लागि सबैभन्दा चर्को चुनौती पार्टीलाई एक ढिक्का राख्नु हुनेछ।

पार्टीलाई जोगाएर राख्न सके र सबैजना निष्कलंक रहे भने भविष्य उज्ज्वल छ। स्वतन्त्र पार्टी कुकामको प्रतिक्रियामा जन्मेको हो। ऊ आफू पनि त्यही कुकामको साक्षी र साझेदार बन्यो भने जनताको भरोसामाथि ठूलो कुठाराघात हुनेछ।

राजनीतिज्ञहरूको आआफ्नो ‘प्रकार’ हुन्छ। गगन थापा आन्दोलनले निर्माण गरेका प्रखर नेता हुन्। अहिले प्रधानमन्त्री पदको आकांक्षा राख्नासाथ उनीमाथि लाञ्छना र प्रश्नको ओइरो लागेको छ। उनले पार गर्नुपर्ने सत्तारोहणको बाटो बडो दुरुह र कण्टकमय देखिन्छ। रवि जनताको असन्तुष्टिले निर्माण गरेका अनुपम हस्तक्षेप हुन्। उनी व्यथिति र स्वेच्छाचारविरुद्ध शान्त विद्रोहका नायक हुन्।

अहिले भूमिका फेरिएको छ। भावुक उद्गार र आलोचनाले मात्र अब काम गर्दैन। माधव नेपाललाई मान्ने मानिस धेरै थिए। किन्तु उनमा ‘पछि लागेर हिँड्दा मजा लाग्ने’ खालको व्यक्तित्व रहेनछ। समयले उनलाई विश्राम गर्ने सन्देश दिइसकेको छ।

प्रचण्ड विकराल इतिहास बोकेका पात्र हुन्। आज उनको करिश्माको समय सकिएको छ। तथापि हालको सन्दर्भमा पनि उनी र सत्तासम्म पुग्ने बाटोका माहिर बटुवा हुन्। रवीन्द्र मिश्र संसद्मा छिर्ने अति लालसाले गर्दा भयानक रूपमा अस्थिर भए।

साह्रै हतारिलो स्वभावले गर्दा उनी आफैंले निर्माण गरेको संरचना भत्काउन पुगे। देउवा कम बोल्ने र देश एवं पार्टीबारे खासै चिन्ता नभएका नेता हुन्। उनको सत्तामुखी व्यवहारवाद अद्भुत छ।

बाठा देखिनेहरू कुर्लिरहेका हुन्छन्। उता देउवा भने भित्रभित्रै प्वाल पार्नमा तल्लीन। सत्ताको लोभ गर्नेहरूका लागि उनको काख ज्यादै न्यानो छ।

केपी ओली चलाख र परम अध्ययनशील नेता हुन्। उनी वाणीमा निपुण र प्रवीण छन्। किन्तु त्यही वाणी कहिलेकाहीँ भारी भइदिन्छ। उनीमाथि साह्रै अभिमानी भएको आरोप छ।

तर सायद यिनै विशेषताले नै उनी ‘केपी ओली’ भएका हुन्। सममसामयिक राजनीतिमा आफ्ना प्रशंसकहरूलाई असीम माया दिने र संरक्षण गर्ने अनुपम नेता हुन् उनी। यतिका विशेषता हुँदाहुँदै पनि केपी ओली सत्ता मार्गका माहिर बटुवा भने होइनन्।

आगामी प्रतिनिधि सभा तुलनात्मकरूपमा गहकिलो हुनेछ। खुलेआम मनपरी गर्न कठिन हुनेछ। हल्का टिप्पणी, उपहास र अनर्गल हँसीमजाकमा थोरै लगाम लाग्नेछ। पुराना दलमा पनि केही भरोसालाग्दा युवाको प्रवेश भएको छ।

अन्नपूर्ण पाेस्ट्

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?