हिंसा र विभेद अन्त्यका लागि मानवअधिकारमैत्री संस्कृतिको विकास गर्न आवश्यक रहेकामा जोड दिइएको छ ।
अन्तरर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले मानवअधिकारमैत्री संस्कृतिको विकासले नै समाजका सबै खाले विकृतिको अन्त्य हुँदै जाने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकार आयोगका प्रमुख सोमनाथ सुवेदीले मानवअधिकारको रक्षा र हिंसा अन्त्यका लागि विद्यालय तहबाटै नैतिक शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
समाजमा कुनै पनि छोरीले हिंसा भयो भनेर जिउमा आगो लाउन नपर्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उहाँले त्यसका लागि आत्मबल बढाउने खालको शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो ।
“हिजोका दिनमा ठूलालाई सम्मान गर्ने र सानालाई माया गर्ने संस्कार थियो । समाज सुसंस्कृत हुने वित्तिकै सुधार हुन्छ”, उहाँले भन्नुभयो । उहाँले साझा हितका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
बुटव–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले समाजमा देखिएका समस्या समाधानका लागि सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभयो । समाज परिवर्तनका लागि सबैले आफ्नो घरका सन्तानलाई असल संस्कार दिनुपर्ने र सकारात्मक सोच राख्ने वातावरण सिर्जना हुनुपर्ने धारणा राख्नुभयो ।
पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले परिवर्तनको सुरुआत आफैँबाट गर्नुपर्ने भन्दै घरपरिवार सचेत भए समुदाय सचेत हुने बताउनुभयो । उपप्राध्यापक युवराज कडेँलले ग्रामीण समुदायमा हिंसा र विभेदविरुद्धका कार्यक्रम कम हुने गरेको बताउनुभयो । उहाँले गाँसबास कपाससँगै वातावरणीय अधिकारका कुरा उठाउनुपर्ने धारणा राख्नुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले बजार अस्वस्थ हुँदा उपभोक्ता पीडित भएको जनाउँदै व्यापारिक आचारसंहिताअनुसार व्यापार हुन आवश्यक रहेको चर्चा गर्नुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले मानव अधिकारको रक्षा र कानून कार्यान्वयनमा नेपाल प्रहरी सधैँ क्रियाशील रहेको बताउनुभयो ।
राससबाट