लाङटाङ पुगेकाे विदेशी पर्यटक तस्वीर : हेमनाथ खतिवडा
रसुवा, मंसिर २२
हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन रसुवाका पर्यटन व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।
होटल तथा पर्यटन व्यवसायी सङ्घको तेस्रो जिल्ला अधिवेशनका क्रममा उनीहरुले पर्यटकीय होटललाई व्यवस्थित एवं मर्यादितरूपले सञ्चालनमा ल्याई आगन्तुक पाहुनालाई गुणस्तरीय सेवामा एकरूपता ल्याउने दृढ सङ्कल्प गरेका हुन् ।
जाडोको याममा हिमपातसमेत हुने भएकाले होटलमा सिरकको सङ्ख्या बढाउने, कोठामा हिटरको व्यवस्थापन गर्ने, खाना खाने स्थानमा सुधारिएको चुलोमार्फत तातोको व्यवस्था मिलाउने कार्यसमेत अगाडि बढाउने जनाइएको छ ।
कोठामा तातोपानीको व्यवस्थापन गर्ने तथा रैथाने जातका सागसब्जीको मात्र तरकारी खुवाउनेजस्ता विविध सेवामूलक विषयमा छलफल एवं सहमति भएको सङ्घले जनाएको छ ।
अधिवेशनले रामशरण गजुरेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन समेत गरेको छ । कार्यसमितिको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल घले, कोषाध्यक्षमा बुद्वलक्ष्मी तामाङ निर्विरोध चयन भए ।
राससबाट
तपाईलाई केहि भन्नु छ ?