साझाकथा संवाददाता
धनुषा, मंसिर २२
जिल्ला भूमि अधिकार मञ्च धनुषाको छैटौं जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा प्रदेश सांसद हरिनारायण महतोले वर्षौंदेखि जकडिएर रहेको भूमिको समस्या समाधानका लागि आफू सदैव भूमिहीनको साथमा रहेको बताए । उनले गाउँ–गाउँमा सिंहदरबार पुगे पनि भूमिहीनको समस्या यथावत रहेको जानकारी दिए ।
त्यस्तै, सम्मेलनमा राष्ट्रिय भूमि अधिकार मञ्च नेपालका केन्द्रीय सदस्य फौदसिंह स्याङ् वाले २००६ सालदेखि राजनीतिक दलले विभिन्न आन्दोलन गरे पनि त्यो आन्दोलन भूमिहीन र सिमान्तकृत परिवारको आन्दोलन नभएको जिकिर गरे ।
हरेक राजनीतिक आन्दोलनमा भूमिहीनको सहभागिता हुन्छ तर भूमिहीनको समस्या कहिल्यै समाधान भएन,भूमिहीनको सामाजिक आन्दोलनले प्राथमिकता नपाएको उनले बताए । यसैगरी,प्रदेश भूमि अधिकार मञ्चका अध्यक्ष मदन विकले चुनावमा मात्र भूमिहीनको प्रयोग गरे तर भूमिहीनको समस्या यथावत रहेको बताए ।
२०६१ सालमा गठन भएको मञ्चको पाँचौ कार्यकाल पूरा गरी छैंटौ कार्यकालका लागि मञ्चको सम्मेलनले रामबाबु साहको अध्यक्षतामा सम्मेलनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश : अनिसा खातुन, रामचन्द्र थापा मगर, पासो सदा, रामविनोद ठाकुर, सदस्यहरुमा गुलावदेखि सदा,उमा विक, सिर्जना परियार, विजय विश्वकर्मा, रामकुमार बुढाथोकी, शसिकला बम्जन चयन भएका छन् । सम्मेलनमा बटेश्वर गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, मिथिला नगरपालिका र सबैला नगरपालिकाबाट भूमि अधिकारबाट बञ्चित ४५७ जना प्रतिनिधि एवं पर्यवेक्षकहरूले भाग लिएका थिए ।
सम्मेलनमा मञ्चको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुतिकरण गरी त्यसमा छलफल गरी पारित गरिएको थियो । धनुषा जिल्लामा रहेको भूमिहीन सुकुम्बासी, मोही, गुठी, हरवा चरवा, चुरे र अव्यवस्थित बसोबासीको समस्या सामाधानको लागि जिल्ला भूमि अधिकार मञ्चले वकालतिय अभियान गरिरहेको छ । सम्मेलनको अन्त्यमा मञ्चले सरकारसँग मागराखी १४ बुँदे भूमि सम्बन्धी धनुषा घोषणापत्र जारी गरेका छन् ।