विचार
भरतराज आचार्य
अहिले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले ‘अर्थतन्त्र जोगाऔँ’ भन्दै अपिल गरेको छ । देशमा आर्थिक मन्दी छाएको छ, अर्थतन्त्रका क्षेत्र सुस्ताएका छन्, अर्थतन्त्र संकटमा छ, समाधानका उपाय अपनाएर संकटोन्मुख अर्थतन्त्रलाई लयमा ल्याउन नसके देश नै दुर्घटनामा जान सक्छ ।
त्यसैले सरकार र केन्द्रीय बैंकलाई मात्रै होइन, अर्थतन्त्रका सम्पूर्ण सरोकारवालासँग अर्थतन्त्र जोगाउन अपिल गरिएको हो । यसमा सम्पूर्ण सामाजिक जीवनका अवयहरूको समेत महत्वपूर्ण भूमिका रहोस् भन्ने निजी क्षेत्रको चाहना हो ।
उद्यमशीलता मर्न थाल्नु र उद्यमीको मनोबल गिर्नु अर्थतन्त्रका लागि घातक हो
उद्योग क्षेत्र अहिले तरलता अभाव, चर्को ब्याजदर, चालू पुँजी कर्जा कटौती, करमा ताकेता, माग घट्नु, बजार क्रेडिट नउठ्नुलगायत विभिन्न समस्यामा फसेको छ । अहिले साँच्चै उद्योगहरू अभूतपूर्व संकटमा फसेका छन् ।
उद्योगीलाई शंकाको दृष्टिकोणले हेरेर र विद्यमान समस्या उद्योगको मात्रै हो भनेर चुप लागेर बस्ने हो भने त्यसको मूल्य निकट भविष्यमै देशको अर्थतन्त्रले व्यहोर्नेछ । तत्काल वित्तीय र मौद्रिक उपकरणमार्फत तरलता बढाउने, ब्याजदरको स्थिरता कायम गर्ने एवं बजारमा माग बढाउने उपाय अपनाउनुपर्ने देखिन्छ ।
सर्वेक्षणले देखाएको उद्योग व्यवसायको संकट : मागदेखि उत्पादन र आपूर्तिसम्मको शृंखला भत्किएर उद्योग व्यवसाय क्षेत्र संकटमा जान थालेपछि महासंघले वास्तविकता पहिल्याउन एउटा सर्वेक्षण गरेको छ । स्याम्प्लिङ मेथडमा गरिएको उक्त सर्वेक्षणले उद्योग व्यवसाय क्षेत्र गम्भीर समस्यामा परेको देखाएको छ । महासंघको सर्वेक्षणअनुसार निर्माण क्षेत्रअन्तर्गत सिमेन्ट, फलामे छडलगायतका उद्योगहरू औसत ३० प्रतिशत क्षमतामा चलिरहेका छन् ।
दैनिक उपभोग्य सामानको बिक्री १८ प्रतिशतले घटेको छ । विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत संकुचन भएको छ । स्वाभाविक रूपमा अटोमोबाइल आयात प्रतिबन्ध हुँदा सबैभन्दा बढी असर परेको छ । करिब ७५ प्रतिशतले कारोबार घटेको छ । सेवा क्षेत्रमा बिमा सबैभन्दा बढी प्रभावित भएको छ । अन्य उद्यम व्यवसायमा परेको नकारात्मक असर यहाँ पनि परेको हो ।
पर्यटन सिजनमा ठूला होटेलको कारोबारमा सुधार देखिए पनि देशभरिकै औसत हेर्दा अकुपेन्सी ३० देखि ४० प्रतिशत मात्रै छ । रेस्टुरेन्टमा ग्राहक संख्या करिब २० प्रतिशत हाराहारी घटेको छ । गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको चार महिनाको तथ्यांक हेर्दा घरजग्गा कारोबार ४८ प्रतिशत र पुँजी बजारमा करिब ४० प्रतिशतको गिरावट आएको छ । यो तथ्यांक महासंघले हालै एक कार्यक्रम गरेर सार्वजनिकसमेत गरिसकेको छ । अर्थतन्त्रको यो दुरवस्थाले हामी संकटोन्मुख स्थितिमा रहेको देखाउँछ ।
औद्योगिक प्रतिष्ठानको वित्तीय स्वास्थ्य खराबउन्मुख : नेपालमा उद्योगहरूले बढीमा क्षमताको ७०–८० प्रतिशत मात्रै उपयोग गर्दै आएका थिए । संसारभर नै समान्यतः त्यति नै हो । शतप्रतिशत क्षमता उपयोग प्रायः कहीँ पनि हुँदैन । उद्योगको क्षमता उपयोग ८० प्रतिशतसम्म भयो भने उत्कृष्ट नै हो र नेपाली उद्योगले पनि त्यतिसम्म गरेका थिए । तर, अहिले ३० प्रतिशतमा खुम्चिनुपरेको छ ।
उद्योग व्यवसाय क्षेत्रमा मन्दी आएर अर्थतन्त्र नै संकटोन्मुख हुनुको मुख्य कारण भनेको माग नै नहुनु हो । अहिलेको मुख्य समस्या ‘माग घट्नु’ नै हो । तर, माग घट्नुका पछाडि थुप्रै कारण छन् ।
पहिलो कुरा, हाम्रो आर्थिक नीति नै माग घटाउने लियौँ, जुन उपयुक्त विकल्प नै थिएन । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको अभाव भयो, ब्याजदर बढ्यो, लगानी तथा ऋण प्रवाह हुन सकेन, यसले सम्पूर्ण व्यावसायिक इको सिस्टममा प्रभाव पारेको छ । अर्थतन्त्रको अधिक चलायमान राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणबाट सम्भव नभए पनि स्वाभाविक चलायमान गर्नुपर्ने थियो ।
उच्च आर्थिक वृद्धि गर्न अर्थतन्त्रलाई अधिक चलायमान बनाउनुपर्छ । यदि अधिक चलायमान आवश्यकता नभएको वेलामा पनि अर्थतन्त्रलाई स्वाभाविक चलायमान बनाउनैपर्छ । अर्थतन्त्रलाई ठप्पप्रायः पार्दा उपभोक्ताको आय र खर्च न्यून हुन्छ ।
अर्थतन्त्रमा सामान्यतया दीर्घकालीन र अल्पकालीन गरी पुँजी निर्माण गर्ने दुई उपकरण हुन्छन् । अल्पकालीन पुँजी निर्माण गर्ने सेयर बजारमा भारी गिरावट आयो, घरजग्गाको कारोबार लगभग बन्दजस्तै भयो, यी आम्दानी हुने क्षेत्रहरूमा प्रतिकूलता नआएको भए उपभोक्ताको आय र खर्च गर्ने क्षमतामा न्यूनता हुने थिएन । आम्दानी खुम्चिएपछि सबैको खर्चको प्रवृत्ति घट्यो ।
उद्योग व्यवसायले थप संकुचन थेग्न सक्दैन । त्यसैले केही न केही समाधानका उपकरण तुरुन्तै ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउँदै मनोबल गिरेका उद्यमीलाई उत्प्रेरित गर्नुपर्छ । बजारमा पैसा (तरलता) बढाउनुपर्छ । जति धेरै पुँजी प्रवाह गर्न सकिन्छ, त्यति धेरै पुँजी निर्माणसमेत गर्न सकिन्छ ।
अर्कोतर्फ, दीर्घकालीन पुँजी निर्माण गर्ने पर्यटन, उद्योग, व्यापारलगायतका क्षेत्रमा कोभिडबाट अत्यधिक प्रभावित भएका थिए । कोभिडबाट थिलथिलो भइसकेका संस्था, मागको संकुचनले उपभोक्तामा जान सकेनन् । त्यसले पुँजी परिचालनमा संकुचन आयो । यसरी माग घटेपछि उत्पादन र आपूर्ति प्रभावित भयो र समग्र आर्थिक क्षेत्रको इको प्रणाली भत्कियो ।
दीर्घकालीन प्रभाव के हुन् ? : उद्योग क्षेत्र संकटमा पर्दा, उद्योग व्यवसायमा मन्दी आउँदा त्यसले अर्थतन्त्रमा बहुआयामिक समस्या सिर्जना गर्छ । आर्थिक मात्रै होइन, सामाजिक क्षेत्रसमेत प्रभावित हुन्छ । अहिले उद्योगले आम्दानी नै गर्न सकेका छैनन् । उद्योगका कम्पनीहरूको वित्तीय स्वास्थ्य नै कमजोर हुँदै गएको छ । यसो हुँदा उनीहरूले बैंकको ब्याज र किस्ता भुक्तानी गर्न सक्दैनन् । उनीहरूको प्रशासनिक खर्चमा दबाब परेको छ, तलबभत्ता दिनै गाह्रो भइरहेको छ ।
उद्योगमा देखिएको संकटको प्रभाव अहिल्यै पनि देखिन थालिसकेको छ । दीर्घकालीन प्रभाव त क्रमशः देखिने नै छ । उद्योगहरूले बिजुली लिन छाडिसकेका छन् । यो परिस्थिति कायम नै रहे उद्योगहरूले बैंकको साँवा–ब्याज भुक्तानी गर्न सक्दैनन्, तलब दिन सक्दैनन्, कर्मचारी कटौती हुन सक्नेछन् र सरकारले राजस्व गुमाउनेछ ।
जस्तोसुकै अवस्थामा पनि स्थायी प्रकृतिका खर्च भई नै रहन्छ । विद्युत्को मिनिमम चार्ज, कर्मचारीलाई तलब, बैंकको ब्याज र किस्ता नियमित भइरहने खर्च हो । यस्तो खर्च कटौती गर्न सकिँदैन । एकातर्फ माग र उत्पादन नभएर बिक्री कम छ, अर्कोतर्फ ऋणको ब्याजदर बढेको छ । श्रमिकको पारिश्रमिक पनि बढेकै छ । ढुवानीलगायत अन्यको लागत पनि बढेकै छ । यसले अझ दबाब बढाएको छ ।
यी सबै समस्या र परिस्थितिले स्वदेशी उद्योगको प्रतिस्पर्धी क्षमता अझ कमजोर बनाएको छ । हाम्रो प्रतिस्पर्धा भारत र चीनका उद्योग र तीनका उत्पादनसँग हो । सामान्य अवस्थामा समेत भारत र चीनका उद्योगसँग प्रतिस्पर्धा गर्न नसकिइरहेको अवस्थामा स्वदेशी उद्योग अहिले झन् कमजोर भएका छन् ।
भारतको आन्तरिक अर्थतन्त्र चलायमान नै छ । त्यहाँ ब्याजदरमा स्थिरता देखिन्छ । वस्तु तथा सेवाको माग राम्रै छ । उनीहरूको आन्तरिक अर्थतन्त्र सुदृढ छ । तर, हाम्रो ठीक विपरीत अवस्था छ ।
उद्योगको प्रतिस्पर्धी क्षमता घट्दै जान्छ र बन्दै हुने अवस्था आउँछ, अनि तत्कालै नयाँ उद्योग आउने अवस्था पनि हुँदैन । देशका लागि निरन्तर आय गर्ने, पुँजी निर्माण गर्ने, उत्पादन गर्ने अथवा आयात रोक्नेलगायत कार्यबाट अर्थतन्त्रमा योगदान गर्ने उद्योग प्रतिष्ठान घट्नु राम्रो होइन । प्राविधिक रूपमा निजी उद्यमीले सिर्जना गरेको औद्योगिक प्रतिष्ठान देशकै प्रतिष्ठान हुन् । त्यसका सञ्चालक आउँछन्, जान्छन् तर प्रतिष्ठान रहिरहन्छन् ।
तसर्थ, यस्ता प्रतिष्ठान मर्न नदिनु राज्यको दायित्व हो । फेरि अर्को प्रतिष्ठान निर्माण गर्न वर्षौं लाग्न सक्छ । कुनै उद्योग राम्रोसँग सञ्चालन हुँदा त्यसले उत्पादन र आय गर्छ, अनि राजस्व तिर्छ । तर, उद्योग बन्द हुँदा यो चक्र नै प्रभावित हुन्छ ।
उद्यमशीलतामा अवरोध : अहिलेको अवस्थाबाट सबैभन्दा ठूलो र दीर्घकालीन असर भनेको उद्यमशीलतामा पर्नेछ । उद्यमशीलता भनेको उत्प्रेरणाबाट बन्ने हो, तर अहिले निराशाजनक परिस्थिति छ ।
उद्यमी बन्ने र उद्यमशीलता विकास गर्ने सोचलाई अघि बढाउन सकिने अवस्था छैन । उद्यमशीलताले नै दिगो आर्थिक विकास, स्वाधीन अर्थतन्त्रको निर्माण र पुँजी निर्माण गर्ने हो ।
अर्थतन्त्रलाई मजबुत बनाउने हो । तर, अहिलेको परिस्थितले उद्यमशीलता नै सिर्जना हुने भएन । यसले हाम्रो उत्पादनदेखि, दिगो विकास र दीर्घकालीन लक्ष्यमा समेत प्रभाव पार्नेछ । यसो हुँदा आन्तरिक रूपमा रोजगारी सिर्जनासमेत हुनेछैनन् । भएकै रोजगारीसमेत गुमिरहेको वा गुम्ने जोखिम रहेको देखिन्छ । उद्यमशीलता मर्न थाल्नु र उद्यमीको मनोबल गिर्नु अर्थतन्त्रका लागि घातक हो ।
समाधानमा गम्भीरता आवश्यक : निजी क्षेत्रले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत सरोकारवाला निकायलाई बारम्बार सुझाव दिँदै आएको छ । तर पनि अहिलेको संकटको अवस्थालाई गम्भीरताका साथ लिएको निजी क्षेत्रले आभास गरेको छैन ।
अब उद्योग व्यवसाय क्षेत्रले थप संकुचन वहन गर्न सक्ने अवस्था छैन, संकुचनलाई निरन्तरता दिने स्थिति छैन । केही न केही समाधानका उपकरण तुरुन्तै ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउँदै मनोबल गिरेका उद्यमीलाई उत्प्रेरित गर्ने प्रयासलाई ढिला नगर्नु नै उचित हुन्छ ।
विश्लेषण र मूल्यांकन गरेर मौद्रिक तथा वित्तीय उपकरणहरू प्रयोग गर्दै समस्या समाधान गर्न सकिन्छ । अर्थतन्त्रलाई चलायमान बनाउनु अहिलेको आवश्यकता हो । बजारमा पैसा (तरलता) बढाउनुपर्छ । जति धेरै पुँजी प्रवाह गर्न सकिन्छ, त्यति नै धेरै पुँजी निर्माणसमेत गर्न सकिन्छ । त्यसैले यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।
नयाँ पत्रिकाबाट