विचार
एन्जिला तुम्बाप्पो सुब्बा
रोनाल्डोको फ्यानलाई मेसी मन नपर्ने, मेसीको फ्यानलाई रोनाल्डो मन नपर्ने हुँदो रहेछ। तर, मलाई चाहीँ मेसी पनि मनपर्छ, बेस्ट चाहिँ रोनाल्डो। मलाई सबैभन्दा धेरै मनपर्ने खेलाडी पोर्चुगलको कप्तान भएपछि मेरो समर्थन पनि पोर्चुगललाई हुने नै भयो। यसपाली पोर्चुगलले राम्रो खेलेको छ। यसअघि पोर्चुगलको त्यति राम्रो टिम थिएन। तर, यसपालि टिम पनि राम्रो छ।
एक अर्थमा रोनाल्डो कम भाग्यशाली भए जस्तो पनि लाग्छ। किनभने, जब उनी उत्कृष्ट लयमा थिए, त्यसबेला पोर्चुगलसँग अहिले जस्तो बलियो टिम थिएन। अहिले पोर्चुगलको टिम बलियो छ, तर ढल्कँदो उमेरका कारण रोनाल्डोको खेल त्यसबेला जस्तो छैन।
तर, समग्रमा पोर्चुगलको प्रदर्शन राम्रो छ। क्वार्टरफाइनलसम्म आइपुगेको छ। फाइनल पुग्न तल्लीन छ, पोर्चुगल। पुगोस् भन्ने मलाई लाग्छ। विश्वकपका कुनै खेल पनि छोड्न मन लाग्दैन।
फेरि यसपालि धेरै नै अनपेक्षित नतिजा पनि आए। त्यसले पनि विश्वकपको माहोल अझै रमाइलो बनेको छ। अघिल्ला संस्करणमा यो टिमले जित्छ भनेर लगभग साना टिमसँग खेल्दा भन्न सकिने अवस्था थियो।
तर, यसपालि त साना भनिएका टिमले पनि दाबेदार भनिएका टिमलाई टक्कर दिएका छन्। जर्मनी, उरुग्वे, बेल्जियम, स्पेनजस्ता टिम बाहिरिए। यी टिम बाहिरिँदा प्रायः भूमिका साना भनिएका टिमकै छ।
खै… म पनि फुटबल खेलाडी भएर नै हो कि साह्रै मजा आइरहेको छ ? विश्वकप हेरिरहँदा मेरो मनमा पटक–पटक हामी पनि नजिकै पुगेका थियौं भन्ने खड्किरहन्छ। हामीले ८९ मिनेटसम्म १–० ले लिड गरेको टिम (फिलिपिन्स) पाँच मिनेटमा हामीलाई दुई गोल हानेर विश्वकपमा पुग्यो। गत वर्ष उज्वेकिस्तानमा भएको एएफसी वुमेन्स एसियन कपमा हामीले आफ्नै गल्तीले अन्तिममा दुई गोल खाँदा नजिक पुगेर पनि विश्वकपमा
पुग्न सकेनौं।
राष्ट्रिय फुटबल खेलाडीका लागि विश्वकप एउटा चाड वा महोत्सव मात्रै हुन्न रैछ। यो त सपना हुन्छ। फेरि नेपालको महिला टिम पुरुष टिमको तुलनामा नजिक छ जस्तो लाग्छ। त्यसैले विश्वकप हेर्दा प्रत्येक खेलमा म पनि नेपाली राष्ट्रिय टिमको जर्सी लगाएर विश्वकपमा उत्रिएको सपना देख्छु, कल्पना गर्छु।
तर, अहिले हेरेरै चित्त बुझाउनुको विकल्प नै के छ र ? हेर्दा पनि रमाइलो नै छ। म गोलकिपर भएर होला, मलाई यसपालि विश्वकपमा प्रायः गोलकिपरले राम्रो खेलेको जस्तो लाग्छ। किनभने, विगतका विश्वकपमा गोलकिपरको लापर्बाही वा गल्तीले धेरै गोल खाएको जस्तो लाग्थ्यो। यसपालि त्यस्तो धेरै छैन। पेनाल्टी सुटआउटमा पनि प्रायः गोलकिपरको प्रदर्शन राम्रो छ। त्यो बेला त फेरि ‘प्रेसर’ हुन्छ नि।
मैले यो पेनाल्टी रोकेँ भने मेरो टिमले जित्छ, र अर्को चरणमा पुग्छ भन्ने सोच आउँछ। अनि त्यसको दबाब पनि। त्यो बेला चाहिँ बेला यही हो भनेर आफूलाई तयार गर्नु एकदम महत्त्वपूर्ण हुन्छ।
गोलकिपर भएपछि आफूले समर्थन गरेको टिम नै पनि धेरै गोल गर्दा नराम्रो लाग्छ। किनभने, आउटफिल्डको खेलाडी वा फरवार्डले जति गोल गर्न चाहेको हुन्छ गोलकिपरले त्यति नै क्लिनसिट राख्न चाहेको हुन्छ। गोल खाइहाल्यो भने पनि थोरै खान कोसिस हुन्छ। पोर्चुगलले क्वार्टरफाइनल खेल्दै छ। र, जित्छ भन्ने मलाई भित्रैबाट विश्वास छ। जितोस् भन्ने कामना पनि छ।
रोनाल्डोले विश्वकप जितेको हेर्ने प्रायः सबै समर्थकको चाहना छ। तर, अर्जेन्टिना पनि फाइनलसम्म पुगोस्। मेसीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगलले फाइनल खेलुन्, त्यसो हुँदा फुटबलले जित्छ जस्तो मलाई लाग्छ।
– राष्ट्रिय महिला फुटबल टिम कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले अन्नपूर्णकर्मी उमेश दाहालसँग साटेको अनुभव
अन्नपूर्ण पाेस्ट्बाट