रसुवाकाे लाङटाङमा घाेडामा सरर विदेशी पर्यटक तस्वीर : हेमनाथ खतिवडा
म्याग्दी, मंसिर २५
सडक विस्तार नहुँदासम्म छिटो गन्तब्यमा पुग्न घोडाको विकल्प थिएन । घोडा चढ्नु र पाल्नुलाई व्यक्तिको आर्थिक, सामाजिक हैसियत र प्रतिष्ठासँग तुलना गरिन्थ्यो । केहि बर्ष अघिसम्म यातायातका साधनका रुपमा प्रयोग हुने घोडा अहिले सडक विस्तारसँगै विस्थापित भएका छन् ।
घोडाको ठाउँ मोटरसाइकल र गाडीले लिएका छन् । घोडामा चढ्ने र सामान ढुवानी गर्ने चलन अहिले घटेको छ । घोडाको प्रयोग हिजोआज फेरिएको छ । तर पर्यटकका लागि भने घोडा आकर्षण बनेको छ ।
अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका याम पुन पर्यटकलाई गन्तब्यमा पु¥याउनका लागि घोडाको माग बढ्न थालेको बताउनुहुन्छ । “घोडा चढेर यात्रा गर्न पर्यटकले रुचाएका छन्”, उहाँले भन्नुभयो, “सडक भएपछि सामान बोक्न र हामीले चढ्न प्रयोग गरेका घोडालाई अहिले पर्यटक बोक्न प्रयोग गरेका छौँ ।”
घोडेपानीदेखि घान्द्रुक र नयाँपुलदेखि घोडेपानी आवतजावत गर्ने पर्यटकलाई घोडामा चढाएर आयआर्जन गर्ने माध्यम बनेको छ । घोडेपानीका छ वटा होटलले पर्यटकलाई चढाउनका लागि २५ घोडा पालेका छन् । पर्यटकलाई घोडामा चढाएर घोडेपानीदेखि घान्द्रुक पु¥याएको १५० डलर शुल्क तोकिएको छ ।
“कोही पर्यटकले ५००÷६०० डलर तिरेर दुई तिन दिनसम्मका लागि घोडा भाडामा लिएर घुम्न लैजान्छन्”, घोडोपानीका होटल
व्यवसायी डमबहादुर पुनले भन्नुभयो, “हेलिकप्टर जान नसक्ने ठाउँमा घाइते भएका र फसेका पर्यटकको उद्धारमा पनि घोडा प्रभावकारी बनेको छ ।”
अशक्त र हिँड्न गाह्रो भएरभन्दा पनि रमाइलोका लागि घोडा चढ्ने गरेका पुनले बताउनुभयो । पर्यटकका लागि पुनले छ वटा घोडा पाल्नुभएको छ । घोडेपानीका साथै कास्कीको पर्यटकीयस्थल घान्द्रुकबाट छोमरोङ, अन्नपूर्ण आधार शिविरतर्फ जाने पर्यटकले पनि घोडाको प्रयोग गर्ने गरेका घोडा व्यवसायी अमित गुरुङले बताउनुभयो । घान्द्रुकमा घोडा चढेबापत प्रतिदिन १०० देखि ११० डलर शुल्क तोकिएको उहाँले बताउनुभयो । पर्यटक बोक्न घोडालाई भ्याइनभ्याइ भएको अर्का व्यवसायी हितमान गुरुङले बताउनुभयो ।
घोडचढीप्रति पर्यटकको रुचि र आकर्षण बढेपछि घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने घोडा मार्ग बनाइएको घोडेपानीका होटल व्यवसायी सुशील पुनले बताउनुभयो । जङ्गलभित्र घोडा चढेर आवतजावत गर्न मिल्ने तीन किलोमिटर घोडामार्ग र प्यारीबाराही ताल परिसरमा तबेला बनाइएको छ ।
राससबाट