काठमाडौं, मंसिर २६
जाडो बढे पनि केही सातयता हिमपात र वर्षा भएको छैन । सामान्यतः जाडो बढेपछि हिमपात हुन्छ भन्ने बुझाइ हुन्छ । तर, जाडो बढेपछि किन हिमाली क्षेत्रमासमेत हिमपात नभएको हो ?
जलवास्पयुक्त हावाको आभावमा केही दिन यता हिमपात र वर्षा नभएको मौसमविद्हरूको भनाइ छ । “वर्षा र हिमपात हुन वायुमा जलवास्प (मोस्चर) चाहिन्छ । जलवास्पयुक्त हावा भएन भने हिमपात र वर्षा हुँदैन,” मौसमविद् हिरा भट्टराई भन्छन्, “जलवास्पयुक्त हावा भएन भने मनसुनको सिजनमा पनि पानी पर्दैन ।”
जाडो मौसममा सामान्यतः हिमपात हुनुपर्छ भन्ने मान्यता रहे पनि वायुमा मोस्चरको अभाव भएमा जाडोमा पनि हिमपात नहुने उनको भनाइ छ । “जाडो सिजनमा हिमाल तथा उच्च पहाडी भू–भागमा दिनहुँ हिमपात हुनुपर्ने हो तर हुँदैन,” उनी भन्छन्, “वायुमा मोस्चर नभएकाले जाडो मौसममा पनि हिमपात नभएको हो । यो समान्य प्रक्रिया हो ।” अझै केही दिन हिमपात नहुने उनी बताउँछन् ।
यसैबीच, आज बिआन देशभर मौसम सामान्यतया सफा रहेको छ । देशका पूर्वी तराईका केही स्थानमा हल्का हुस्सु/कुहिरो लागेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
विभागले आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
बाह्खरीबाट