सम्पादकीय
महोत्तरीका धनवीर महतोले ‘उडिजाने आकाशमा र फर्किने बाकसमा’को पछिल्लो नियति भोगे। यसअघि धेरैले यही नियति बेहोरे। यो नियतिको अन्तिम भोक्ता धनवीर पक्कै होइनन्। त्यस्तो आशा र विश्वास गर्ने ठाउँ छैन।
वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाउनेहरू नेपालीको संख्या घट्दो होइन बढ्दो छ। तर धनवीरको मलेसियामा मेसिनमा च्यापिएर भएर भएको मृत्यु सरकारका लागि एउटा संख्यामात्रै जस्तो छ।
उसले धनवीरहरूको संख्या गणना गर्छ तर कसरी यस्ता भवितव्यहरूबाट नागरिक बचाउने भनेर कत्ति ध्यान पुर्याउँदैन। त्यसैले त पछिल्लो १३ वर्षमा ९ हजार ४ सय २४ जनाले वैदेशिक रोजगारीका क्रममा मृत्युवरण गरे। त्यो पनि अधिकांश धनवीरले जस्तै मलेसियामै।
थ्रीडी डेन्जर, डर्टी र डिफिकल्टी अर्थात् खतरा, फोहोर र जोखिमपूर्ण काममा जोतिनु नेपालको विवशता हो। त्यही थ्रीडीले उनीहरूलाई चौथो डी अर्थात् डेथ (मृत्यु) दिलाउँछ।
धनवीरजस्तै वैदेशिक रोजगारीमा १८ देखि ४० वर्षका नेपाली वैदेशिक रोजगारीमा धेरै छन्। त्यही युवाशक्ति नै असामयिक मृत्युको मुखमा पुगिरहेको छ। त्यसैले नै वैदेशिक रोजगारीमा भइरहेको मृत्यु ठूलो चिन्ताको विषय हो। जाँगर भएको युवा शक्तिको क्षति वास्तवमा राष्ट्रिय क्षति हो। तर सरकारले देशमा रोजगारी सिर्जना गर्ने कुरा धेरै पर छ। वैदेशिक रोजगारी सुरक्षित बनाउने कुरा पनि धेरै पर छ।
त्यसरी विदेशमा मृत्युवरण गरेकाहरूको शव बेलामा ल्याएर परिवारलाई दिने हैसियत राख्दैन। अत्यन्तै लज्जा अझ धेरै त्यहाँ छ। नेपाल देश बन्न पनि नसकेको हो र ? होइन भने कम्तीमा त्यति त सामथ्र्य राख्नुपर्छ। सरकारलाई यो विषयले किञ्चित छोएको आभास हुँदैन।
हुन्थ्यो भने वैदेशिक रोजगारीमा मृत्युको दर किन घट्दैन ? वैदेशिक रोजगारीमा जानेको संख्या किन घट्दैन ? देशमै रोजगारी सिर्जना किन बढ्दैन ? नागरिकलाई बस एक मत खसाल्ने मतदाता सम्झिएको राजनीतिकै परिणाम आज यो हालत भएको बुझ्न कठिन छैन।
धनवीर महतोहरूको ज्यान जोगियोस् भन्ने हो भने पहिलो त नेपालको संविधानको धारा ३३ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई रोजगारीको हक यही माटोमा दिलाउनुपर्छ। त्यो दायित्व सरकारको हो। मौलिक हकमै समावेश रोजगारीका विषयमा यति उदासीन सरकार मुलुकका लागि दुर्भाग्यपूर्ण छ। उदासीन, अनुत्तरदायी र गैरजिम्मेवार शासनबाट शासित हुन नेपाली अभिशप्तै हो र ?
त्यस्तो कदाचित हुनु हुँदैन। सरकार ब्युँझन्न भने उसलाई ब्युँझाउने र पहिलो त देशमै रोजगारी सिर्जनाको वातावरण बनाउने र दोस्रो वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने परिस्थितिका लागि नागरिक समाज र सरोकारवालाई सबैले दबाब सिर्जना गर्नुपर्छ।
बाकसमा हरेक दिनजसो आइरहने लासको लस्करले पनि सरकार संवेदशनशील बन्न नसक्नु उसको थेत्तरोपन हो। थेत्तरोपनको उपचार कठिन होला, तर असम्भव छैन, दबाबकै जरुरी छ।
अन्नपूर्ण पाेस्ट्

तपाईको विचार
0 प्रतिक्रिया