अन्तर्वार्ता
धनवीर कहिले विदेस गएको थियो ?
(हातको औंला गन्दै) यो फागुनमा तीन वर्ष पुग्थ्यो ।
छोरालाई किन विदेश पठाउनुभयो ?
घरद्वारको समस्या थियो। परिवारलाई पालनपोषण गर्ने समस्या थियो। त्यसैले छेरालाई विदेश पठाइयो। आएर घरको ऋण तिर्छु भनेको थियो। (रुँदै) जिउँदो गएको छोरो बाकसमा बन्द भएर आयो। विदेसमै हुँदा धनवीरले कमाएर तिर्छु भनेर तीन–चार वटा बैंकबाट ऋण लिएर पक्की घर ठड्यायो।
विदेश जान पनि धनवीरले कर्जा लिएको थियो ? कति छ ऋण ?
(सम्झिँदै) २० लाख जति होला। भर्खरै लास ल्याउन ५० हजार ऋण लिनुपर्यो। क्रियाकर्म गर्न १ लाख ऋणै लिनुपर्यो। तीन वर्ष पहिले विदेश जान अढाइ लाख ऋण लिएको थियो।
कात्तिक ३१ गते छोट्को (कान्छो छोरो) शम्भू विदेश जाने तयारीमा थियो। एजेन्टलाई तीन लाख दिइसकेको थियो। काठमाडौं गएर भोलि बिहान विदेश उड्ने तयारीमा थियो। साँझमै खबर आयो, दाजु धनवीर मरेको। एयरपोर्टबाट कान्छो छोरो फर्केर आयो।
छोरो बितेको खबर कसरी पाउनुभयो ?
नक्टाझिल (नक्टाझिज)को साथीसँगै कम्पनीमा काम गथ्यो। उसले हाम्रो छोरी रीतालाई आफन्तमार्फत खबर गर्यो। म बजार गएको थिएँ। गाउँका एक जनाले मलाई बोलाउन गयो। के भयो भनेर सोधें। उसले केही भनेन।
मलाई लिएर सरासर घर लिएर आयो। घर पुग्दा मान्छेहरूको भीड थियो। कनारोहट (रुवाबासी) भइरहेको थियो। किन सबै रुँदैछन् भनेर सोध्दा धनवीर बाकसमा आएको थाहा पाएँ। अब कर्जा कसरी तिर्ने
सोचमा डुबेका छौं।
छोराको मृत्युपछि दिनचर्या कसरी बितिरहेको छ ?
छोरोकै यादले सताउँछ। भोक, प्यास, निद्रा सबै हराएको छ। राति निदाउन सकेको छैन। चिन्ताले निकै कमजोर बनायो। अब हाम्रो पैतवाल (हेरचाह) कसले गर्छ। कान्छो छोरा पनि चिन्तामै छ।
धनवीरलाई कसरी हुर्काउनुभएको थियो ?
धेरै तकलिफ (दुःख)ले हुर्काएका थियौं। बनीबुतो गरेर कापी किताब किनेर स्कुल पढाएका थियौं। हाटबजारमा तरकारी किनबेच गरेर पालेको थिएँ। छोरो जवान भएपछि बुढेसकालमा कमाएर खुवाउँछ भन्ने सपना थियो। अधुरै रह्यो।
कति पढाउनुभएको थियो ?
१२ कक्षा पढेको थियो। शम्भू पनि दाइ जतिकै पढेको छ।
त्यसपछि किन पढेनन् ?
खर्च नपुगेर। उसले भन्थ्यो, ‘तपाईंहरू बुढो हुनुभयो। अब म कमाउँछु। तपाईंलाई बसाएर खुवाउँछु। विदेश गयो। तर, कहिल्यै नफर्किने गरी रुवाएर गयो।
तपाईं जस्तो धेरै आमाका छोरा विदेश जान्छन् नि ?
सबैलाई केही न केही तकलिफ छ। त्यसैले विदेश पठाउन बाध्य हुन्छन्। बाध्य भएर विदेश गएको थियो। उसले बनाउन, जोड्न, काट्न जस्ता सबै खाले लुइर (सीप) सिक्यो। यो सबै नसिकेको भए सायद यस्तो दिन आउँदैनथ्यो।
के काममा विदेश गएको थियो ?
ऊ कुट (कार्टुन) बनाउने काममा गएको थियो। पछि उसलाई सुपरभाइर बनाइएको रहेछ। ऊ निकै सहयोगी स्वभावको थियो। गाउँघरमा पनि सबैलाई सघाउँथ्यो। गाउँलेको पनि निकै प्यारो थियो।
छोरोसँग अन्तिम पटक कहिले कुरा गर्नुभएको थियो ?
मर्नुभन्दा एक दिन पहिले कुरा भएको थियो।
के कुरो भएको थियो ?
आमा, धेरै ऋणकर्जा भयो। म दुई महिनामा घरमा आउँछु। अलिअलि अझै ऋण खोजेर घर निर्माणको काम सबै सक्छु। अनि हामी दाजुभाई विदेश आएर ऋण तिरौंला भनेको थियो। बैंकमा किस्ता तिरिरहेका थियौं। उसकै कमाइले घरपरिवार चल्थ्यो। तर, आज उसले हाम्रो दुःख बुझेन। बुढेसकालमा मलाई छोडेर गयो।
धनवीर विदेशमै हुँदा घर बनाउन सुरु गर्नुभयो ?
हजुर हो,
तपाईको कति जना सन्तान छन् ?
सात जना। ५ छोरी, २ छोरो। धनवीर जेठो छोरो थियो।
धनवीरको विवाह भएको थियो ?
पाँच वर्षअघि विवाह गरिदिएको थिएँ। उसको एउटी ४ वर्षको छोरी पनि छ।
छोरोको मृत्युपछि समाजका मानिसहरूले कस्तो सहयोग गरे ?
क्रियाकर्ममा सबैले सहयोग गर्नुभयो। प्रसाद ग्रहण गरेर जानुभयो।
अब तपाईंको बुहारी, नातिलाई कसरी पाल्नुहुन्छ ?
अब जसोतासो सबैको पालनपोषण गर्छु।
आमाबुवाले आफ्नै अगाडि सन्तान गुमाउनुको पीडा कति हुन्छ ?
बरु योभन्दा मर्नु ठीक। दिलमेके तकलिफ (मनको दुःख) राम्रो हुँदैन।
दुःखमा नेताहरू आएनन् ?
आयो कि आएन मलाई थाहा छैन। म त रोएर दिनभरी घरमै बसेका थिएँ।
गरिबको सन्तान किन विदेश जान्छन् ?
दुःखैले जान्छ। ठूलाबडाका छोराछोरी रमाइलो गर्न, पढ्न जान्छन्। तर, हामी गरिबका बेटाबेटी दुःखले जान्छन्। अलिअलि खान लाउन पुग्ला भन्ने आसले जान्छन्। अरू त के नै होला र। तर, उनीहरू आफ्नो परिवारको लागि भनेर विदेशमा दुःख गर्छन्। दुःख भने देखाउँदैनन्।
गाउँका अरू पनि विदेश गएका छन् ?
गएको छन्। धेरै (बहुते) जना गएका छन्।
विदेस जाने लर्को गाउँमा कसरी लाग्यो ?
कसरी बन्यो, किन बन्यो थाहा छैन। पैसा कमाउनकै लागि जान्छन् जस्तो लाग्छ। (एकछिन सोच्दैं) १० बिघा जमिन हुनेहरू पनि केही पैसा (ढउवा) कमाउँछु भनेर नै गएको देखिन्छ भने गरिबका छोराछोरी त झन् जाने नै भए।
गाउँमै काम गरे हुन्न र ?
त्यही खेतीपाती हुने हो। तर, पुग्दैन। खेती किसानीमा पहिला जस्तो फाइदा कहाँ छ र ?
पेट पाल्न कठिन बन्दै गएको हो ?
धेरै समस्या छ। दुःखमा जीवन चलिरहेको छ। गरिबलाई बुझ्ने र सुन्ने कोही छैन।
तपाई जस्तो धेरै आमाहरू वैदेसिक रोजगारीको पीडाले रोइरहेका छन्। सरकारले यो समस्या समाधान गर्न के गर्नुपर्छ ?
सुविस्ता(सुविधा) दियो भने गरिब परिवार राम्रोसँग चल्छ।
भर्खरै चुनाव सक्यो। नेताहरूले भोट माग्न आउँदा धेरै कुरो भनेको होला नि ?
गरिबका लागि नेताहरूले काम गर्दैनन्। भोट लिएर जान्छन्। जित्छन्। आफै कमाउँछन्। हामीले कुनै सहयोग माग्दा उल्टै पैसा माग्छन्। दुःख मात्र दिन्छन्।
उनीहरूले यस्तो किन गर्छन् ?
खै उनीहरूको मनमा के चल्छ–चल्छ म त धेरै बुझ्दिनँ। भोट लिने बेलामा हात जोड्छन्। अनि पछि कुनै गारविपत्त (आपतविपद) पर्दा जनतासँग मतलब राख्दैनन्।
प्रस्तुति : राजकरण महतो/विजयकुमार सिंह
अन्नपूर्णबाट