सर्लाही, मंसिर २७
सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा प्रसूति गराउन आउने गर्भवतीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ।
अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा नियमित गरेसँगै जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल मलङ्गवामा प्रसूतितर्फ चाप बढ्न थालेको हो। अस्पतालमा यो आर्थिक वर्षमा मात्रै एक हजार २९१ जना गर्भवतीले प्रसूति सेवा लिइसकेका छन्।
एक हजार १७३ गर्भवतीले सामान्य र ११८ गर्भवतीले शल्यक्रियासहितको प्रसूति सेवा लिएको अस्पतालकी स्टाफ नर्स सङ्गिता श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार साउन महिनामा २२० गर्भवतीले सामान्य र १९ जना गर्भवतीले शल्यक्रिया, भदौ महिनामा २७६ गर्भवतीले सामान्य र ३७ गर्भवतीले शल्यक्रियासहितको प्रसूति सेवा लिएका छन्।
असोज महिनामा २५० जना गर्भवतीलाई सामान्य र १९ गर्भवतीलाई शल्यक्रिया, कात्तिक महिनामा २१२ गर्भवतीलाई सामान्य र २१ गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति गराइएको छ। मङ्सिर महिनामा हालसम्म २१५ जना गर्भवतीलाई सामान्य र २३ जनालाई शल्यक्रियामार्फत प्रसूति गराइएको अस्पतालले जनाएको छ।
अस्पतालमा आर्थिक वर्ष २०७७/७८ मा एक हजार ३४० गर्भवतीले सामान्य र ६२ गर्भवतीले शल्यक्रिया तथा आर्थिक वर्ष २०७८/७९ मा एक हजार ९७३ जना गर्भवतीले सामान्य र १५३ गर्भवतीले शल्यक्रियासहितको प्रसूति सेवा लिनुभएको थियो।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर नवलकिशोर झाले प्रसूतिमा चाप बढ्दै गए पनि अस्पतालमा आवश्यक संरचना र जनशक्तिको अभावमा प्रसूति सेवामा चुनौती थपिएको डाक्टर झाले भन्नुभयो, “चेतनास्तरमा भएको वृद्धि र शल्यक्रियासहितको प्रसूति सेवा नियमित भएपछि अस्पतालमा आएर प्रसूति गराउने गर्भवती बढ्नुभएको छ। प्रसूतिका लागि हामीसँग संरचना र जनशक्ति भने अभाव छ।”
डाक्टर झाले पटक–पटक सूचना निकालेर प्रसूति गराउने विशेषज्ञ चिकित्सक माग गरे पनि आवेदन नै परेको छैन। अस्पतालमा १० जना मात्रै स्टाफ नर्सको दरबन्दी भए पनि अस्पतालले आफ्नै स्रोतबाट समेत गरी १७ जना व्यवस्था गरेको छ।
अस्पतालमा प्रसूतिका लागि ३६ वटा शय्या छुट्याइएको छ। स्थानीय पालिकाहरूले सहयोग गरे प्रसूति सेवालाई अझ व्यवस्थित बनाउन सकिने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर झाले बताउनुभएको छ। “यहाँ प्रसूति गराउन आउने छेउछाउकै पालिकाका गर्भवतीहरू हो, त्यसैले पालिकाहरूले पनि प्रसूतिमा सहयोग गरे अझ प्रभावकारी सेवा प्रवाह गर्न सक्छौँ,” डाक्टर झाले भन्नुभयो।
गाेरखापत्रबाट