सिन्धुल्चाेक, मंसिर २७
तीन गाउँका बासिन्दा स्वच्छ खानेपानी पिउनबाट वञ्चित भएका छन् । खानेपानीको मुहान बाढीले बगाएपछि जुगल गाउँपालिकाको पाकुका करिब दुई सय र पाङार्पुका ३६ घरपरिवार स्वच्छ पानी पिउनबाट वञ्चित भएका हुन् ।
वैकल्पिक मुहान नहुँदा यहाँका करिब डेढ सय परिवार दूषित पानी पिउन बाध्य छन् । पानीको समस्या समाधान गर्न न स्थानीय तहले चासो देखाएको छ नत खानेपानी डिभिजन कार्यालयले नै ।
पानीको मुहान सफा गर्न र ट्याङ्की निर्माणमा कसैले पनि तदारुकता नदेखाउँदा पाकु र पाङार्पुवासी प्रदूषित पानी पिउन बाध्य भएका हुन् । वैकल्पिक मुहान नहुँदा खेतमा गाईवस्तु र रासायनिक मल मिसिएको पानी उपभोग गर्दै आइएको स्थानीय चन्द्रकुमारी सिलवालले बताउनुभयो ।
यसैगरी इन्द्रावती गाउँपालिका–११ विषदेउटारका माझी बस्तीमा खानेपानीको धारा भए पनि पानी आउँदैन । धारामा पानी नआउँदा यहाँका ५६ परिवार खोलाको पानी बोकेर उपभोग गर्न बाध्य छन् ।
खानेपानीको भरपर्दो व्यवस्था नहुँदा धारा भए पनि पानीका लागि खोलामै झर्नुपर्ने बाध्यता रहेको स्थानीय शान्ति माझीले बताउनुभयो । आफूहरुले खोलाको छेउमै जरुवा बनाएर पानीको गर्जो टार्दै आएको जानकारी दिँदै उहाँले घरको आँगनमै भएको खानेपानीको धारा हेर्नलाई मात्र भएको उहाँले गुनासो गर्नुभयो गाउँपालिकाको करिब रु १० लाखको लागतमा निर्माण भएको धारामा आठ महिना बितिसक्दा पनि पानी नआएको सोही ठाउँ निवासी सरिता माझीले बताउनुभयो ।
गाउँलेहरू पानीको दुःख भोगिरहन बाध्य हुनुपरेको अर्का स्थानीय रामजी माझीले बताउनुभयो । मुहान बनाउन र पानीको सहज आपूर्ति गर्न स्थानीय तहले चासो दिएको छैन । प्रदूषित पानी प्रयोग गर्दा विभिन्न सङ्क्रामक रोग लागेर उपचार गराउन ल्याउने गरेको चौतारा अस्पतालका चिकित्सक एलिजा हमालको भनाइ थियो ।
राससबाट