इन्द्रबहादुर थापा
काभ्रे, मंसिर २८
हिजो (मंगलबार) साँझ भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएकोमा सबैको सनाखत भएको छ।
प्रहरीले सनाखत गरी ९ वटा शव मृतकका आफन्तलाई बुझाएको छ भने एकै परिवारका ८ जनाको शव आफन्त नहुँदा धुलिखेल अस्पतालमै छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार मृतक १७ जनाकै पोस्टमार्टम भैसकेको र तीमध्ये नाैजनाको शव परिवारले बुझेर धार्मिक रीतिरिवाजअनुसार दाहसंस्कारका लागि लगेका छन्।
बाँकी ८ वटा शव बुझ्ने आफन्त नहुँदा धुलिखेल अस्पतालमै रहेको न्यौपानेले बताएका छन्। उनीहरूको परिवारमा दुईजना घाइते अवस्थामा रहेका छन् भने एकजना विदेशमा रहेका छन्। ‘आठवटा शव परिवारले बुझ्न बाँकी छ, अन्य नाै शवहरूलाई परिवारको जिम्मा लगाएका छौँ।’
प्रहरी उपरीक्षक न्यौपानेले भने, ‘सानो नानी र परिवारको कान्छो छोराको उपचार भइरहेको छ । एकजना जापानमा छन् भन्ने सुनेको छु, भोलि बेलुकीसम्ममा आएर शव बुझ्ने कुरा छ।’
एकै परिवारका आठ शव
उक्त बस दुर्घटनामा परी एकै परिवारका ८ जनाको मृत्यु भएको छ। बनेपा नगरपालिका वडा नं. ११ का ७९ वर्षीय निर्मला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीय हेमा तामाङ, ३० वर्षीय बुद्ध तामाङ, २८ वर्षीय मञ्जु तामाङ, २७ वर्षीय कोपिला तामाङ र ११ वर्षीय पुष्कर तामाङ छन्। उनीहरू सबै एकै परिवारका हुन्।
मृतक कुमार तामाङका छोरा राजन तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ भने मृतक बुद्ध तामाङ र कोपिला तामाङकी आठ वर्षीय छोरी श्रेया तामाङको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेकाे छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारीसमेत रहेका न्यौपानेले दिएको जानकारीअनुसार २२ जना घाइतेमध्ये २ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने बनेपास्थित शिर मेमोरियल अस्पतालमा आठजना, धुलिखेल अस्पतालमा नौजना र बाँकी तीनजना काठमाडौंको बिएनबी र भक्तपुरमा उपचाररत छन्।
पीडितलाई क्षतिपूर्ति दिन यातायात व्यवसायी सहमत
काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ चलाल गणेशस्थाननजिकै मंगलबार भएको बस दुर्घटनाका मृतक तथा घाइतेका आफन्त र यातायात व्यवसायीबीच क्षतिपूर्तिका सम्बन्धमा सहमति भएको छ। दुर्घटनाका पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सहमति भएको हो।
बुधबार दिउँसो २ बजे बसेको बैठकमा दुर्घटनामा घाइतेको आवश्यक उपचार गराउन र मृतकलाई कानुनअनुसार क्षतिपूर्ति प्रदान गराउन पुण्यमाता यातायात प्रालि प्रतिबद्ध रहेको सो संस्थाका अध्यक्ष राजेशसुन्दर सैँजुले बताए।
अहिले तत्कालका लागि दाहसंस्कार गर्न मृतकका परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराएको सैँजुले बताए।
बस दुर्घटनाबाट मृत्यु भएकाहरूलाई उचित क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त र घाइतेले यसअघि पनौतीबाट चल्ने सार्वजनिक यातायात अवरुद्ध गरेका थिए।
दुई पालिकाले दिए शोक बिदा
बेथानचोक गाउँपालिका र बनेपा नगरपालिकाले दुर्घटनामा परी मृत्यु भएको दुःख व्यक्त गर्दै र घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दुई पालिकाले एक दिन सार्वजनिक बिदा दिएका छन्।
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले सूचना जारी गर्दै शोक बिदा दिने जनाएका हुन्।
सम्पूर्ण दिवंगत आत्माको चिर शान्तिको कामनासहित घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनाका लागि शोक बिदा दिएको अधिकारीले जानकारी दिएका छन्।
गाउँपालिकाभित्रका सरकारी कार्यालयहरू, गैरसरकारी संघ-संस्थाहरू र विद्यालयहरूलाई शोक व्यक्त गर्दै बिदा दिन अधिकारीले जारी गरेको सूचनामा आग्रह गरिएको छ।
त्यसरी नै जिल्लाका विभिन्न पार्टीहरूले पनि शोक वक्तव्य जारी गरेका छन्। नेकपा एमाले काभ्रे, नेपाली कांग्रेस काभ्रे र नेकपा माओवादी कांग्रेसले शोक वक्तव्य जारी गरेका छन्।
नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्यञ्जु, कांग्रेस काभ्रेका सभापति तीर्थ लामा र नेकपा माओवादी केन्द्र काभ्रेका संयोजक भोला अर्यालले वक्तव्य जारी गरेका हुन्।
दुर्घटनामा ज्यान गुमाउनेहरू