तस्वीर : अनलाइन खबरबाट
कमलादेवी गौतम । साझाकथा
सरकारले सातवटै प्रदेशलाई समेटेर एक सयवटा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरी सार्वजनिक समेत गरिसकेको छ ।
पर्यटकीय क्षेत्रमा परेर विकास भइसकेको स्थापित स्थानहरूलाई नै प्राथमिकतामा राखिएको र त्यसले नयाँ गन्तव्य खोजी गर्न नसकेको गुनासो धेरैको छ । घोषणा मात्र नभइ नयाँ सम्भाव्य स्थान पहिचान गरी आवश्यक विकास गरेर प्रचार गर्न आवश्यक भएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
रसुवा टे्रक्स एण्ड एस्पीडिसन, ठमेलका व्यवस्थापक गगनराज न्यौपाने सरकारले यसअघि नै स्थापित स्थानको चर्चा धेरै गरेको बताउँछन् । ‘मुख्य पर्यटकीय क्षेत्रमा परेका स्थानहरू त छँदैछन्, नयाँ स्थानको पहिचान गरेर प्रवद्र्धन गर्नुपर्छ’, उनी थप्छन् ।
विदेशी तथा स्वदेशी पर्यटक नयाँ ठाउँमा घुम्न जान रुचाउँछन् । नयाँ ठाउँमा आवश्यक विकास गरी प्रचार आवश्यक छ ।
‘काठमाडौंको बुढानीलकण्ठबाट नुवाकोट सागरकुण्डहुँदै रहुचुलीबाट गोसाइँकुण्ड जाने पदमार्ग धेरै राम्रो छ । बाटो झुक्किने हुनाले संकेत राखिदिनुपर्छ । यहाँबाट १५ वटा ताल र धेरै हिमाली दृष्य देखिन्छन्’, न्यौपाने थप्छन्, ‘रसुवाको नागथली-तारुचे र नौकुण्ड-गोसाइँकुण्ड अर्को प्रचारमा ल्याउनुपर्ने ट्रेकिङ रुट हो ।’
गगन भन्छन्, ‘ट्रेकिङका लागि सोलुखुम्बुको पिके, म्याग्दीको खोप्रा र टोडके नयाँ गन्तव्यका रूपमा विकास गर्नुपर्ने देखिएका छन् । धेरै स्थानहरू छुटेका छन् तर सरकार मौन छ ।’
आस्क दि नेपाल एडभान्चर प्रालिका शिव लामिछाने भन्छन्, ‘सयवटा नयाँ पर्यटकीय गन्तव्यमा मध्य पहाडी क्षेत्रका सहर नजिक र लक्षित गरेको छ । राइका क्षेत्रका केही पर्यटकीय क्षेत्र लक्षित गरेको हो ।’ यसले भारतबाट आउने पर्यटक लक्षित बजार बढाउन काम गर्ने छ । नेपालमा धार्मिक र पर्वतीय पर्यटनमा स्थापित क्षेत्र छन् ।
‘राज्यले पूर्वाधार तयार गरी सुरक्षा अनुभूति दिन सके पर्यटन विकासको माध्यमबाट समृद्धि सम्भावना छ’, उनी थप्छन्, ‘सयवटा पर्यटकीय गन्तव्यमा परेका र बाहिरका क्षेत्रमा निजी क्षेत्रले लगानी र विश्वास गर्ने वातावरण तयार गर्न तीनै तहका सरकार लाग्नुपर्छ ।’ उनी अझै धेरै पर्यटकीय स्थानको पूर्वाधार विकासमा सरकारले लगानी गर्नुपर्नेमा जोड दिन्छन् ।
घोषणा तथा सूचीमा पारेर मात्र होइन, सरकारले स्थानीय आवश्यकता र सम्भाव्यता अध्ययन गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने र पर्यटकीय क्षेत्रमा सूचना केन्द्र, बाटोघाटो आधारभूत विकास गर्न आवश्यक छ ।