‘होस खुल्दा अस्पतालको बेडमा रहेछु’

केदार तिमल्सिना

काभ्रेपलाञ्चोक, मङ्सिर २९

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ का २० वर्षीय रूपक तामाङ बुधबार बिहान होस खुल्दा बनेपास्थित शिरमेमोरियल अस्पतालको बेडमा हुनुहुन्थ्यो। उहाँ मङ्गलबार साँझ बेथानचोक गाउँपालिका–४ चलालगणेशस्थान नजिक भएको सवारी दुर्घटना कसरी भयो, दुर्घटनामा कसलाई के भयो केही थाहा छैन।

आफू अस्पतालको बेडमा हुँदा उहाँलाई सपना जस्तै लागेको छ। ‘हामी व्रतबन्ध (छेवर) बाट फर्कँदा ढिलो भएको थियो। हामी उता जाने बेलामा भन्दा फर्कने बेलामा बसको तीव्र गतिमा थियो’, उहाँले भन्नुभयो।

‘घर फर्कने बेलामा म निदाएको रहेछु, घटनाको बारेमा मलाई केही थाहा छैन, आज बिहान एकै पटक उठ्दा त अस्पतालको बेडमा रहेछ,’ उहाँले थप्नुभयो, ‘बसका चालकले चाँडै जाऊँ, बाटो अलि नराम्रो छ भन्नुभयो, हामी सगुन दिएर फर्कँदा ढिलो भयो’।

यसैगरी दुर्घटनाका घाइते बसका सहचालक सन्तोष चौलागाईंले दुर्घटना हुँदा बसको गति सामान्य रहेको बताउनुभयो। ‘गाडी ओभर स्पिडमा थिएन, असजिलो बाटो क्रस भएर आएका थियौँ, सजिलो बाटोमा आएर दुर्घटना भयो’, सहचालक चौलागाईंले भन्नुभयो।

‘बसमा यताबाट जाँदा तीन वटा खाली सिट गएका थियौँ, उताबाट आउँदा पाँच जना थपिनु भएको थियो, ओभरलोड पनि थिएन, कच्चीबाटोमा गाडी चढ्दैन भनेर थिचेर चलाएको हुनाले उहाँहरूलाई ओभर स्पिड लागेको हुनसक्छ’, सहचालक चौलागाईंले थप्नुभयो।

मृतक सबैको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थान सल्लाफेदमा भएको सवारी दुर्घटनाका १७ जना मृतकको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका काभ्रेपलाञ्चोकका अनुसार दुर्घटनामा ललितपुर जिल्ला महाङ्काल गाउँपालिका–६ का बस चालक सन्तोष भन्ने तेजप्रसाद तिमल्सिना, बनेपा नगरपालिका–११ की २८ वर्षीया कोपिला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ११ वर्षीय पुष्कर तामाङ रहनुभएको छ।

यसैगरी दुर्घटनामा बेथानचोक गाउँपालिका–४ का १९ वर्षीय रविन तामाङ, तेमाल गाउँपालिका–८ की २९ वर्षीया टिकालक्ष्मी तामाङ, ९ वर्षीय गुरु लक्ष्मणदास तामाङ, बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, २८ वर्षीया मञ्जु तामाङ, मकवानपुर इन्द्रसरोबर गाउँपालिका–१ की ६ वर्षीया समीक्षा थिङ, बनेपा नगरपालिका–११ की ४३ वर्षीया हेमा तामाङको मृत्यु भएको छ।

त्यसैगरी दुर्घटनामा जिल्लाको मण्डनदेउपुर नगरपालिका–१ की ४१ वर्षीया चेलीमाया तामाङ, बनेपा नगरपालिका–११ का ५० वर्षीय आकुर तामाङ, बनेपा नगरपालिका–१४ का रामकुमार तामाङ, बनेपा नगरपालिका–११ का ३० वर्षीय बुद्ध तामाङ, बनेपा नगरपालिका–१४ की २८ वर्षीया गीता श्रेष्ठ र बेथानचोक गाउँपालिका–५ की २४ वर्षीया मञ्जु तामाङको सनाखत भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा २२ जना घाइते भएकोमा एक जना उपचारपछि डिस्चार्ज भएको जनाएको छ भने अन्य २१ मध्ये धुलिखेल अस्पतालमा नौ जना, शिर मेमोरियल अस्पतालमा सात जना र काठमाडौँ र भक्तपुरका अस्पतालमा पाँच जनाको उपचार भइरहेको जनाएको छ।

मृतकको शवको पोस्टमार्टम गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। यसैबीच दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जिल्लाको बेथानचोक गाउँपालिका र दुर्घटनामा बनेपा नगरपालिकाको वडा नम्बर ११ र १४ का नागरिकको ज्यान गएको दुःख व्यक्त गर्दै बनेपा नगरपालिकाले बुधबार सेवा बन्द गरेको छ।

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?