डीबी बुढा
जुम्ला, पुस २
जुम्ला — तिला गाउँपालिका–१ रारागाउॅका दलबहादुर बुढालाई अहिले सिमी बेच्न भ्याइनभ्याइ छ । उनले एक महिनाअघि बारीबाट सिमी भित्र्याएका थिए । ‘सिमी फलाउनु मात्रै पर्यो, व्यापारीहरू घरमै आएर सिमी लैजान्छन्,’ उनले भने, ‘माग पनि बढेको बढ्यै छ ।’ उनले यो वर्ष उत्पादन गरेको झन्डै ५ क्विन्टल सिमी नेपालगन्ज र सुर्खेत गइसकेको छ ।
घरमै प्रतिकेजी १ सय ७० रुपैयाँमा सिमी बेच्न पाउँदा दलबहादुर दंग छन् । उनले सिमीको मूल्य मार्सी चामलको भन्दा पनि उच्च रहेको बताए ।
तिला–९ का तुलबहादुर बुढाले पनि बर्सेनि सिमी बेचेरै घर खर्च चलाउँछन् । उनले सिमी बेचेको पैसाले नै ५ जनाको परिवार धानेका छन् । एक छोरा र एक छोरीलाई सदरमुकाम खलंगामा पढाइरहेका छन् ।
‘पहिले सिमी नबिक्दा भकारीमा थन्क्याउँथ्यौं, वर्षौं पुरानो सिमीको दाल उपभोग गर्नुपर्ने बाध्यता पनि थियो,’ उनले भने, ‘अहिले त सबै सिमी बिक्री भएपछि घरमा दाल खानका लागि पनि बच्दैन, सबै सिमी गाउँमै आएका व्यापारीले होलसेलमै लैजान्छन् ।’ उनले झन्डै ७ रोपनी जग्गामा सिमी खेती गरिरहेका छन् । जसबाट उनले ३ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् ।
रारालिही जिल्लामा सबैभन्दा सिमी उत्पादन हुने गाउँ हो । स्थानीय बुद्धिमल रावतका अनुसार गाउँमा २ सय ८० घरधुरी छन् । प्रत्येक घरमा न्यूनतम ५ क्विन्टल सिमी उत्पादन हुने गरेको उनको भनाइ छ ।
उनका अनुसार करिब १० किसानको बारीमा त २५ क्विन्टलसम्म सिमी फल्छ । ‘हाम्रो उत्पादन काठमाडौंसम्म पुग्ने गरेको छ, सिमी जिल्ला बाहिर जान थालेपछि हामीलाई पनि घर खर्च चलाउन सजिलो भएको छ,’ उनले भने, ‘घर खर्च चलाएर बचेको रकम बचत गर्न थालेका छौं ।’
तिला गाउँपालिकाको कृषि शाखाका रारागाउँमा मात्र गत वर्ष ४ हजार २ सय क्विन्टल सिमी उत्पादन भएको थियो । यो वर्ष किसानहरूले तथ्यांक उपलब्ध नगराएकाले कति उत्पादन भयो भन्ने आँकडा छैन ।
स्याउ सुपरजोन कार्यालयले तिलाका रारा र लर्मी गाउँलाई सिमी पकेट क्षेत्रका रूपमा अघि सारेको छ । कर्णाली राजमार्ग नजिकैको बस्ती भएकोले उत्पादन भएको सिमी घरमा थन्किँदैन । तर यस वर्ष सिमी फल्ने मौसममा अत्यधिक वर्षा भएकाले उत्पादनमा केही कमी आएको किसानहरूको भनाइ छ ।
जुम्लाको एक नगरपालिकासहित ७ गाउँपालिकामा सिमी फल्छ । यहाँको सिमी सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, काठमाडौं, पोखरालगायतका सहरहरूमा पुग्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले जुम्ली सिमीको दाल र गेडा स्वादिलो र स्वास्थ्यका हिसाबले लाभदायक भएकोले बाहिर जिल्लामा माग अत्यधिक रहेको बताए ।
उनका अनुसार गत वर्ष जिल्लाभरि करिब १ हजार ९ सय हेक्टरमा २ हजार ७ सय टन सिमी उत्पादन भएको थियो । जुम्लामा उत्पादन भएको झन्डै ६० प्रतिशत सिमी जिल्ला जाने गरेको कार्यालयको तथ्यांक छ ।
कान्तिपुरबाट