डा. रूपक भारी
काठमाण्डौ, पुस ३
मान्छेहरूको हल्लाको पछि भाग्ने बानी छ। मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन।
के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो। सुगर भन्नासाथ चिनी, भात र आलु खान नहुने रोग होइन। हामीले खाएका खानेकुरा पेटमा गएर बन्ने चिनी नै हो। रगतमा चिनीको मात्रा बढी हुनु भनेको चिनी बढी उत्पादन भएको होइन। खाएको खानेकुरा खेर गएको हो।
मुख्य बुँदा यसप्रकार छन्।
– प्राकृतिक खानेकुरा जे खाँदा पनि हुन्छ। दाल, भात, तरकारी, दूध, दही, मोही, सागसब्जी, मासु र फलफूल जे खाए पनि हुन्छ।
– सामान्य बुझ्नु पर्ने के हो भने हामीले केही पनि बढी खान भएन। बिरामीहरू मैले चिनी, चामल खाएको छैन। उसिनेको चामल खान्छु भन्नुहुन्छ तर जतिसुकै सुगर प्रेसर बढे पनि रक्सी खान छोड्नु हुन्न।
– हामी गलत कुराको पछि लाग्छौं। कुनै पनि खानेकुरा एकै पटकमा धेरै खान भएन, पटक पटक गरेर खाने तर धेरै नखाने।
– हाम्रो देशमा सुगरफ्री चामल, दाल, जुस, मिठाइ र सेलरोटी पाइन्छ। यस्तो किन जरूरी भयोर? एक दिनमा सय ग्राम फलफूल खाँदा केही हुँदैन।
– सुगर भनेको उसिनेको चामल खानु पर्ने रोग होइन। सुगर भएकाले यो खाने, यो नखाने भनेर छुट्टाएका छौं। त्यो भ्रम हो।
– एक चम्चा चिनी खाँदैमा केही बिग्रिन्न। होटलमा भस्म खाने, चिल्लो खाने, रक्सी पिउने तर सामान्य दालभात किन नखाने? सुगरका बिरामी आत्तिन जरूरी छैन। सुगर समाजका हरेक वर्गलाई छ।
व्यायाम सबैले गर्न जरूरी छ।
– आधा घन्टा व्यायाम गर्नुस् भन्यो, फुर्सद छैन भन्छन्। सधैँ हतारमा हुने मान्छेले समयमा काम कहिल्यै गर्दैन।
– मान्छे अल्छी भयो भने सुगर हुन्छ। सुगर चिनी खाएर लाग्ने रोग होइन। आवश्यकताभन्दा बढी खाने र चाहिनेभन्दा बढी तौल हुनेलाई सुगर हुन्छ।
– तौल, खाना र व्यायामलाई सन्तुलन मिलाउन सके सुगरबाट बच्न सकिन्छ। चिकित्सकको सल्लाहअनुसार औषधी खानुपर्छ। अनेकथरी जडीबुटीका पछाडि लाग्नु हुँदैन।
श्रेयुबाट