तस्वीर : नेवा टाइम्स्बाट
काठमाडौं, पुस ४
विगत १५ वर्षदेखि वनश्रोतमा आधारित वायो इनर्जीको उत्पादन र प्रयोग तिब्र गतिमा बढेको छ । कतिपयले यस्तो इनर्जी कार्बन न्यूट्रल कार्बन हुने भने पनि यो सत्य होइन । वायो इनर्जी सप्लाई रिपोर्ट (२०२०)का अनुसार वायो इनर्जीको प्रयोग सन् २००० को तुलनामा सन् २०२० मा ३ गुणाले वृद्धि भएको छ ।
प्रतिवेदनअनुसार वायोमासलाई इन्धनको रूपमा परिणत गर्दा जलवायुमा नकारात्मक योगदान मात्र पु¥याउँदैन कि यसले वन, जैविक विविधता नष्ट गर्नुको साथै वनमा आश्रित समुदायको वन अधिकार समेत कुण्ठित गर्नेछ ।
उक्त कुराको जानकारी आज अन्तर्राष्ट्रिय वायोमास एक्सन दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)ले ग्लोवल फरेष्ट कोयलिसन, इन्भ्यारोमेन्टल पेपर नेटवर्क र विपद पत्रकारिता सञ्जाल (डिजेएन)को आयोजनामा भएको कार्यक्रममा ‘नेपालमा वन श्रोतमा आधारित वायो इनर्जी उत्पादनको औद्योगिकरण र महिला तथा वनमा निर्भर समुदायमा परेको प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गर्दै अध्येता भोला भट्टराईले नेपालमा वायोमास इनर्जी रणनीति (२०१७) लागू गरिएको तथा रणनीतिले ठूलो मात्रामा बायोमास इनर्जी उत्पादनको लागि बाटो खोलेको उल्लेख गर्दै यही रणनीतिकै आधारमा बायोमास इनर्जीसम्बन्धि उद्योगहरु समेत धमाधम स्थापना भई वायोव्रिकेट, गुईंठा, पेलेट उत्पादन गरी बजारमा बिक्री हुन थालेको जानकारी गराउनुभयो ।
राष्ट्रिय जनवकालत मञ्च, नेपाल (नाफान)ले ग्लोवल फरेष्ट कोयलिसन र इन्भ्यारोमेन्टल पेपर नेटवर्कको सहकार्यमा गरेको अध्ययनकाको प्रतिवेदनअनुसार नेपालको ग्रामिण क्षेत्रमा अझै पनि ७७% इन्धनको रुपमा दाउरा, गुइँठालगायत कृषि क्षेत्रबाट फालिएका वस्तुहरू वाल्ने प्रचलन कायमै छ ।
वायुफ्यूल वाच र ग्लोवल फरेष्ट कोलिसनको अध्ययनअनुसार वन उपजमा आधारित इनर्जी उत्पादनको लागि ठूलो ठाउँ चाहिने, र यसले प्रत्यक्ष रूपमा वनमा आश्रित समुदाय र जलवायु परिवर्तन न्यूनीकरणमा नकारात्मक असर पार्ने देखिन्छ । वि.वि.सी.को प्रतिवेदनअनुसार पनि औद्योगिक स्तरमा उत्पादित पेलेटले क्यानडाको वन क्षेत्रको व्यापक विनाश गरेको छ ।
नेपालको अवस्थालाई हेर्ने हो भने नेपालमा करीब १० वटा वायोमास इनर्जी कम्पनीहरूले वनश्रोतमा आधारित उर्जा (वायो विक्रेट, पेलेट आदि) उत्पादन गरी बजारीकरण गरि रहेका छन् । यीमध्ये केहिले औधोगिक स्तरमा पेलेट उत्पादन लक्ष्य लिई सरकारसँग वनमा रहेको वायोमास संकलन र प्रयोगको सम्झौता गरी उत्पादन शुरु गरेको छन् । अध्येता भट्टराईकाअनुसार याे प्रकृया भविष्यकाे नेपालका लागि जोखिमपूर्ण छ ।
प्रतिवेदनअनुसार वायोमासको संकलन कार्यले वनविनाश तिब्र रुपमा बढ्ने देखिन्छ । वायोमास अर्थात् वनमा रहेका घाँस, पात, पतिङ्गर, बुट्यान, हाँगाबिंगाको साथमा वनका विरुवा र रूख समेत काटिन थालेका छन् । वायो इनर्जी कम्पनीसँग सम्झौता भएपछि स्थानीय वासिन्दाले वन पैदावार उपभोग गर्न नपाउने जोखिम बढ्दै जान्छ । भट्टराईका अनुसार ‘वनक्षेत्र सामुदायिक अर्थात साझा संस्कृति हो । यदि वनमाथि नाफामूलक कम्पनीलाई यो अधिकार दिइयो भने वनमाथिको सामुदायिक अधिकार कुण्ठित हुन्छ ।’
अध्ययन प्रतिवेदनले तत्काल वायोमास इनर्जी रणनीति, २०१७ खारेज गरी नयाँ ‘अफोर्डएबल एण्ड नन फोसिल वेस्ड’ उर्जा नीति वृहत छलफल र परामर्शमा बनाइनु पर्ने उल्लेख गरेको छ । यस्तै प्रतिवेदनले परम्परागत रूपमा उपयोग गरी रहेको वायो इनर्जीलाई ब्यापारीकरण गर्ने कार्य तत्काल रोकिनुपर्ने, समुदायका वनश्रोतमा आश्रित समुदायको इन्धनमाथिको अधिकार खोस्ने कार्य बन्द गरिनुपर्ने, औद्योगिक स्तरमा वनको वायोमास निकाल्ने कार्यले वनमा आश्रित समुदायको जीवन र जीविका नै खतरामा पर्ने भएकोले यस्तो कार्य बन्द गरिनुपर्ने तथा वनक्षेत्रको वायोमास औद्योगिक प्रयोजनका लागि निकाल्दा वन तथा जैविक विविधता नष्ट हुने भएकोले यस्तो अवस्था नआउने रणनीति अंगिकार गर्नुपर्ने उल्लेख छ । यस्तै, वन श्रोतमा आधारित औद्योगिक स्तरको वायो इनर्जीलाई वैकल्पिक उर्जा इनर्जीको रुपमा मान्यता दिइने कार्य बन्द गर्नुपर्ने उल्लेख छ ।
‘हाम्रो भविष्य धुवाँमा नउडाऔं’ भन्ने नारासहित विश्वव्यापि रुपमा मनाइएको उक्त दिवसको प्रयोजन उल्लेख गर्दै विपद पत्रकारिता सञ्जालकी अध्यक्ष अमिका राजथलाले आगामी नोभेम्बरमा हुने संयुक्त राष्ट्र संघीय, कोप सम्मेलनमा नीति निर्माण तथा दवाव सिर्जना गर्न आजको दिनले सहयोग गर्ने बताउनुभयो । यस्तै, वनविनाश रोक्न जनचेतना फैलाउन, विश्वव्यापि सरोकारको विषय वन्दै गएको जलवायु परिवर्तनको एजेण्डालाई बुलन्द बनाउन पनि आजको दिनले सहयोग गर्ने उहाँले बताउनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता वन,वातावरण विज्ञ तथा नाफानका कार्यकारी सदस्य योगेन्द्र विजय दाहालले गर्दै वन तथा वातावरणको संरक्षणका लागि सकृय सहभागिताको लागि आव्हान गर्नुभयो ।