फाेटाे फिचर
तस्वीरहरू : प्रकाश गाेपाली
भुजुङ नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी प्रदेश को लमजुङ जिल्लामा अवस्थित एक गाउँ हो। गण्डकी प्रदेश अन्तर्गत लम्जुङ जिल्लाको साविक ६१ वटा गाविसहरू मध्ये एक गाउँ एक गाविसले प्रख्यात पर्यटकीय नमुना गाउँको रूपमा भुजुङ गाउँलाई चिनिन्छ।
यो गाउँ जिल्लाकै सबैभन्दा ठूलो र सिरान गाउँको रूपमा पनि प्रख्यात छ। समुन्द्री सतहदेखि करिब १६०० मिटरको उचाईमा रहेको यस गाउँको पूर्वमा घले गाउँ, पश्चिममा पसगाउँ, दक्षिणमा भोंजे पर्दछ भने उत्तरमा विशाल जंगल, घाँसे खर्क, लम्जुङ हिमाल, अन्नपूर्ण हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ।
“न्याय नपाए गोर्खा जानु, संस्कृति खोज्न भुजुङ जानु” भन्ने भनाई पनि प्रचलित रहेको छ। यस गाउँमा अझ पनि गुरुङहरूको परम्परागत रितिरिवाज, भेषभुषा, भाषा, संस्कृति र पहिचान जिवितै रहेको छ। घरहरूको पर्खाल ढुंगा, माटो, काठ र छानोमा ढुङ्गा, टिन र खरले छाएको पुरानो शैलिका आर्कषक पुरानो घुमाउने घर पनि यहाँ रहेको छ।
खानाको रूपमा लोकल चामलको भात, कोदोको ढिंडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरीलो, पिडालु, अनि कोदोको शुद्ध रक्सी, लोकल खसी र कुखुराको मासुको पनि स्वाद लिन सकिन्छ। यहाँका मानिसहरूको मुख्य पेशा भनेको कृषि हो। यस गाउँका मानिसहरूले पशुपालनमा भैंसी, वाख्रा भेंडा र पशुपंक्षीमा कुखुरा पाल्ने गरेका छन्।
मिहेनती र लगनशिल छन् यहाँका मानिसहरू, फुर्सदको समयमा पुरुषहरूले डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी र महिलाहरूले उनवाट राडीपाखी, बख्खु, पुवाबाट थैलो, झोला, भाङग्रा जस्ता हस्तकला सामानहरू बनाउँछन्। परम्परागत ऐतिहासिक संस्कृति नृत्यमा भुजुङ्कै गहनाको रूपमा घाँटु, कुसुन्डा, कृष्ण चरित्र, साराङ्गी, घ्याब्री, प्हच्यु, सेर्गा, नृत्यहरू यहाँको विशेष आर्कषण हुन्।
धार्मिक, ऐतिहासिक, सांस्कृतिक विविधता अनि प्राकृतिक छटाले भरिपुर्ण् घना जंगल, डाँडापाखा, छहरा, कन्दरा, हरियाली, हराभरा स्वच्छ वातावरण, हावा, मुटु छुने चिसो पानी, मोती जस्तै टल्कने हिमालहरू, दक्षिणतर्फ नागवेली आकारमा सुसाई बगेको मिदिम खोला, गाउँकै अगाडि छङछङ झरी रहने कईयो झरना यि यस्ता कुराहरूले सबैलाई हषिर्त एवं आनन्दित तुल्याउँछ।
गाउँवाट देखिने तल्क्यु, घिम्चे, चिलिन्चे, रम्जै, कम्दी, किज्गो जस्ता खेती योग्य फाँटहरूको आकर्षणले वास्तवमा भुजुङ् गाउँलाई स्वर्ग जस्तै बनाएको छ। कला संस्कृतिलाई नजीकवाट नियाल्ने र ग्रामीण पर्यटनलाई टेवा पुर्याउनको निम्ति एक पटक भुजुङ गाउँ जानै पर्दछ।
तपाईलाई केहि भन्नु छ ?