नेपाली राजनीतिमा सार्थक बहसको खाँचो

विचार

लेबनानी मूलका विश्वविख्यात अमेरिकी साहित्यकार खलिल जिब्रान धेरै बाँचेनन् । ४८ वर्षको अल्पायुमा कार दुर्घटनामा उनको मृत्यु भयो । उनी विश्वप्रसिद्ध कवि, कलाकार, साहित्यकार र दार्शनिक हुन् । यद्यपि, उनी आफूलाई दार्शनिक भनाउन तयार भएनन् र यो उपाधिलाई अस्वीकार नै गरे ।

उनले भनेका छन्, ‘विभिन्न चोट सहेर नै मजबुत मान्छे पैदा हुन्छ । त्यसैले हरेक महान् चरित्रका शरीरमा घाउको निसानी हुन्छ ।’ उनी अगाडि भन्छन्, ‘तिमी अविचलित रूपमा अघि बढ, किनभने अघि बढ्नु नै पूर्णता हो । यात्रामा तिमीलाई घोच्ने काँडासँग नडराऊ, किनकि उसले केवल विषालु रगत मात्र निकाल्छ ।’ कस्तो कालजयी विचार ! यसलाई सार्वकालिक र सार्वदेशिक विचार मान्न सकिन्छ । यो व्यक्ति, संस्था र देश सबैको हकमा लागू हुन्छ ।

यसले दर्साउँछ वा प्रमाणित गर्छ कि उनमा भएको उर्वर चिन्तन र काव्यचेतले कविता मात्र जन्माएन, जीवन र जगत्का सम्पूर्ण आयामबारे सघन चिन्तनका माध्यमबाट संसारलाई दिशानिर्देशसमेत गर्‍यो ।

यो प्रसंग किन उद्धृत गर्न खोजेको हो भने नेपाली राजनीतिले आजसम्म मूलबाटो समात्न सकेन । यसको कारण अरू केही होइन । पहिलो कारण नेपालजस्ता देशमाथि शक्तिशाली राष्ट्रहरूको थिचोमिचो नै हो भने अर्को कारण नेपालमा अपनाइएका राजनीतिक प्रणाली हुन्

बारम्बार मौका पाएर पनि नेतृत्व कुशलता देखाउन नसक्ने आजको नेपाली राजनीतिक नेतृत्वमाथि प्रश्न गरेर सार्थक बहसमा उत्रिने समय आएको छ । 

पछिल्लो कारण भने राजनीतिक नेतृत्व नै हो, जसले बारम्बार मौका पाएर पनि नेतृत्व कुशलता देखाउन सकेन । अब प्रश्न उठ्छ, माथिको प्रसंग र तलको विषय कसरी मेल खान्छ त ? हो, अब बहस यहीँबाट सुरु गरौँ । नेपालको राजनीतिक आन्दोलनमा लागेका अनगिन्ती पात्रमध्येका सबैभन्दा असल र योग्य पात्रहरू राजनीतिमा लामो समय टिकेनन् वा टिक्न दिइएन, जसको सिलसिला आज पनि जारी छ ।

उनीहरूलाई बारम्बार यति धेरै चोट दिइयो कि ती उठ्नै सकेनन् वा टिक्नै सकेनन् र पलायन भए । उनीहरूमा जागृतिसहितको दृढ अठोट नै भएन । अवधका अन्यायी राजा धनानन्दले दुव्र्यवहार गरेका चाणक्यले हरेश खाएर पलायनको बाटो अख्तियार गरेका भए आजको विशाल भारतको अस्तित्व त्यतिवेलै नामेट भइसक्थ्यो ।

त्यसैले समाजका असल र योग्य पात्रहरूले कहिल्यै पिठ्युँ फर्काएर भाग्नुहुँदैन भन्ने निष्कर्ष खलिलको हो । राजनीतिमा टिकेका पात्रहरूमा पर्याप्त चलाखी र धुत्र्याइँ थियो, तर क्षमता औसत मात्र थियो । त्यागको भावनाभन्दा प्राप्तिको लालसा ज्यादा थियो । समर्पणभन्दा बढी लोभ थियो ।

समय–समयमा प्राप्त जिम्मेवारी देश, जनता र समग्र मानव सभ्यताका निम्ति हो भन्ने सामान्य चेतसम्म थिएन । विचार, दर्शन र दल जेसुकै भए पनि आधारभूत चरित्र एकै थियो, जीवनको उद्देश्य समान थियो । अनि राजनीतिले मूलबाटो समातोस् कसरी ?

नेपाली राजनीतिको पनि निष्कर्ष यही हो भन्दा फरक पर्दैन । तर, अब त्यस्तो हुनेछैन । कसरी हुनेछैन भन्दा खलिल जिब्रानले पर्याप्त मार्गनिर्देश गरेका छन् । नेपाली राजनीतिले बारम्बार चोट दिएका जनता र दलभित्रका अनगिन्ती सदस्यबीच आगामी यात्राको बृहत् तयारीका निम्ति गम्भीर संवाद प्रारम्भ हुनुपर्छ र हुँदै छ पनि । यस्तो संवाद केही समयसम्म जारी रहनेछ । संवादका धेरै माध्यम हुनेछन् । भौतिक र अभौतिक दुवै माध्यम उपयुक्त हुनेछन् र नेपालको राजनीतिक इतिहासलाई अद्वितीय मोड दिने सार्थक प्रयत्न गरिनेछ ।

यसले नेपाली समाजको रहलपहल जीवनदायिनी शक्तिलाई पुनर्संगठित र उजागर गर्नेछ । यसले कसैको हानि गर्नेछैन । बरु गलत र सही छुट्याउन सक्ने विवेक भएका सचेत नेपालीलाई एकै ठाउँमा उभ्याउनेछ र राजनीति सपार्ने प्रयत्नलाई सम्पोषण प्रदान गर्नेछ । साथसाथै, राज्य सञ्चालन ख्यालठट्टा होइन भन्ने निष्कर्षमा पुग्दै आजसम्म भएका राजनीतिक ठट्यौलीबाट नेपाली समाजलाई मुक्त गर्नेछ ।

हिजोकै खेलाडी, टिम व्यवस्थापन र कार्यशैलीबाट अपेक्षित परिणाम कुनै हालतमा पनि प्राप्त हुन सक्दैन । राजनीतिक दलका नेताहरूको क्षमता, कार्यशैली र जनतालाई तिनले गर्ने व्यवहारबाट सम्पूर्ण जनता आजित छन् । नेपालको भविष्य संकटउन्मुख छ ।

अहिले नेपाली समाजमा गम्भीर चिन्ता छाएको छ । कारण, निर्वाचनले दिएको परिणाम जनता आश्वस्त हुने खालको छैन । पुराना दलहरूको जनमत खुम्चिएको छ भने नयाँ दलहरूको अभ्युदय भएको छ । राजा र हिन्दुत्वको वकालत गर्ने दलले जनमत वृद्धि गरी आकार विस्तार गरेको छ ।

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना न्यून छ । बाँकी दलहरू सबै मिले पनि बहुमत पुग्न कठिन छ । दुई ठूला दलमध्ये एक दलसँग झन्डै आधा दर्जन दल मिल्नुपर्छ । यसरी बनेको मिलिजुली सरकार कति दिन र कसरी चल्ला, गम्भीर प्रश्न छ । सरकार चलिहाले पनि त्यसले सुशासन देला ? जनताको कष्टकर जीवनलाई सुधारेर देशको भौतिक विकास गर्ला ? यी चिन्ता स्वाभाविक हुन् ।

जनताले भोलिको अनुमानसमेत आजै लगाउन सक्छन्, सहजै लगाउन सक्छन् । हिजोकै खेलाडी, टिम व्यवस्थापन र कार्यशैलीबाट अपेक्षित परिणाम कुनै हालतमा पनि प्राप्त हुन सक्दैन । राजनीतिक दलका नेताहरूको क्षमता, कार्यशैली र जनतालाई तिनले गर्ने व्यवहारबाट सम्पूर्ण जनता आजित छन् ।

यसले प्रस्ट पार्छ कि अबको नेपालको भविष्य संकटउन्मुख छ । कुनै पनि खेलका खेलाडी आफ्नो देशका लागि जिउज्यान छाडेर खेल्छन् । उनीहरूलाई आफ्नो निजी प्रतिष्ठासँग सरोकार हुँदैन । उनीहरूका लागि आफ्नो संस्था र त्यसभन्दा माथि देशको इज्जत नै सर्वोपरी हुन्छ । भर्खरै सम्पन्न विश्वकप फुटबलको फाइनल खेल हेर्दैगर्दा पनि यो देखियो ।

तर, के हाम्रा राजनीतिक दल र तिनका नेतृत्वमा यस्तो भावना छ ? आफ्ना जनता र राष्ट्रलाई सर्वोपरी ठानेर काम गरेका छन् तिनले ? देश, प्रणाली र जनतालाई सर्वोपरी ठान्ने नागरिकलाई कुनै दिन सम्झेका छन् ? फगत भोटका निम्ति बाहेक ? दलभित्रैका सदस्यलाई गरिएको व्यवहार कस्तो छ ? दुनियाँमा जगजाहेर छ ।

तसर्थ, अब नयाँ शिराबाट नेपालको राजनीतिलाई अघि बढाउनुपर्ने आवश्यकता देखिन्छ । अन्यथा, वर्तमान संविधान र राजनीतिक प्रणालीमाथि नै गम्भीर संकट उत्पन्न हुने लगभग सुनिश्चित छ । सरकार गठनको क्रममै दलहरू सुध्रिएको सन्देश नजाने हो भने परिसूचकहरूले खतराको संकेत गरिरहेका छन् । तथापि, दलहरूमा सुधारको सम्भावना न्यून छ । तसर्थ, मुलुकले नयाँ बहसको आवश्यकता बोध गरेको छ । कुनै पनि देशका निम्ति झन्डै साढे तीन दशक समय निकै लामो अवधि हो ।

प्रणाली बदल्नु मात्र राजनीतिको बहादुरी होइन, जसलाई हामी बारम्बार चर्चा गरिरहन्छौँ । यसबाहेक हामीले के गर्‍यौँ, जनता जान्न चाहन्छन् । नेपालभित्र अहिले पनि दुईवटा नेपाल छ । एउटा विकान्सोमुख नेपाल र अर्को मध्यकालीन नेपाल ।

यति अवधि मानव सभ्यताको इतिहासमा केही पात्रले संसारमा कीर्तिमान कायम गरेको बहुमूल्य समय हो । हामीले पढेका छौँ, सिद्धार्थ गौतम आफ्नो आयुको ३५ वर्षमा मानिसबाट भगवान् भइसकेका थिए । सिकन्दरले ३३ वर्षमा विश्व विजय गरिसकेका थिए ।

योभन्दा पनि कम समयमा आदिगुरु शंकराचार्यले हिन्दू धर्मको प्राण प्रतिष्ठा अर्थात् पुनरुत्थान गरिसकेका थिए भने जिसस मानिसबाट परमेश्वरका पुत्र भइसकेका थिए । अनि नेपालमा यति लामो अवधिमा के भयो र के गरियो ? जवाफ कसले दिन सक्छ ?

प्रणाली बदल्नु मात्र राजनीतिको बहादुरी होइन, जसलाई हामी बारम्बार चर्चा गरिरहन्छौँ । यसबाहेक हामीले के गर्‍यौँ, जनता जान्न चाहन्छन् । नेपालभित्र अहिले पनि दुईवटा नेपाल छ । एउटा विकान्सोमुख नेपाल र अर्को मध्यकालीन नेपाल ।

मध्यकालीन नेपालका नागरिकको जीवन पशुतुल्य र नारकीय छ । यसको जिम्मा कसले लिने ? के नेपाली इतिहासले नयाँ ‘स्पार्टाकस’ खोजेको हो ? स्थितिले गरेका संकेतहरू निकै खतरनाक छन् । आजसम्म हामीले केवल प्रश्न मात्र गर्‍यौँ, समाधान खोजेनौँ । अब समाधान खोज्नका लागि उपयुक्त तरिका अपनाउनुपर्ने समय आएको छ । त्यो तरिका निकाल्न वा पत्ता लगाउनकै लागि सार्थक बहसको खाँचो छ ।

खलिल भन्छन्, ‘ज्ञान ज्ञान रहँदैन जब ज्ञानी असाध्य अभिमानी बन्छ र रुन पनि सक्दैन, असाध्य गम्भीर हुन्छ र हाँस्न पनि सक्दैन । त्यस्तै असाध्यै स्वार्थी बन्छ र अरूका राम्रा कुराको अनुसरण गर्न सक्दैन वा चाहँदैन ।’

नेपालजस्ता देशको दुर्भाग्य के हो भने सत्तामा पुगेका दल र तिनका नेता यति अभिमानी, यति गम्भीर (नकारात्मक) र यति स्वार्थी बन्छन् कि राम्रो कुरा, राम्रो सल्लाह र सही बाटो केही कसैले पनि पनि अपनाउँदैनन् । यसले समाजलाई गम्भीर रूपमा क्षति पुर्‍याउँछ । नयाँ पुस्तालाई जन्मँदै स्वार्थी बनाउँछ । एक प्रकारले स्वार्थ नै संस्कृति बन्छ ।

समाजलाई त्यस्तै स्वार्थी प्रवृत्ति र चरित्रले फनफनी नचाउँछ । फलस्वरूप आजको दुरवस्था सिर्जना हुन्छ । त्यसैले यस्तो वेलामा समाजका सकारात्मक चिन्तन भएका सचेत नागरिकले देशको अस्मिताको रक्षा गर्दै आफ्नो पहिचान, संस्कृति, गौरवमय परम्परा, स्वतन्त्र अस्तित्व तथा उन्नत एवं सर्वप्रिय राजनीतिक प्रणालीको रक्षा गर्न सार्थक बहस चलाउनु अपरिहार्य बन्छ । नेपाल इतिहासकै गम्भीर मोडमा छ र अबका पाँच वर्ष सुखद छैनन् ।

तसर्थ, विलम्ब नगरीकन अभिरुचि भएका दलभित्रका र अन्य सचेत नागरिक सबैले रचनात्मक छलफल र बहसमा जुट्नु आजको राष्ट्रिय आवश्यकता हो । जसले निकालेको निष्कर्षले देशलाई दिशानिर्देश गर्न सकोस् ।

(घिमिरे कांग्रेस युवा नेता हुन्)

नयाँ पत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?