साझाकथा संवाददाता
काठमाडाैं, पुस ५
निक्कै चासोका साथ हेरिएको नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् ।
त्यस्तै महामन्त्री थापाको प्रस्तावक डा शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा छन् । कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसरमा हुनेछ ।
काँग्रेस संसदीय दलको तथ्यांक अनुसार देउवा पक्षमा ५७ जना र शेखर-गगन पक्षमा ३२ जना सांसद देखिएका छन् । तर गगन थापाको व्यक्तिगत लोकप्रियता र जनतामाझ काँग्रेसकै लोकप्रियता बढाउन केही सांसदहरू थापाको पक्षमा उभिने देखिएको छ । जसले संसदीय दलको चुनाव थप रोचक र प्रतिष्पर्धात्मक बनाएको छ ।