साझाकथा संवाददाता
काठमाडाैं, पुस ५
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका नेता डा. शेखर कोइरालाले गगन थापालाई संसदीय दलको नेतामा प्रस्ताव गर्नु चानचुने कुरा नभएको बताएका छन् ।
मंगलवार काठमाडौंको एक होटलमा संस्थापन इतर समूहको बैठकमा पुगेका शर्माले डा. कोईरालाले युवामा सत्ता पुस्तान्तरणको लागि थापालाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गरेको बताए । यो एउटा गर्वको विषय भएको उनको भनाई छ ।
बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशा लैजानुपर्नेमा शर्माले जोड दिए । “संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुन्छ नै,” उनले भने ‘यसमा महत्वपूर्ण भुमिका डा. शेखर कोईरालाले निभाउनुभएको छ ।
उहाँले जुन प्रस्ताव पछिल्लो पुस्तालाई गर्नुभएको छ । आदरणीय पार्टी सभापति शेरबहादुर देउवाले पनि कुनै न कुनै किसिमले अर्को उम्मेदवार खडा गर्नुहुनेछ । वैकल्पिक नामलाई प्रश्ताव गर्नुहुनेछ । त्यसले राम्रो सन्देश दिन्छ । लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्नेछ ।’
महामन्त्री शर्माले लोकतान्त्रिक अभ्यासपछि पार्टी एक ठाउँमा उभिएर अहिलेको गठबन्धनलाई सबल बनाएर अघि बढ्ने बताए । संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेता बनाएर अघि बढ्ने सहमति भएको छ ।