साझाकथा संवाददाता
काठमाडाैं, पुस ५
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेक अरु पार्टीहरु सरकारमा किन जान्छन् भन्ने विषय अनुत्तरित रहेको बताएका छन् । अहिले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको बताउँदै ओलीले एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै नभएको दाबी गरे ।
मंगलबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने समेत बताए । सत्तारुढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै उनले आफ्नो पार्टी त्यसको विरुद्धमा रहेको समेत बताए ।
“सरकार के का लागि भन्ने हामीले सुनिराख्या छैनौं । को प्रधानमन्त्री हुने ? को राष्ट्रपति हुने ? कसले प्रधानमन्त्री छोडदिन भन्यो रे । अर्कोले म पनि छोडदिन भन्यो रे । यस्तै कुरामा सरकार गठन अड्किएको छ ।
गठन हुँदा पनि यस्तै कुराको लेनदेनबाट सरकार गठन हुने हो,” उनले भने “विचारका लागि, उद्देश्यका लागि, गन्तव्यका लागि, देशका लागि, जनताका लागि, सुशासनका लागि, विकासका लागि सरकार बनिराखेको छैन । सरकार बन्ने प्रयासहरु अहिले कसरी भईराख्या छ ? नेकपा (एमाले) बाहेकका दलहरुको कुरा भन्ने हो भने आज दलहरु नेताका स्वार्थ, लोभ र पदीय आकांक्षाका बन्धक बनेका छन ।”
अध्यक्ष ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिए । सच्चा जनप्रतिनिधिको रुपमा संसद भित्र र बाहिर पनि वैचारिक रुपमा स्पष्ट र योजनावद्ध ढंगले अघि बढ्न पार्टीका सांसदहरुलाई सचेत गराउँदै ओलीले पार्टीले देश र जनताको हितबाहेक अरु केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरुले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क समेत गरे ।
कार्यक्रममा ओलीलाई सबैभन्दा धेरै लोकप्रिय मत ल्याएको भन्दै सम्मान समेत गरिएको थियो ।