विग्रियो काठमाडाैंको माैसम, देशैभर चिसो बढ्न थाल्यो

७ पुस, काठमाडाैं । यो बर्षको जाडो उत्कर्षमा पुग्न थालेको छ । केही दिनमा पानी पर्न सक्ने सम्भावनाका बीच आज विहानैदेखि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ । काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् ।

काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।

हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ ।

आगामी २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

पुस महिनामा तराइका अधिकाँश जिल्लामा दिनभरजसो हुस्सु लाग्ने गरेको छ । कैयाैँ दिनसम्म घाम देख्न नपाउँदा साे क्षेत्रका बासिन्दाको दैनिकी नै प्रभावित हुने गरेको छ । साथै पहाडी जिल्लामा हिमपात हुँदा त्यहाँको जनजीवन पनि  नराम्ररी प्रभावित हुने गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?