साझाकथा संवाददाता
काठमाडाैं, पुस ७
राष्ट्रपतिबारे प्रश्न नगर्नुस है
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनकै सरकार बन्ने र त्यसका लागि सल्लाह भइरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथ लिएलगत्तै उनलाई संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले सहमतीमा सरकारको नेतृत्व चयन हुने बताए । अध्यक्ष प्रचण्डले राष्ट्रपतिबारे भने अहिलेनै प्रश्न नगर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
सपथग्रहण उत्साहका साथ सम्पन्न भएको र सरकार पनि उत्साहका साथ बन्ने उनको भनाई थियो । प्रचण्डले भने, ‘सबै प्रक्रिया सहज ढंगले अगाडि बढेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भयो । आज सपथग्रहण पनि बडो उत्साहका साथ सम्पन्न भयो । अव सरकार पनि त्यसैगरी बन्छ । र, काम अगाडि बढछ । अव सरकार यही गठबन्धनको बन्छ । प्रधानमन्त्रीका लागि हामी सल्लाह गर्दैछौं । राष्ट्रपतिबारे अहिले नसोध्नुस् ।’
प्रधानमन्त्री बन्ने आकांक्षासहित सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुसँगको छलफललाई पनि तीव्रता दिएका प्रचण्डले एमालेसँग पनि आफ्ना प्रतिनिधिमार्फत् छलफललाई अगाडि बढाईरहेका छन् । उनले मुलुकको समृद्धिका लागि आफूले एक पटक सरकारको नेतृत्व लिन चाहेको जिकीर गर्दै आएका छन् ।