“नागरिकता विवादबारे बोल्न मिल्दैन”
काठमाडौं, पुस ७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि दावी गर्ने संकेत गरेका छन् । त्यसका लागि तीन ठूला दलहरुसँग छलफल चलाइरहेको लामिछानेको भनाई छ ।
बिहीबार प्रतिनिधिसभा सदस्य पदको सपथग्रहण गरेलगत्तै सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढने भएकाले आफूहरु सोही अनुसार अघि बढने पनि स्पष्ट पारे ।
सरकार बनाउने कुरामा संसद अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरु सचेत रहने बताउँदै लामिछानेले भने, ‘अव आम नागरिकले मतदान दिएर विश्वास गरेर पठाईसकेपछि, जनमतको कदर नगर्ने भन्ने कुरै भएन ।
हाम्राे नेतृत्वमा सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन हामीले । त्यसो हुनाले अव कुन ढंगले त्यो छलफल अघि बढछ भन्न सक्ने अवस्था रहेन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्ने छैन ।
यद्यपि कसैलाई पनि बहुमत नआएको परिवेशमा चौंथो ठूलो दलको रुपमा हामीेले पनि नेतृत्व गर्न सक्छौं कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौं । बाँकि हेर्दै जाउ ।”
सभापति लामिछानेले अदालतमा विचाराधिन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धि विवादका विषयमा भने बोल्न नमिल्ने प्रतिक्रिया दिए । अदालतको फैसला अनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र सपथग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गरे ।