अहिलेको अवस्था र व्यवस्था दुवैमा सुधार अनिवार्य छ- अध्यक्ष लिङ्देन

अन्तर्वार्ता

लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता-कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता प्राप्त गरेको छ ।

मतदातासमक्ष हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको मागसहित आफ्नो सिद्धान्त, माग र कार्यसूची स्थापित गराउन निरन्तर आवाज उठाउँदै आएको र यसबीचमा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको लाभ यसपटक राप्रपालाई प्राप्त भएको छ ।

गत मङ्सिर ४ गते भएको निर्वाचनमा राप्रपाका उम्मेदवार प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ सात-सात स्थानमा विजयी भएका छन् । देशका प्रमुख शक्तिका रूपमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट राजनीतिक स्थिरता कायम गरी विकास र समृद्धिका अभियान अघि बढाउने सवालमा अलमल हुँदा ती दललाई विगतमा प्राप्त हुँदै आएको मतको केही अंश यसपटक राप्रपाले लिन सफल भएको छ ।

अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा एक स्थानमा मात्र सीमित राप्रपालाई वर्तमान अवस्थामा ल्याइपु¥याउन पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितको टोलीको ठूलो मेहेनत र सङ्घर्ष छ । जसरी पनि सरकारमा जाने भन्ने सोचले उक्त दललाई अघिल्लो निर्वाचनमा मतदाताले खुम्च्याए पनि यसपटक भने केही हदसम्म विश्वास गर्दै परीक्षणमा राखेको अध्यक्ष लिङ्देन बताउनुहुन्छ ।

२०३६ सालमा तत्कालीन राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भई राजनीति यात्रा सुरु गर्नुभएका लिङ्देनले प्रजातान्त्रिक राष्ट्रिय विद्यार्थी सङ्गठनका अध्यक्ष, राप्रपा झापाका सचिव, राप्रपाका केन्द्रीय सदस्य र महामन्त्री हुँदै अध्यक्ष हुनुभएको हो ।

पाँचथरमा जन्मी झापा हल्दिबारीमा झर्नुभएका उहाँले तत्कालीन झापा जिल्ला विकास समितिका सभापति र विसं २०७४ मा झापा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका रूपमा विकास तथा प्रविधि समिति सदस्यको अनुभव पनि बटुल्नुभएको छ ।

उहाँले राजनीतिक आन्दोलनका क्रममा दुईपटक कारागार र नौ महिनाभन्दा बढी बन्दी जीवन बिताउनुभएको छ । आफूलाई निष्ठाको पर्याय तथा विकास र सामाजिक एकताका अभियानकर्मीका रूपमा परिचित गराउन रुचाउने ५८ वर्षीय लिङ्देन यसपटक पनि एमालेका सहयोगमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई फराकिलो मतले हराउँदै विधायक बन्न सफल हुनुभएको छ ।

राससले बुधबार उहाँसँग अन्तर्वार्ता लिन पार्टी कार्यालय जाँदा नेपालका लागि अमेरिकी राजदूतसँग उहाँको भेटघाट चलिरहेको थियो । यसअघि नेपालका लागि चिनियाँ कावा राजदूतले पनि उहाँसँग भेट गरिसक्नुभएको छ ।

राजनीतिक यात्राका क्रममा सङ्घर्षका लामो कथा–व्यथाका अनुभवी अध्यक्ष लिङ्देनसँग सरकार गठन, आगामी कार्यदेशसहित समामयिक विषयमा राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता उत्तम सिलवाल र उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले लिनुभएको अन्तर्वार्ताको सम्पादित अंश :

यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई यहाँले कसरी लिनुभएको छ ?

देशलाई यथास्थितिमै राख्ने कि परिवर्तनतर्फ लैजाने भन्ने सन्दर्भमा यो आवधिक निर्वाचन असाध्यै महत्वपूर्ण थियो तर परिणाम हामीले अपेक्षा गरेअनुरूप भएन । दल विशेषले बहुमत प्राप्त गर्न नसकेका कारण आगामी संसद् कस्तो हुन्छ, सरकार कति स्थिर हुन्छ भन्न नसकिने परिणाम प्राप्त भएको छ ।

चुनावी नतिजाबाट ठूलो जनमत परिवर्तनका पक्षमा छ भन्ने सन्देश आएको छ । यसले परम्परागत राजनीतिक दलको विकल्प खोजिएको भन्ने देखाएको छ । मुलुकका ठूला राजनीतिक दलले यसबाट शिक्षा लिनुपर्छ भन्ने मलाई लाग्छ ।

चुनावमा जाँदा तपाईँका कार्यसूची र जनताको मागबीच कत्तिको तालमेल भएको पाउनुभयो ?

हामीले मतदाताका बीचमा उठाएका विषय अभिभावकीयरूपमा राजसंस्था, सनातन हिन्दू राष्ट्र, प्रदेशको खारेजी, रोजगारी सिर्जना, समयमै मलखादको उपलब्धता र सुशासनप्रति जनताको व्यापक आकर्षण रहेको महसुस गरेका छौँ । हाम्रा मुद्दासँग जनता सहमत भए पनि विगतको क्रियाकलापका कारण तुरुन्तै पूर्ण विश्वास भने नगरेको मत परिणामबाट स्पष्ट हुन्छ । आगामी कार्यक्रम र क्रियाकलाप हेरेर मात्र समर्थन गर्ने भनी मतदाताले हामीलाई यसपटक ‘टेस्ट’ गरेको देखिन्छ ।

अहिलेको अवस्था र व्यवस्थामा तपाईँको पार्टीका ‘एजेन्डा’ कार्यान्वयन सम्भव छ त ?

सम्भव छ, अनिवार्य छ । अहिलेकै व्यवस्था र अवस्थाबाट देश अघि जान सक्दैन । कतिपय मानिस अहिलेकै अवस्था र व्यवस्था ठीक छ भन्नेमा छन् तर राप्रपा भने अहिलेको व्यवस्थामा पनि समस्या छ, अवस्थामा त कुरै गर्नुपरेन भन्नेमा छ । अहिलेको अवस्था र व्यवस्था दुवैमा परिवर्तन र सुधार अनिवार्य छ ।  ढिलो, चाँडो त्यस बाटामा सबै राजनीतिक दलहरू जान जरुरी छ, अन्यथा जनता स्वयं परिर्वनका पक्षमा उभिन्छन् । त्यो चाहे मतदानबाट होस् वा आन्दोलनबाट भन्ने मलाई लाग्छ ।

राप्रपाको परिचय लोकतान्त्रिक दल भए पनि तालमेल र सहकार्यप्रति जनतामा प्रश्न छ, यसलाई कसरी हेर्नुभएको छ ?

अघिल्लो निर्वाचनदेखि नै राप्रपामा मात्र होइन, देशका सबै राजनीतिक दलले कुनै न कुनै गठबन्धन र तालमेलका आधारमा चुनाव लडेका छन् । अरू दलले जस्तै राप्रपाले पनि यस निर्वाचनमा एमालेसँग तीनवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा सहयोग लिएर भाग लिएको थियो । यो कुनै सैद्धान्तिक तालमेलभन्दा पनि सिट लिन र दिन सहकार्य गर्ने विषय थियो । न एमालेले राप्रपाको मुद्दालाई स्वीकार र सहयोग गरेको थियो, न राप्रपाले एमालेका मुद्दालाई स्वीकार गरेर चुनावी तालमेल गरेको थियो ।

यसलाई सैद्धान्तिकरूपमा त्यति व्याख्या गर्न जरुरी छैन । अरू दलसँगको सम्बन्ध, सम्पर्क र निकटताभन्दा एमालेसँग राप्रपा राष्ट्रियताका मामिलामा स्वभाविकरूपले निकट छ । अन्यका भन्दा दर्शन र दृष्टिकोणले हामी नितान्त फरक छौँ । एमाले आफूलाई सेन्टरभन्दा लेफ्ट भन्छ भने हामी सेन्टरबाट अलिकति दायाँतर्फ (राइट) छौँ, हामी त्यसमै उभिन्छौँ, बुझ्छौँ र बुझाउँछौँ तर पूर्ण दक्षिणपन्थी भने होइनाैँ । एमालेसँग कुनै सैद्धान्तिक तालमेल होइन ।

आगामी नयाँ सरकार गठनको अभियानमा राप्रपा कुन कित्तामा उभिन्छ भन्ने सबैको चासो छ, यसमा अध्यक्षज्यूको दृष्टिकोण कस्तो छ ?

राप्रपा संसदीय राजनीतिमा छ, निर्वाचनमा पनि भाग लिएको छ । अहिले जुन सिट प्राप्त गरेको छ, त्यस हिसाबले सरकारमा गइहाल्नुपर्छ भन्ने ‘म्यान्डेट’का रूपमा लिइँदैन । जनताको अनुमोदन सरकारमा जाने खालको छैन । हाम्रो सरकारमा जाने प्राथमिकताको विषय पनि होइन तर संसदीय गणित यस्तो छ कि हामीबिना सरकार नबन्ने भयो र भोलि अस्थिरता पैदा हुने खतरा रह्यो भने त्यस्तो हुन नदिन कुनै दललाई समर्थन गर्न पनि सक्छाैं।

त्यो समर्थन गर्नुअघि निश्चित कारण भने हुनुपर्छ, संसद् जोगाउन र स्थिरता भनेर सरकार चलाउने जुन विकृत परम्परा छ, त्यसमा समर्थन गर्दैनौँ । समर्थन गर्नुअघि सुशासन, राष्ट्रियता, जनजीविका र सेवा प्रवाहलगायत विषयमा सुनिश्चितासहितको स्पष्ट खाका र प्रतिबद्धता आउनुपर्छ । अनि हामी निश्चित कारणसहित मात्र सरकारमा जाने वा समर्थन गर्ने विषयमा सोच्न सक्छौँ ।

मुलुकको राजनीति अब कुन हिसाबबाट अघि बढ्ला जस्तो लाग्छ यहाँलाई ?

हामीले जुन व्यवस्था र प्रणाली अवलम्बन गरेका छौँ, त्यसको सन्देश भनेको कुनै पनि दलले बहुमत प्राप्त गर्न सक्दैन । हालको प्रणालीको आशय भनेको अलग–अलग विचारका सबै दल मिलेर सरकार चलाउने, सेवा प्रवाह र सुशासनका सन्दर्भमा एक भएर जाने प्रणालीको स्वरूप हो ।

सबैले आ–आफ्ना स्थानमा रही व्यवस्थाको मर्म बुझेर अघि बढेमा सहजरूपमा राजनीति अघि जान्छ तर अरूको अस्तित्वलाई स्वीकार गरिएन भने र परम्परागतरूपमै सरकारलाई आफ्ना दल, गुट र परिवारको स्वार्थका रूपमा प्रयोग गर्न खोजियो भने कुनै पनि बेला दुर्घटना हुनसक्छ ।

पछिल्लो निर्वाचनको नतिजानुसार कसको नेतृत्व भएमा स्वाभाविकरूपमा राजनीतिक मार्ग अघि बढ्ला जस्तो लाग्छ यहाँलाई ?

कुनै व्यक्ति विशेषले नेतृत्व गर्दैमा तुरुन्तै परिवर्तन र सुधार हुने होइन, त्यसले व्यापक र तात्विकरूपमा फरक पर्दैन । सबै राजनीतिक दलहरू सहमतिमा आएर अहिले हामीले अवलम्बन गरेको प्रणालीमा सुधार गर्नुपर्छ । न्यायाधीश र अन्य संवैधानिक अङ्ग, राजदूत आदि नियुक्ति हुँदा ठूलो दलले ठूलो सङ्ख्या र माथिल्लो तहमा तथा सानो दलले सानो सङ्ख्या र तल्लो तहको भागबण्डा गर्दा प्रणाली र पद्धतिमा सुधार आउन सक्दैन ।

अख्यियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्का निर्णय छानबिन गर्न नपाउने, अनि ठूला निर्णय मन्त्रिपरिषद्बाट गरिने प्रवृत्तिले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ । जोसुकै सरकारमा गए पनि यस प्रकारको व्यवस्था रहेसम्म तात्विक सुधारको सम्भावना छैन । त्यसकारण सामूहिकरूपमा ‘कोर्स’मा सुधार गर्नुपर्छ, प्रणालीमा परिवर्तन गरेर जानुपर्छ ।

भिन्न राजनीतिक प्रणालीको वकालत गर्नुभएको तपाईँका पार्टीका ज्येष्ठ सदस्यले सदनमा नवनिर्वाचित सम्पूर्ण सदस्यलाई शपथ दिलाउन पाएको अवसरलाई कसरी लिनुभएको छ ?

यो खुसीको कुरा हो, धेरै विशेषरूपमा लिनुपर्ने जरुरी छैन, राप्रपाले संरचना बनाउँदा र प्रतिनिधित्व गराउँदा गजब संजोग मिलेको छ । देशमा परिवर्तनका कुरा उठाउँदा परिवर्तन आकस्मिक होइन, नियमित हुनुपर्छ । भएका राम्रा कुराको संरक्षण गरेर अघि जान सक्छौँ ।

हामीले निरन्तरतासहितको परिवर्तनको मुद्दा उठाइरहेका छौँ । राम्रो बनाउनका लागि पुरानो भत्काउनैपर्छ भन्ने छैन । पुरानाको संरक्षण गरेर मात्र नयाँ राम्रो चिज बनाउन सकिन्छ । विगतमा नयाँ बनाउने नाममा पुराना भत्काइयो । नयाँ कस्तो बनाउने भन्ने कुनै संरचना, कुनै तस्वीर र कुनै खाका रहेनछ । अहिले राप्रपामा ८२ वर्षीय पशुपतिशम्शेर जबरादेखि २८ वर्षीया अनिता नेपालीसमेत जनप्रतिनिधिमा चयन हुनुभएको छ । युवाको प्रतिनिधित्व ६० प्रतिशत छ ।

हरेक पार्टीभित्र वंशज र सिद्धान्तबीचको टकराव देखिन्छ तर राप्रपा त्यसबाट मुक्त छ भन्ने लाग्छ ?

राप्रपा अहिले त्यसबाट पूर्णरूपमा मुक्त छ, कसैको भाइ, श्रीमती वा अन्यलाई अचानक चन्दा दिएका भरमा कार्यकर्ताले थाहा नपाई सांसद बनाइएको अवस्था छैन । योगदान, योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइएको छ । नातागोता र चन्दाको स्थान छैन ।

एउटा अनुभवी राजनीतिकर्मीका हिसाबले मुलुकको भविष्यप्रति नेपाली जनतालाई सन्देश के दिन चाहनुहुन्छ ?

हामीले हाम्रो भविष्यका बारेमा ठूलो आशङ्का गर्नुपर्ने अवस्था छैन । तथापि हामीसँग जस्तो संरचना र प्रणाली छ, धेरै परिवर्तनका लागि निकै आश्वस्त हुनुपर्ने अवस्था पनि छैन । जनताले राप्रपालाई एउटा हैसियतमा पु¥याउनुभएको छ, हामी बलियो ढङ्गले उभिने छौँ, हाम्रो भविष्य उज्यालो छ, निराश हुनुपर्दैन ।

भर्खरै यहाँको अमेरिकालगायत मुलुकका राजदूतसँगका भेटघाट औपचारिक बधाईमा मात्र सीमित रह्यो कि अरू कुनै पनि ?

राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धसहित सरकार निर्माणका निर्णयमा राप्रपाको के भूमिका हुन्छ भन्ने अमेरिकी राजदूतको जिज्ञासा थियो । अमेरिका नेपालको शान्ति, समृद्धि र विकासका पक्षमा छ, निरन्तर सहयोग गर्न तयार छ, अमेरिका कुनै पनि प्रकारको हस्तक्षेप गर्न चाहन्न भन्ने रह्यो ।

नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलजस्ता सिद्धान्त निरन्तर रहोस् भन्दै उहाँहरूले राप्रपाको पछिलो प्रगतिप्रति खुसी व्यक्त गर्दै हाम्रो वैचारिक सिद्धान्त र दृष्टिकोण बुझ्ने प्रयास गरेको पाएको छु ।

संसद्मा दोस्रो ठूलो दल एमाले नेतृत्वमा पनि सरकार गठनको सम्भावना र भइरहेका चर्चालाई यहाँले कसरी हेर्नुभएको छ ?

सम्भावना त अनेक छन्, अनेक प्रकारका हिसाब निस्कन्छन्, तर यसमा राप्रपा संग्लन छैन, संलग्न हुनुअघि नेतृत्व गर्ने दलले राप्रपा चाहिन्छ भने केका लागि भन्ने प्रश्न छ, हामी केही थान मन्त्री र उपप्रधानमन्त्रीका लागि सरकारमा जान तयार छैनौँ । सरकार निर्माणमा हतारिएर कुनै बैठक र छलफलमा सामेल छैनौँ । अहिले खाका निर्माण र स्वरूप निर्माण गरेर छलफल र अभ्यास भएको छैन ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?