साझाकथा संवाददाता
रसुवा , पुस ७
नौकुण्ड गाउँपालिकामा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा भएका असल अभ्यास, चुनौति, र अवसरको पहिचान सम्बन्धी छलफल कार्यक्रम बिहीबार सम्पन्न भयाे ।
विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनमा संघीय, प्रदेश र स्थानीय सरकारको विद्यमान नीति, नियम, बजेट तथा कार्यक्रम र यसको कायन्वयनको चरणमा देखिएका चुनौति तथा आगामी दिनमा गर्न सकिने सहकार्यहरूको विषयमा बृहत छलफल भएको हाे ।
युरोपेली युनियन मानवीय सहयोग विभागको आर्थिक सहयोग तथा सामुदायिकआत्मनिर्भर सेवा केन्द्र, पिपुल ईन निड, सेभ द चिल्ड्रेन र स्कट विलसन नेपालको साझेदारीमा सञ्चालन भएकाे नाैकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।
साे कार्यक्रममा गाउँपालिकाअध्यक्ष नुर्बुसाङ्बो घले, उपाध्यक्ष चन्द्रबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरी, वडाअध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाअन्तर्गत विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानीय संघ संस्थाका प्रतिनिधि गरी ५१ जनाको सहभागी थिए ।
कार्यक्रममा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनमा संघीय, प्रदेश तथा स्थानीय सरकारको नीतिगत व्यवस्था, बजेट उपलब्धता र स्थानीयतहको प्रयासका बारेमा प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
त्यसै गरी विपद् जोखिम न्युनीकरण, रोकथाम, पूर्व तयारी, पूर्वकार्य तथा प्रतिकार्यमा स्थानीय तहमा मानवीय संशाधनको अवस्था, प्राविधिक क्षमता, र वितिय व्यवस्थापन (बजेटको उपलब्धता) तथा लागत साझेदारीको सम्बन्धमा चुनौति, तथा अवसरको पहिचानका सन्दर्भमा प्रस्तुतीकरण तथा समूह छलफल समेत भएको थियो ।
विपद्ले विद्यमान सामाजिक सुरक्षा कार्यक्रममा पारेको असर र त्यसको समाधान तथा विपदको समयमा कसरी सामाजिक सुरक्षा कार्यक्रमलाई छिटो, छरितो र कम खर्चिलाे बनाउन सकिन्छ त्यसका उपाय बारेपनि छलफल भएको थियो ।