१० हजार जित्ने हो ? उत्कृष्ट पाठक बनौं

साझाकथा संवाददाता

टीकापुर, ८ पुस

तपाईं पुस्तक कत्तिको पढ्नु हुन्छ ? पढ्दाको फाइदा त सबैलाई थाहै छ । यसरी पढ्दा वा पढिरहँदा एकातिर तपाईंले जीवन र जगत् बुझ्ने अवसर पाउनु हुनेछ भने अर्कोतिर उत्कृष्ट पाठक हुन सक्नु भयो भने त १० हजार रुपैयाँसमेत प्राप्त गर्न सक्नु हुनेछ ।

अचम्म लाग्ला, यस्तो अवसर कहाँ र कसरी ? जब कि आफूलाई फाइदा हुँदा थप र विशेष फाइदा पनि । हो, कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई १० हजार पुरस्कार प्रदान गरिने भएको हो ।

पुस्तकालयमा आएर महिनाभरि अध्ययन गर्ने उत्कृष्ट पाठक बन्न सक्नु भयो भने तपाईं जोकोही पाठकले यस्तो अवसर प्राप्त गर्न सक्नु हुनेछ ।

पुस्तकालयले गरेको घोषणा अनुसार मंसिर महिनाको उत्कृष्ट पाठक बन्ने अवसर उपेन्द्र चौधरीलाई मिलेको छ । टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उनलाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

सरोकार समूहका सचिव नवराज भट्टराईले पठन संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियान थालेको जानकारी दिए । उनी भन्छन्, ‘पठनसंस्कृतिको विकास गर्न खोजेका हौं ।

पुस्तकालयमा सबैभन्दा बढीपटक आउने र बढी समय बिताउने पाठकलाई पुरस्कार दिन थालेका छौं ।’ पुस्तकालय आफू बाँचेको समाज, देश र अझ विश्व चिहाउने झ्याल हो ।

हरेक नागरिकले पुस्तकालयका माध्यमबाट आफूलाई र त्यसपछि समाज बनाउन योगदान दिन सक्ने भएकाले पठन संस्कृति आफैंमा सर्वोच्च अवसर हो ।

एक वर्षसम्म प्रत्येक महिना यो पुरस्कार प्रदान गरिने बताइएको छ । पुस्तकालयमा आयोजित एक विशेष कार्यक्रममा चौधरीलाई टीकापुर नगरपालिका–१ का वडाध्यक्ष मोहन विक र शिक्षाप्रेमी यज्ञमूर्ति अर्यालले संयुक्तरूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?