तस्वीर : गणेश श्रेष्ठ (उत्तरगयामा देखिएकाे दृष्य )
गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड (पौष कृष्ण औंसी)
कमलादेवी गौतम । साझाकथा
काठमाडौं, पुस ८
कहिले सुनसान । कहिले खचाखच भिड । समय र स्थानको महत्व कतिबेला कस्तो हुन्छ भन्ने एउटा प्रमाण हो यो । गोकर्णेश्वर एउटा त्यस्तै ठाउँ हो जहाँ वर्षको तीन सय ६४ दिन सुनसान जस्तै हुन्छ । अनि हुन्छ, पौष कृष्ण औंसीका दिन भिडभाड ।
आजको दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्ने हजारौंको भिड राजधानीस्थित गोकर्णेश्वरमा भएको हो । पितृ तीर्थ धामका रूपमा भक्तजनको भीड लाग्नु स्वाभाविक पनि हो । किनकि देशका विभिन्न भागबाट गोकर्णेश्वर उत्तरगया धाम क्षेत्रमा भक्तजन आएका छन् । रसुवा र नुवाकाेटकाे संगमस्थल उत्तरगयाधाममा पनि भक्तजनकाे ठूलाे भीड लागेकाे छ ।
मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतका अनुसार मन्दिर क्षेत्रमा पितृका नाममा श्राद्ध, तर्पण एवं सिदादान गर्न आउने भक्तजनका लागि विशेष व्यवस्था गरिएको छ ।
भक्तजनको भीडका कारण अहिले जोरपाटीबाट माथि जाने सडक जाम भएको छ भने श्राद्ध गर्ने ठाउँमा भिडका कारण बसेर भनेजसरी काम गर्न पाउने अवस्था छैन ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्षसमेत रहेका उनी भन्छन्, ‘दक्षिणायनको अन्तिम औंसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।’
खासमा पितृलाई कृष्ण पक्ष प्यारो हुन्छ । त्यसैले यस पक्षको अन्तिम दिन अर्थात् औंसीमा श्राद्ध गर्ने परम्परा छ । यस दिन यसअघि कारणवश श्राद्ध गर्न नपाएकाहरूका लागि पनि बाटो हुन्छ र यसकारण पनि भिड हुन्छ ।
चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदा र सौरमास अनुसार माघे संक्रान्तिदेखि उत्तरायण सुरु हुने गर्छ । परम्पराअनुसार उत्तरायण सुरु हुनुअघिको औंसी (पौष कृष्ण औंसी)मा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गरिन्छ ।
खचाखच भिड हुने ठाउँ गोकर्ण उत्तरगया मात्र होइन, देवघाट, रिडी, त्रिवेणीधाम, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती आदि पनि छन् । यी सबै ठाउँमा आज श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।