कविता
विधान आचार्य
थकाइले क्षीण भएका गोडाहरूसाथ
कतै पेटीमा बसेर
सहरै थाकेको कल्पना भइरहेछ
भोक र पेटसँग थकाइको नाता छ, घनिष्ट
पैताला र शिरहरू,
सहरका पैताला र शिरहरू थाकिरहेछन् ।
सडकका पेटीले
महलको कल्पना गर्न सक्दैन
महल हावामा सहर कुँद्छ
गोडाहरू त मात्रै गोडाहरू हुन्
यिनीहरूमा पाङ्ग्रा छैनन्
गोडाहरू त मात्रै हाडछालाहरू हुन्
यिनीहरूमा रगत मासु र जुत्ता छैनन् ।
अनि भोकले कसरी भोजको कल्पना गर्नसक्छ ?
भोक, आँखाहरूमा पानी बोलाउन सक्छ
तर हत्केलामा भात बोलाउन सक्दैन
थकाइ, लामा लामा बाटाहरू देख्नसक्छ,
यात्रा टुंगिएको कल्पनासम्म पनि गर्न सक्तैन ।
सहर, कतै पेटीमा थाकेको छ
सहर, कतै पाङ्ग्रामा मातेको छ
कहिलेकहिले
थाक्नेहरूलाई निर्मूल गर्न
सहर, पेटीमा पनि उक्लिएको छ ।
र थकाइ
अनन्त छ,
थकाइका आँखामा
थाक्नु परेकोमा विषाद छैन
कसैसँग कुनै प्रतिस्पर्धा छैन
थकाइ, विस्तृत पनि छ
सहरमा यस्तो पेटी छैन,
जहाँ थकाइ छैन ।
नदीसित (कविता सङ्ग्रहबाट)